scheduleबिहिवार बैशाख २३ गते, २०७८

माधव नेपाललाई सम्झाउन भेटेको ओलीको स्पष्टीकरण

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसहकर्मी प्रचण्ड र पार्टी नेता माधव नेपालविरुद्ध गम्भीर आरोप लगाएका छन् ।

नेकपा स्थापना दिवसको सन्दर्भमा पार्टी कार्यालयको बल्खुमा शिलान्यास गर्दै ओलीले नेताद्वयले आफूलाई ‘टाउकोमा हानेर रन्थन्याउने नीति’ लिएको आरोप लगाएका हुन् ।

उनले नेकपा हुँदा पार्टी सदस्यबाटै हटाउने दुष्प्रयास भएको स्मरण पनि गराए । आफू ५६ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य रहेको उल्लेख गर्दै कठीन परिस्थितिमा आन्दोलनलाई माथि उठाउन भूमिका निर्वाह गरेकाले कसैले कथित कारबाही गर्दैमा हट्ने कुरा नहुने तर्क गरे ।

ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताए । बुधबार मात्र पार्टी नेता नेपालसँग संवाद गरेका उनले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए।

उनले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने प्रष्ट पारे ।

‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं।’

उनले अगाडि थपे, ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन, अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’

उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्।

‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्,’ उनले भने।

‘हामीविरूद्ध हमला यस्तो भयो कि साधारण सदस्य पनि नरहने गरी हटाइयो। केपी ओलीलाई सिध्याइयो। धुलोमा मिलाएँसमेत भनेका थिए,’ उनले भने, ‘ममाथि किन यस्तो आक्रमण थियो भने टाउकोमा हान्यो भने शरीर ढल्ने भयो। टाउकोमा हान्ने नीति उनीहरूको रह्यो।’

उनले आफूहरूको पार्टी कब्जा गर्ने र आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भएको पनि बताएका छन्।

उनले निराश नहुन पनि अपिल गरे। ‘कुनै प्रकारले हामी निराश हुनुपर्दैन’, ओलीले भने, ‘उनीहरुले हामीलाई सडकबाट कारवाही गर्यौँ भनेर तमासा गरे, नगरा पिटाए। तर हामी निराश भएनौँ।’

ओलीले एमालेमा अनेक कठिनाई आएका बताए। ‘अहिले हाम्रा चरित्र हत्या गर्ने, अपमान गर्ने काममा लागेका छन्। हामीले बडो मिहिनेतका साथ पार्टीलाई एकजुट बनाएका थियौँ’, उनले भने, ‘चुनावको माध्यमबाट लगभग दुईतिहाइ ल्याएका थियौँ। ६४ प्रतिशत थियौँ, ६६ प्रतिशत भए दुईतिहाइ पुग्थ्यो। हामीलाई अनेक प्रकारका प्रतिक्रियावादी र प्रतिगामी शक्तिले पछ्याइरहेका छन्।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय