scheduleआइतवार जेष्ठ २ गते, २०७८

इङ्लिश क्लब बाहिरिएपछि सुपर लिगको भविष्य अन्यौलमा

एजेन्सी, ८ चैत । युरोपका शीर्ष १२ क्लबले आइतबार घोषणा गरेको युरोपियन सुपर लिगको भविष्य अन्यौलमा परेको छ । घोषणा गरेको ४८ घण्टाभित्रै प्रियियर लिगका ६ क्लब पछि हटेपछि सुपर लिगको भविष्य अन्यौलमा परेको हो ।

म्यान्चेस्टर सिटीले सबैभन्दा पहिला सुपर लिगमा सहभागी नहुने घोषणा गरेको छ । लगत्तै लिभरपुल, आर्सेनल, म्यान्चेस्टर युनाइटेड, चेल्सी र टोटनह्यामले समेत उक्त लिगमा सामेल नहुने घोषणा गरेका छन् ।

घोषणा हुनेबित्तिकै सुपर लिग विवादमा तानिएपछि प्रिमियर लिगका ६ क्लब पछि हटेका हुन् । यसबाहेक, स्पेनिश क्लब एटलेटिको म्याड्रिड र बार्सिलोना समेत सुपरबाट बाहिरिने तयारी गरेका छन् ।

युईएफएसहित फुटबलका विभिन्न नियामक निकायले समेत समानान्तर प्रतियोगिता आयोजना गर्ने १२ क्लबको निर्णयप्रति आपत्ति जनाइरहेका छन् । युईएफएका अधिकारीहरुले मात्रै होइन, फुटबलका फ्यान र सरकार प्रमुख एवं मन्त्रीहरुले पनि सुपर लिगको आलोचना गरिरहेका छन् ।

यसैबीच संस्थापक क्लबको रुपमा सुपर लिगमा सहभागी भएको आर्सेनलले ‘गल्ती गरेको’ र सुपर लिगमा सामेल हुने निर्णयप्रति पछुतो लागेको बताएको छ । आर्सेनलले आफ्ना फ्यानलाई खुला पत्र लेख्दै गल्ती गरेको र सबै सरोकारवालाको आवाजलाई ध्यान दिँदै सुपर लिगबाट अलग्गिन लागेको बताएको हो ।

त्यस्तै टोटनह्यामका अध्यक्ष डेनियल लेभीले सुपर लिगको घोषणाबाट उत्पन्न चिन्ता र तनावका कारण क्लबलाई पश्चाताप लागेको बताएका छन् ।

चेल्सीले समेत सुपर लिगबाट हट्ने सबै प्रक्रिया सुरु गरेको बताएको छ भने युनाइटेडले सुपर लिगप्रति व्यक्त विमतिलाई सुनेको बताएको छ । तर फुटबल खेलले सामना गरिरहेका समस्याको दीगो समाधानका लागि सबै सरोकारवालासँग मिलेर काम गर्ने पनि युनाइटेडले प्रस्ट पारेको छ ।

युईएफएका अध्यक्ष अलेक्जाडर सेफेरिनले सुपर लिगबाट अलग्गिने इङ्लिश क्लबको निर्णयलाई स्वागत गरेका छन् । ‘उनीहरु पुन: पुरानै प्रतियोगितामा फर्किएका छन्’, सेफेरिनले भने, ‘उनीहरुसँग हाम्रा प्रतियोगितालाई मात्रै होइन, समग्र युरोपेली खेललाई दिने धेरै कुरा छन् ।’

इङ्लिश क्लबले बाहिरिने घोषणा गरेपछि नयाँ परियोजनालाई पुनर्गठन गर्नका लागि ‘सबैभन्दा उपयुक्त कदम’ चाल्ने सुपर लिगले बताएको छ ।

‘हालको अवस्थालाई ध्यानमा राख्दै, फ्यानका लागि संभव भएको सबैभन्दा राम्रो अनुभव प्रदान गर्ने कुरालाई ख्याल गर्दै एवं समग्र फुटबल जगतका लागि एक्यबद्धता प्रबर्द्धन गर्दै सबैभन्दा उपयुक्त कदम चालेर यो परियोजनालाई पुनर्गठन गर्ने छौं’, सुपर लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आइतबार इङ्लिश क्लबसहित स्पेनका रियल म्याड्रिड, बार्सिलोना तथा एटलेटिको म्याड्रिड र इटलीका एसी मिलान, इन्टर मिलान र युभेन्टसले सुपर लिगको घोषणा गरेका थिए । तर फुटबल समर्थक, फुटलबका नियामक निकाय एंव सरकारका मन्त्रीहरुले उक्त घोषणाको कडा विरोध जनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय