scheduleबिहिवार बैशाख २३ गते, २०७८

‘स्वीट रुम’मा ओलीको लम्बेतान गुनासो, भने- म धूलो टक्टक्याउँदै उठेँ

काठमाडौं, ९ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिए पनि सहमति बन्न सकेको छैन । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा दुवै पक्षले मन माझामाझ गरे ।

संवादको क्रममा नेपालले पार्टी जोगाउन ओलीसँग आग्रह गरे । संवादको सुरुमा ओलीले लगातार एक घण्टा आफ्नो कुरा राखेको नेपालले नजिकका नेताहरुलाई सुनाएका छन् । ‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखि कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो, मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भनें । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’

नेता नेपालले पटकपटक २०७५ जेठ ३ अघिको अवस्थाबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव हुने भन्दै त्यसका लागि तयार हुन आग्रह गरे । जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको भन्दै असहमति व्यक्त गरे ।

उनले भने, ‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरुले मलाई के सम्म गर्नुभएन ? मलाई चारपटक कारबाही गर्दा केही सोच्नुभएन, पार्टीको साधारण सदस्यबाट समेत निकाल्दा पनि मैले सहनु पर्‍यो, म भुइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें ।’

ओलीले अगाडि थपे, ‘निर्णयहरू यथावत् छन्, गुटगत वार्ता भन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन आउनुस् म आग्रह गर्छु, त्यहीं छलफल गरौं ।’

नेताद्वयले गुनासो गरे । तर समाधानका लागि तयार भएनन् । भेटबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विभिन्न नेतालाई व्यक्तिगत रूपमा भेटघाट गरी सहमतिमा जोड दिनुभएको छ । यसै क्रममा पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपालसँग होटेल मेरियटमा संवाद गर्नुभएको छ । उहाँहरूबीच पुनः भेट गर्ने सल्लाह रहेको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय