scheduleबुधवार बैशाख २९ गते, २०७८

हसुरे हुँडार

कविता
कमल भट्ट

महान क्रान्तिकारीबाट निमेशभरमा घोर दक्षिणपन्थी बन्दै हसुर्न पुग्छन्
अराजनीतिक हुँडार !

अनि क्रान्ति भन्ने भ्रम देख्ने आँखा परिवर्तन गर्दै,
भाग देखेपछि सच्चा क्रान्तिकारी भन्दा नि माथि उफ्रिएर लुछ्न पुग्ने
अर्का मौसमी हुँडार !

हुँडारै हुँडारले भरिएको नेपाली राजनीतिक जंगलमा
आउने हसुर्ने
अनि
सकिएपछि फेरि कि त पुरानो बथानमा फर्किने
वा
नयाँ बथानमा रोइलो काडेर हसुरिरहने
ढाडे हुँडार !

हसुरी हसुरी डाढे बनेका हुँडारको डकारको बास्ना अहा भन्दै पछि पछि लाग्ने
बेइमानी मिनी हुडार !

आउने पुस्ताको चिन्ता भन्दा नि डाढे हुँडारले जस्तै हसुर्ने आशामा पछि पछि लाग्ने
प्यासी हुँडार !

आस्था र सिद्धान्तलाई तिलाञ्जली दिँदै, कसको डकार कस्तो भन्दै डकार्दै पछि लाग्ने
भोका हुँडार !

नयाँ बथानमा गएर पुरानो बथानको नाइकेलाई तथानाम गाली गर्ने
जाली हुँडार !

आफ्नो नाइकेको बचाउमा कालोलाई सेतो र सेतोलाई कालो भन्न सक्ने
छली हुँडार !

पद लिएर हसुर्ने हुँडार
शक्ति लगाएर हसुर्ने हुँडार
नैतिकता बेचेरे हसुर्ने हुँडार

नियम संगत वा विपरित हसुर्न नछोड्ने हुँडार
साम, दाम, दण्ड, भेद प्रयोग गर्ने हसुर्ने हुँडार
देश र जनतालाई आहारा सम्झेर हसुर्ने हुँडार

जसरी पनि आहारालाई बसमा पार्ने सक्ने खाँटी हुँडार !

अब धिक्कार हुँडारलाई,
लखेट हुँडारलाई
पाता कस हुँडारलाई
नपत्याउ हुँडारलाई
हसुर्ने नदेऊ हुँडारलाई
चिन हुँडारलाई
नबन आहार हुँडारको
चिन हुँडारलाई ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय