scheduleबिहिवार बैशाख २३ गते, २०७८

कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएकाेमा संसदीय समितिकाे चिन्ता, सरकारको ध्यानाकर्षण

काठमाडौं, ८ वैशाख । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ को सङ्क्रमण रोक्न गम्भीरतापूर्वक लाग्न सरकारलाई सुझाव दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकका सहभागी सदस्यले कोरोना भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिँदै गएकामा चिन्ता व्यक्त गरेका छन् ।

बैठकमा समितिका संयोजक जीवनराम श्रेष्ठले स्वास्थ्य मापदण्ड नअपनाउँदा कोरोना सङ्क्रमण ह्वात्तै बढेको बताउनुभयो । स्वास्थ्य मापदण्ड सरकारी तवरबाट नै पालना नगरिएकामा झन समस्या बढ्दै गएको बताए ।

‘स्वास्थ्य मापदण्डको पालना गराउने निकाय नै त्यसप्रति सचेत नभएको पाइयो, त्यसप्रति सजग हुन आग्रह गर्छौँ’, संयोजक श्रेष्ठले भने ।

कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक व्यवस्था चाँडोभन्दा चाँडो मिलाउन उनले सरकारसँग आग्रह गरे ।

सङ्क्रमणबाट जोगिने उपाय चाँडो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले विगतका कमी कमजोरीबाट पाठ सिक्दै अब निम्तिन सक्ने भयावह अवस्थाबाट जोगिनु जरुरी रहेको उनले बताए ।

भारतबाट सहजरूपमा औषधि आयात गर्न नसकिएको समितिले अनुगमनका क्रममा पाएको सुनाउँदै संयोजक श्रेष्ठले सरकारले सबैभन्दा पहिला यसमा ध्यान दिनुपर्ने बताए ।

समितिका सदस्य अञ्जना विशङ्खेले विगतमा जस्तो कोरोना सङ्क्रमितले उपचार पाउने तर अन्यले उपचारबाट वञ्चित हुनुपर्ने स्थितिको सरकारले बेलैमा अन्त्य गर्नुपर्ने सुझाव दिए ।

उपचारका नाममा निजी क्षेत्रका स्वास्थ्य संस्थाले मनपरी शुल्क लिने गरेको पाइएको उनले बताए । बिरामीलाई समयमै उपचार दिलाउन जनशक्ति थप्न विशङ्खेले सरकारसँग आग्रह गरे ।

समितिका अर्का सदस्य सरिता न्यौपानेले कोरोना सङ्क्रमितको उपचारमा संलग्नको सेवा सुविधामा ध्यान दिन सरकारसँग आग्रह गरे ।

यस्तै समितिका सदस्य एकवाल मियाँले कोरोना सङ्क्रमितको उपचार तथा सङ्क्रमण रोकथाममा सङ्घीय, प्रदेश र स्थानीय तहका बीचमा समन्वयको अभाव रहेको बताए ।

भारतसित जोडिएका नाकाबाट सङ्क्रमित बिना रोकटोक घर फर्किन थालेको भन्दै उनले अनिवार्य क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने माग गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले दुई सातायता कोरोना सङ्क्रमण दर बढेको जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय