scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेकपा स्थापना दिवसमा बल्खुमा केन्द्रीय कार्यालय शिलान्यास गर्दै प्रम ओली

काठमाडौं, ९ बैशाख । आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसकै अवसर पारेर एमाले आज बल्खुस्थित पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे नयाँ बन्ने पार्टी कार्यालयको शिलान्यास गर्ने कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

२०७२ सालको भूकम्पले मदननगर बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने भएपछि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो । धुम्बाराहीमा पनि सडक विस्तारका कारण समस्या आउने भएपछि एमालेले पार्टी कार्यालय अहिले थापाथलीमा एक व्यापारीको घरमा सारेको छ।

त्यस्तै स्थापना दिवसको अवसर पारेर आजै विहान ११ बजे अध्यक्ष ओलीले थापाथली कार्यालयबाट औपचारिक कार्य आरम्भ गर्ने कार्यक्रम रहेको छ ।

जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।

२०७४ को आमचुनावमा यी दुई पार्टी एकीकरणसहित चुनावी मैदानमा होमिए । जसमा नेपाल कम्युनिस्ट पार्टीले करिव दुई तिहाई मत पाएको थियो । त्यही मतका आधारमा केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । तर एकीकरणको तीन वर्ष नपुग्दै पार्टीहरु पुरानै अवस्थामा पुगेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय