scheduleबिहिवार बैशाख २३ गते, २०७८

रोमाञ्चक खेलमा कोलकातालाई हराउँदै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौं, ९ वैशाख । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्न सफल भएको छ । जितसँगै चेन्नई अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.१ ओभरमा २ सय २ रनमा अल आउट भएको हो । एक समय ५.२ ओभरमा ३१-५ को कमजोर अवस्थामा पुगेको कोलकाता दयनीय नै देखिएको थियो । तर, आन्द्रे रसेल र प्याट कमिन्सले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि खेललाई प्रतिष्पर्धात्मक अवस्थामा लगे । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गरेका प्याट कमिन्स ३४ बलमा ४ चौका र ६ छक्का सहित ६६ रनमा अविजित रहे ।

विशाल लक्ष्य पछ्याएको कोलकातालाई अन्तिम ओभरमा जितको लागि २० रन चाहिँएको थियो । तर पहिलो बलमै दुई रन बटुल्नेक्रममा नन स्ट्राइकमा प्रसिद्ध कृष्णा रन आउट हुन पुगेपछि कोलकाता पुनः रक्षात्मक बन्यो ।

आन्द्रे रसेलले २२ बलमा ६ छक्का र ३ चौका सहित ५३ रनको जोडे भने विकेटकिपर दीनेश कार्तिकले २४ बलमा ४ चौका र २ छक्का सहित ४० रनको योगदान दिए । रसेलले २१ र कमिन्सले २३ बलमा अर्धशतक पूरा गरेका थिए । साम करनले १२ औं ओभरको दोस्रो बलमा रसेललाई बोल्ड आउट गर्दै खेलमा फर्काउन खोजे । तर कमिन्सले उत्कृष्ट प्रदर्शनका साथ कोलकातालाई कडा प्रतिष्पर्धामा उतारिरहे ।

त्यसअघि तीव्र गतिका बलर दीपक चाहरले शीर्षक्रमका चार ब्याट्सम्यानलाई आउट गरेपछि कोलकताको ब्याटिङलाई धरापमा पारेका थिए । उनले नितेश राना ९, सुभमन गिल शून्य, कप्तान ओईन मोर्गन ७ र सुनिल नारायणलाई ४ रनमा क्याच आउट गराएका थिए ।

चेन्नईका दीपक चहरले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । लुन्गी एन्गिडीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए भने साम करन १ विकेट खसाले ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ६० बलमा ९ चौका र ४ छक्का सहित ९५ रनको उत्कृष्ट इनिङ खेले भने युवा ओपनर ऋतुराज गायकवाड ४२ बलमा ६ चौका र ४ छक्का सहित ६२ रनको योगदान दिए ।

पहिलो विकेटका लागि ऋतुराज र फाफ डु प्लेसिसले १२.२ ओभरमा १ सय १५ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपछि चेन्नईले विशाल योगफल तयार पारेको थियो । मोईन अली १२ बलमा समान २ चौका र छक्का सहित २५ रनमा क्याच आउट भए । कप्तान महेन्द्रसिंह धोनी १७ रनमा आउट हुँदा जडेजा एक छक्का सहित ६ रनमा अविजित रहे । कोलकाता आन्द्रे रसेल, बरुण चक्रबर्ती र सुनिल नारायणले १–१ विकेट लिए ।

जितसँगै चेन्नई ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । बेंगलोर ३ खेलमा ३ वटै जित निकाल्दै समान ६ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय