scheduleआइतवार आश्विन ३ गते, २०७८

एउटा इङ्लिश क्लबले सुपर लिगलाई ध्वस्त बनायो : अध्यक्ष पेरेज

एजेन्सी, ९ बैशाख । रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले इङ्लिश क्लबका कारण प्रस्तावित सुपर लिग ध्वस्त भएको प्रतिक्रिया दिएका छन् ।

घोषणा भएको एकहप्ता नबित्तै आफ्नो महत्वाकांक्षी योजना विफल भएपछि सुपर लिगका अध्यक्ष समेत रहेका पेरेजले इङ्लिश क्लबका कारण नयाँ प्रतियोगिता ध्वस्त भएको बताएका हुन् ।

सुरुमा सुपर लिगमा सामेल हुने प्रतिबद्धता गरेको एक इङ्लिश क्लबले नयाँ प्रतियोगितामा सहभागी भएका अन्य क्लबलाई समेत प्रभावित पारेको (संक्रमित गरेको) पेरेजको भनाइ छ । तर उनले सुपर लिगलाई ध्वस्त बनाएको सो क्लबको नाम भने बताएनन् ।

‘इङ्लिश समूहमा एउटा क्लब छ जसको कुनै रुचि थिएन र यसले अरुलाई पनि प्रभावित पार्‍यो/संक्रमित गर्‍यो’, एल लार्गुइरोसँग कुराकानी गर्दै पेरेजले भने, ‘उक्त क्लबको नाम भन्न चाहन्न तर त्यसले बाध्यकारी सहमतिमा हस्ताक्षर गरेको थियो र नयाँ परियोजना नआए पनि अर्को परियोजना आउने मेरो विश्वास छ ।’

सुपर लिग विफल भएकोमा आफू दु:खी र निराश भएको पनि पेरेजले बताए । ‘म निकै दु:खी र निराश बनेको छु’, उनले भने, ‘हामीले फुटबल खेल र आर्थिक दृष्टिकोणबाट कुराहरुलाई कसरी राम्रो बनाउन सकिन्छ भन्दै यसका लागि कैयौं वर्ष काम गरिरहेका थियौं ।’

त्यस्तै च्याम्पियन लिग पुरानो भइसकेको र सुपर लिगबाट अलग्गिएका क्लबका विरुद्ध कानुनी उपचार खोज्ने पनि उनले बताए । प्रस्तावित लिगबाट अलग्गिएका क्लबहरुले कानुनी रुपमा बाध्यकारी सहमति गरेका कारण उनीहरुले यसको परिणाम भोग्ने उनको भनाइ थियो ।

आइतबार युरोपका शीर्ष १२ क्लबले युरोपियन सुपर लिगको घोषणा गरेका थिए । तर मंगलबार ६ वटा इङ्लिश क्लबसहित ८ वटा क्लबले सुपर लिगबाट अलग भएको बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय