scheduleआइतवार जेष्ठ २ गते, २०७८

स्पेनिस लालिगामा बार्सिलोनाको शानदार जीत, मेस्सीको दुई गोल

काठमाडौं, १० वैशाख । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनले शानदार जीत हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ ले हराएको हो ।

बार्सिलोनाको जीतमा कप्तान लियोनल मेस्सीले दुई तथा रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । गेटाफेका लागि इनेस युनालले एक गोल गर्दा एक गोल भने उसले पनि उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले सर्जियो बुसक्‍वेट्सको पासमा गोल गरेका थिए । १२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटबाट आत्मघाती गोल भएपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

२८औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले अघि बढ्यो । ३३औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ ले अघि बढाए । ६९औं मिनेटमा इनिस युनालले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।

८७औं मिनेटमा रोनाल्ड एराउजोले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई जीततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को जीत दिलाए । सोफियन चाक्लाले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गर्ने अवसर रहेपनि उनले ग्रिजमनलाई नै पेनाल्टी प्रहारको मौका दिएका थिए ।

जीतसँगै बार्सिलोनाले उपाधि जित्‍ने सम्भावना जीवितै राखेको छ । बार्सिलोना ३१ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ७० अंक छ । दुवै टोलीले ३२ खेल खेलेका छन् । पराजित गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय