scheduleबुधवार बैशाख २९ गते, २०७८

कोरोनाको औषधि भन्दै पाउडर बेचेपछि…

एजेन्सी, ८ बैशाख । पछिल्लो समय कोरोनाविरुद्धको खोप आपूर्ति र खरीद ढिलो भएको भन्दै कतिपय देशमा जन गुनासो बढिरहेको छ । कतिपय मुलुकमा खोपको अभाव पनि देखिन थालेको छ ।

कोरोनाविरुद्धको औषधि र खोपको अभाव धेरै देखिएको मुलुकमा भारत अग्रस्थानमा छ । त्यहाँ रेमदेसिभिर खोपको माग बढिरहेको छ ।

दैनिक रुपमा कोरोनाबाट संक्रमित हुनेको संख्या झण्डै ३ लाख पुग्न लागेको भारतमा नक्कली खोपको बिगबिगीसँगै कालोबजारी समेत हुन थालेको छ । यसको एउटा उदाहरणको रुपमा हालै मुम्बईमा भएको घटनालाई लिन सकिन्छ ।

मुम्बईको तिलक नगरकी एक महिलाले ह्वाट्सएप सन्देशमा बिक्रेताको विवरण प्राप्त गरेपछि अनलाइनबाटै रेमदेसिभिर किन्ने निधो गरिन् । ह्वाट्सएपमा राखिएको सम्पर्क नम्बरमा उनले फोन गरिन्। फोनमा बोल्ने व्यक्तिले ६ वटा खोपका लागि १८ हजार भारु मागे र उनले घरमा खोप नआउँदै पैसा तिरिन् र घरमै खोप ल्याउन भनिन् ।

ती महिलाले अर्डर गरेको एक दिनपछि नै उनको घरमा रेमदेसिभिर आयो । तर उनले किनेको रेमदेसिभिर नक्कली थियो । रेमदेसिभिरको भायल्समा खोपको साटो पाउडर राखिएको थियो ।

हाल ती महिलाले प्रहरीमा उजुरी गरिसकेकी छन् । प्रहरीले सो घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

त्यस्तै आज मात्रै नोइडा प्रहरीले रेमदेसिभिरको अभाव भइरहेका बेला खोपको कालो बजारी गरेको भन्दै एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले रचित घाई नामका ती व्यक्तिको साथबाट रेमदेसिभिरका १०५ वटा भायल समेत बरामद गरेको छ । घाईले अत्यावश्यक भएका मानिसलाई १५ देखि ४० हजार भारुमा रेमदेसिभिर बेच्दै आएको प्रहरीको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय