scheduleबिहिवार बैशाख २३ गते, २०७८

आईपीएल क्रिकेटः दिल्लीको लगातार दोस्रो जित

चेन्नई, ८ वैशाख । दिल्ली क्यापिटल्सले आईपीएल २०२१ सिजनको तेह्रौं खेलमा मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ । दिल्लीको यो लगातार दोस्रो जित हो । योसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ । दिल्लीले अहिलेसम्म ४ खेलमा ३ खेल जितेको छ ।

जितका लागि दिल्लीका स्पिनर अमित मिश्राले ४ विकेट लिए । उनी म्यान अफ दि म्याच पनि बने । त्यस्तै, ओपनर शिखर धवनले ४५ रनको पारी खेले ।

मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १३७ रन बनाउन सक्यो । यसको जवाफमा दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाएर १३८ रन बनाउँदै खेल आफ्नो नाममा बनायो । दिल्लीका लागि स्टिभ स्मिथले २९ बलमा ३३ रन जोडे ।

मुम्बईका जयन्त यादव, जसप्रित बुमराह, राहुल चहर र किरोन पोलार्डले १-१ विकेट लिए ।

दिल्लीको सुरुवात राम्रो हुन सकेन । ११ रन जोड्दा दिल्लीले एक विकेट गुमाइसकेको थियो । ओपनर पृथ्वी शा ७ रन बनाएर आउट भए । स्पिनर जयन्त यादवले आफ्नै बलमा उनलाई क्याच गरे । त्यसपछि ओपनर शिखर धवन र तेस्रो नम्बरमा बलिङ गर्न आएका स्टिभ स्मिथले राम्रो साझेदारी गरे । उनीहरुले ८ ओभरमा ५० रनसम्म पुर्‍याउन सके ।

धवन र स्मिथबीच दोस्रो विकेटका लागि ४७ बलमा ५३ रनको पार्टनरसिप भयो । ६४ रन जोड्दा दिल्लीलाई दोस्रो झड्का लाग्यो । किरोन पोलार्डले स्टिभलाई एलडब्लुबी गरिदिए । धवनले अलराउन्डर ललित यादवसँग मिलेर पारी सम्हालिरहे । उनीहरुले ३२ रनमा ३६ रन जोडे । १०० रन जोडिँदा दिल्लीलाई तेस्रो झड्का लाग्यो । स्पिनर राहुल चाहरले धवनलाई क्याच आउट गरिदिए । धवन अर्धशतक जोड्न ५ रनले चुके ।

अर्को १५ रन थप्नासाथ दिल्लीलाई चौथो झड्का लाग्यो । कप्तान ऋषभ पन्त ७ रन बनाएर जसप्रित बुमराहको बलमा क्याच आउट भए । यतिबेला दिल्लीलाई १८ बलमा २२ रनको आवश्यकता थियो ।

अन्ततः ललित यादवले २२ र शिमरन हेटमायरले १४ रन बनाएर अविजित रहे । दुवैले १७ बलमा २३ रनको अविजित साझैदारी गरे ।

चेन्न्ईको चेपक स्टेडियममा अबसम्म दिल्ली क्यापिटल्सले ९ खेल खेलेकोमा केवल ३ खेलमा जित दर्ता गर्न सकेको छ । २०१० मा दिल्लीले चेन्नईलाई ६ विकेटले हराएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय