scheduleआइतवार आश्विन ३ गते, २०७८

छोरी जन्मिएपछि खुशीको सीमै रहेन, श्रीमतिलाई हेलिकप्टरमा राखेर घर ल्याए

एजेन्सी, १० बैशाख । राजस्थानको नागौर जिल्लाका एक व्यक्तिले सबैको ध्यान तानेका छन् । नवजात छोरीलाई हेलिकप्टर भाडामा लिएर घर ल्याएपछि भारतभर उनको चर्चा हुन थालेको छ ।

भर्खर जन्मिएकी छोरीलाई घर ल्याउनका लागि हेलिकप्टर भाडामा लिने ती व्यक्तिको नाम हो- हनुमान प्रजापति । प्रजापतिकी श्रीमति चुकी देबीले ले मार्च ३ मा नागौरस्थित एक अस्पतालमा छोरी (रिया) जन्माएकी थिइन् । त्यसपछि उनी सुत्केरी बस्न हर्सोलाभ गाउँस्थित आफ्नो माइत गइन् ।

तर सुत्केरी बस्न माइत गएकी श्रीमति र छोरीलाई घर ल्याउनका लागि प्रजापतिले हेलिकप्टर नै भाडामा लिए । हेलिकप्टर भाडामा लिनुको कारण थियो- ३५ वर्षपछि उनको परिवारमा छोरी जन्मिनु ।

प्रजापतिले आफू र आफ्नो परिवारका लागि छोरीको विशेष महत्व भएकाले हेलिकप्टर भाडामा लिएर श्रीमतिलाई घर ल्याएको बताए । ‘मैले मेरी छोरीको आगमनलाई विशेष बनाउन चाहन्थे’, उनले भने, ‘मेरा र मेरो परिवारका लागि मेरी छोरी कति विशेष छन् भनेर देखाउनका लागि मैल गर्न सक्ने सबैभन्दा ठूलो काम यही थियो ।’

प्रजापतिको ससुराली उनको घरभन्दा ४० किलोमिटर टाढा छ । हेलिकप्टरले झण्डै १० मिनेटमा आमा चुकी देबी र छोरी रियालाई ल्याएको थियो ।

छोरी र श्रीमति लिन प्रजापति पनि हेलिकप्टरमा चढेर ससुराली गएका थिए । हेलिकप्टरमा उनीसँग अन्य ३ जना नातेदार पनि थिए । उनले ससुरालीमा झण्डै २ घण्टा बसेपछि श्रीमति र छोरीलाई घर लिएर आए ।

श्रीमति र छोरीलाई हेलिकप्टरमा ल्याउने सल्लाह आफ्ना बाबु मदनलाल कुम्हारले दिएको पनि प्रजापतिले सुनाए । छोरी जन्मेपछि हजुरबा निकै खुशी भएकोले यस्तो सुझाव दिएको उनको भनाइ थियो ।

‘मेरा बुबा रिया जन्मेपछि निकै खुशी हुनु भएको थियो र हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भन्नु भयो’, प्रजापतिले भने, ‘उहाँसहित परिवारका अन्य सदस्यले घर फर्किँदा हामीलाई स्वागत गर्नु भयो ।’

मदनलालले पनि ३५ वर्षपछि आफ्नो परिवारमा छोरीको आगमन भएकोले हेलिकप्टर मै ल्याउने व्यवस्था गरेको बताए । ‘हामीले ३५ वर्षपछि उपहार स्वरुप छोरी पाएका छौं र यही भएर यस्तो व्यवस्था गरेका हौं’, खुशी हुँदै उनले भने, ‘मैले उन (नातिनि) का सबै सपना पूरा गर्ने छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय