scheduleआइतवार जेष्ठ २ गते, २०७८

३० मिनेट होइन, २ घण्टासम्म रोकिएको थियो अक्सिजन आपूर्ति, आफन्तले गरे यस्तो बिलौना

नयाँ दिल्ली, ८ वैशाख । अस्पताल प्रशासनले अक्सिजन केवल ३० मिनेट रोकिएको बताए पनि २ घण्टासम्म अक्सिजन आपूर्ति नभएको बिरामीका नातेदारहरुले जिकिर गरेका छन् । घटनामा परी २२ जनाको निधन भएको छ भने कयौंको अवस्था अहिले पनि नाजुक रहेको छ । अस्पतालमा रहेका एक मृतकका आफन्तले भने, ‘मेरी बुहारीले मेरै आँखा अगाडि तड्पिइ-तड्पिइ प्राण त्यागिन् । तर अस्पताले केही गरेन ।’

घटना बुधबारको हो । भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जनाको मृत्यु भयो । नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको ज्यान गएको हो ।

उनीहरुको अक्सिजनको कमीले मृत्यु भएको आफन्तहरूले बताएका छन्। बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बताएका छन्।

अक्सिजन ट्यांक लिक हुँदा झन्डै आधा घन्टासम्म अस्पतालमा अक्सिजन सप्लाई रोकिएको अस्पताल प्रशासनको जिकिर छ । अस्पतालमा भर्ना गरिएका १५० जनामध्ये २३ जना भेन्टिलेटरमा रहेका थिए ।

दुर्घटनामा ज्यान गुमाउने एक व्यक्तिका आफन्तले भने, ‘मेरो परिवारको सदस्य मैले गुमाएँ । यसको जिम्मेवारी कसले लिन्छ ? दिउँसो १२:३० मा अचानक अक्सिन आउन छाड्यो । मेरो बिरामी भाइ तड्पिई-तड्पिई बिदा भयो । उसलाई १० दिन पहिला अस्पताल भर्ना गरेको थिएँ । २ घण्टासम्म अक्सिजन बन्द रह्यो । अक्सिजन सिलिन्डर थिएन । यदि थियो भने मैले मेरो भाइलाई गुमाउनुपर्ने थिएन ।’

कतिपय परिवारका सदस्यले गए राति नै अस्पतालमा अक्सिजन कमी भएको बताएको भास्कर दैनिकले खबर लेखेको छ । बुधबार जब अक्सिजन आपूर्ति नै बन्द भयो, तब उनीहरुले अस्पताल प्रशासनलाई जानकारी दिएका थिए । अस्पतालले समयमै काम नगर्दा र विषयलाई सामान्यरुपमा लिँदा मानवीय क्षति भएको उनीहरुको गुनासो छ । कतिपय कोरोनालाई जित्दै गरेका र तङ्ग्रिँदै गएका बिरामी पनि अक्सिजन अभाव हुँदा मृत्युको मुखमा पुगेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय