scheduleआइतवार जेष्ठ २ गते, २०७८

आइपिएल क्रिकेट: पडिक्कलको उत्कृष्‍ट शतकमा राजस्थानमाथि बैंगलोरको शानदार जीत

काठमाडौं, १० वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले शानदार जीत हासिल गरेको छ । बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले ३.३ ओभरअगावै कुनैपनि विकेट नगुमाई पूरा गरेको हो । उसका लागि ओपनर देवदत्त पडिक्कलले १०१ रनको शतकीय पारी खेले । त्यसैगरी कप्तान विराट कोहली पनि ७२ रनमा अविजित रहे । पडिक्कलको आइपिएलमा यो पहिलो शतक हो । उनले केवल ५२ बलमा ११ चौका र ६ छक्कासहित शतक बनाएका हुन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । उसका लागि शिवम दुबेले सर्वाधिक ४६ रन बनाए भने राहुल तेवातियाले ४० तथा रियान परागले २५ रन बनाए । एक समय ४३-४ को अवस्थामा रहेको राजस्थानको इनिङ्स दुबे र पराग मिलेर सम्हालेका थिए । बैंगलोरका मोहम्मद सिराज र हर्षल पटेलले ३-३ विकेट लिँदा काइल जेमिसन, केन रिचर्डसन र युजभेन्द्र चहलले १-१ विकेट हात पारे ।

जीतसँगै ४ खेलबाट ८ अंक जोडेको बैंगलोर शीर्षस्थानमा उक्लिएको छ भने पराजित राजस्थान आठौं स्थानमा झरेको छ । राजस्थानको २ अंकमात्र छ र नेटरनरेटमा पञ्‍जाबभन्दा पछाडि छ ।

प्रतियोगिता अन्तर्गत आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय