scheduleशुक्रवार आश्विन १ गते, २०७८

सेलिब्रिटीले संकटमाझ मोजमस्ती गरेका फोटो पोष्ट गरेपछि सिद्दीकीको कडा टिप्पणी

एजेन्सी, ११ बैशाख । भारतमा कोरोना भाइरसको दोस्रो लहरले आतंक मच्चाइरहेको छ । सारा मुलुक कठिन अवस्थाबाट गुज्रिरहेका बेलामा बलिउडका केही कलाकारहरु भने माल्दिभ्समा रमाइरहेका छन् ।

यतिबेला दिशा पटानी, सारा अली खान, जान्वी कपुर, टाइगर श्रफ र श्रद्धा कपुर लगायतका सेलिब्रिटीहरु माल्दिभ्समा छन् । रणवीर कपुर र आलिया भट्ट समेत विदा मनाउन भन्दै उतै गएका छन् ।

तर विदा मनाउन माल्दिभ्स गएका बलिउड सेलिब्रिटीहरुले महामारीबीच रमाइलो एवं मस्ती गरेका विभिन्न तस्बीर अनलाइनमा पोष्ट गरेपछि फ्यानहरुले भने आपत्ति जनाइरहेका छन् ।

यसैबीच बलिउड कलाकार जवाजुद्दीन सिद्दीकीले समेत विदामा रहेका कलाकारको आलोचना गरेका छन् । सारा मुलुक महामारीको संकटमा फँसेका बेला कुनै लाज-शरमबिनै रमाइलो र मोजमस्ती गरेका तस्बिर पोष्ट गरेकोमा उनले आपत्ति जनाएका हुन् ।

बलिउड हंगामासँगको कुराकानीका क्रममा सारा विश्व महामारीको चपेटामा परेका बेला विदामा गएर पोष्ट गर्ने कलाकारप्रति लक्षित गर्दै सिद्दीकीले भने- ‘ मानिससँग खानेकुरा छैन तर तपाईंहरु पैसा उडाइरहनु भएको छ । अलि-अलि त लाज मान्नुहोस् (कुछ तो शरम करो) ।’

विदामा रहेका कलाकारले माल्दिभ्समा तमासा गरेको पनि सिद्दीकीको भनाइ छ ।

‘यिनीहरुले माल्दिभ्समा तमासा गरेका छन्’, सिद्दीकीले थपे, ‘तर कृपया विदाको रमाइलो अरुलाई नदेखाउनुहोस् । जताततै पीडैपीडा छ । कोभिडका विरामीहरु बढिरहेका छन् । कृपया पीडामा रहेका मानिसलाई दिक्क नबनाउनुहोस् ।’

त्यस्तै, विदा मनाउनका लागि माल्दिभ्स जानुहुन्छ कि भनेर सोधिएको प्रश्नको उत्तर दिँदै सिद्दीकीले भने, ‘कुनै हालत जान्नँ । म परिवारसँगै आफ्नो होम टाउन बुधानामा छु र यही नै मेरो माल्दिभ्स हो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय