scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेकपा एमालेको प्रस्तावः प्रदेश २ को राजधानी जनकपुरधाम र नाम ‘जानकी’ तोकौं

जनकपुरधाम, ८ वैशाख । नेकपा एमालेले प्रदेश २ को राजधानी जनकपुरधाम र नाम ‘जानकी’ तोक्न प्रस्ताव गरेको छ ।

प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि नेकपा एमालेले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम राख्न प्रस्ताव गरेको हो ।

प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भनेर प्रस्ताव दर्ता गराएको एमाले संसदीय दलका नेता शत्रुधन महतोले बताएका छन् ।

यसअघि २०७६ सालमा पहिलो पटक प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रक्रिया शुरु गर्दा एमालेसहितको तत्कालीन नेकपाले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम राख्न प्रस्ताव दर्ता गराएको थियो ।

यसअघि प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै सत्तारुढ जनता समाजवादी (जसपा) र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै रुपमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

नाम र स्थायी राजधानीका लागि दुईतिहाइ बहुमतको आवश्यक पर्दछ । प्रदेश २ मा कुल १०७ सांसदमध्ये ६९ जनाले हस्ताक्षर गरेमा नाम र स्थायी राजधानी तोकिन सक्छ ।

प्रदेशसभामा सत्तारुढ जसपाका ५५, नेकपा एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एकजना सांसद छन् ।

प्रदेशसभा गठन भएको साढे तीन वर्ष वितिसक्दा पनि राजधानी र नाम पनि टुंगो लगाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना भएपछि प्रदेशसभा सचिवालयले वैशाख ९ दिउँसो ३ बजेसम्मको समय दिँदै वैशाख २ मा प्रस्ताव दर्ताको आह्वान गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय