scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेकपा स्थापना दिवसमा प्रचण्डले सम्झिए समाजवादको सपना

काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा स्थापना दिवस तथा लेनिन जन्मजयन्तीको अवसरमा समाजवादको सपना सम्झिएका छन् ।

विहीबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेपाली मुक्तिकामी जनसमुदाय तथा विश्व सर्वहारावर्गमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुक्तिकामी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने महान् सहिदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुमा स्वास्थ्यलाभको कामना गर्दछु ।’

अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलन वि.सं. २००६ सालदेखि वर्ग–संघर्ष र वैचारिक संघर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको स्मरण गरेका छन् । ‘महान् लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको हो,’ उनले भनेका छन् ।

‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ,’ उनले भनेका छन्, ‘ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’

उनले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने निष्कर्ष अगाडि सारेका छन् । ‘देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो,’ उनले भनेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन हार्दिक अपील गरेका छन् ।
अध्यक्ष

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय