scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

जार–मानसिकताबाट मुक्त हुन नसकेको दलीय नेतृत्व

डम्बर खतिवडा

हाम्रो पुस्ताले समाजका कयौं मध्ययुगीन, बर्बर, आततायी कुप्रथा आफ्नै आँखाले देख्यो । आजको आधुनिकतालाई पनि स्पर्श गरिरहेकै छौं । ४०–५० वर्ष असाध्यै लामो समयावधि हैन, युगिन दृष्टिबाट । तर, त्यतिखेर र यतिखेरको समाज, मानसिकता, पूर्वाधार विकास तथा प्रविधिको स्तरलाई हेर्दा एउटा भिन्नै संसार उदाउँदै गएजस्तो लाग्दछ ।

मैले बाल्यकालमा देखेका सामाजिक कुप्रथामध्ये थियो–जारी प्रथा । हरेक वर्षजस्तो वल्लोगाउँ, पल्लोगाउँ दुईचार जारी उठाउने वा तिर्ने पञ्चकचहरी हुन्थे । फलानो गाउँको फलानाले फलाना गाउँको फलनाकी श्रीमति पोइल्याएछ, जारी उठाउनेहरु आउँदैछन् रे भन्ने सुनेपछि गाउँभरि सनसनी जस्तो हुन्थ्यो । नभन्दै सम्बन्धित गाउँका मुखियाहरु यमानका घोडा चडेर, कसैलाई लगाम समाएर घोडा डोर्‍याउन लगाउँदै, बाँकीलाई घोडाको पछाडि दौडिएजस्तै गरी हिंडाएर जारी उठाउनु पर्ने गाउँमा आउँथे ।

महिलामाथि असाध्यै श्रमबोझ भएको समय थियो त्यो । नजिकै खानेपानीको व्यवस्था हुँदैनथ्यो । डोकोमा गाग्रो बोकेर महिलाले टाढाटाढाबाट पानीको जोहो गर्थे । इन्धनको मुख्य स्रोत दाउरा थियो । एक डोको दाउरा बटुल्न घण्टौं खर्चिनु पर्थ्यो । आधुनिक मिलहरु नजिकै थिएनन् । नाम्लोमा भारी बोकेर एक बोरा अन्न पिसाएर ल्याउँदा फेरि घण्टौं खर्च हुन्थ्यो । यस्ता काम पुरुषहरु गर्दैनथे । यस्ता काम सस्तो र सामान्य श्रम मानिन्थे, यस्ता काम गर्न पुरुषहरु शान र मर्दनापनको विपरित ठान्दथे ।

पुरुषहरुले गर्ने मुख्य श्रम भने बाली लगाउने र उठाउने हुन्थ्यो । यी काम खासखास सिजनमा हुन्थे । अरु बेला पुरुषहरू फुक्काफाल हुन्थे । महिलाले गर्ने श्रमको भने कुनै सीमा र समय हुन्थेन । फुर्सदिला पुरुषहरू तास खेल्थे । कौडा र बाघचाल खेल्थे । गाउँको चियासपलमा क्यारेम बोर्ड खेल्थे, गप्फा मार्थे । साँझ रक्सी पिउँथे । मातेको सुरमा तरकारी मिठो भएन भनेर उल्टै स्वास्नी कुट्थे । प्रत्येक गाउँमा ८–१० त्यस्ता पुरुष हुन्थे, जो स्वास्नी कुट्नुलाई गौरव ठान्थे । उनीहरूले समाज र राज्यबाट स्वास्नी कुट्ने लाइसेन्स पाएजस्तो देखिन्थ्यो ।

अक्सर पोइलिने महिला त्यस्तै पुरुषका हुन्थे । जारी उठाउन घोडामा मुखिया अगाडि लगाएर हिंड्नेहरू तिनै जड्याहा पुरुष हुन्थे । जारले सजिलै भन्दिथ्यो– ‘माल पाएर हुन्छ, चाल पाउनु परेन, के देको थिस् र जार उठाउन आइस् । यिनको ढाड तेरो चिपर्ट खान मात्र हो र ? ला लैजा, त्यही फुली र मुन्द्रीको पैसा त चाहिएको होला, तलाई ।’ त्यस्ती महिलाले समाज अघि सजिलै भनिदिन्थन्– ‘तँ जस्ता नार्मदकी स्वास्नी हुनुभन्दा बरु यिनका कमारी नै हुन्छु।’

हिजोआजका डिभोर्सीहरूका कुरा सुन्छु र त्यो बेलाको जारी प्रथासँग तुलना गर्छु, आफैं छक्क पर्छु । आजका युवायुवतीहरू सल्लाहले अदालत जान्छन् । हाँसीखुसीले कागजमा साइन गर्छन् । एक अर्काको सुखद भविष्यको कामना गर्दछ । एकअर्काप्रतिको कानुनी र आर्थिक दायित्वबाट मुक्त हुन्छन् । न त जारी दिइनस् भने मेरी स्वास्नी मै फिर्ता लान्छु भन्दै समाजको अगाडि लाप्पा खेल्छन् । न त मुखिया अगाडि लगाएर जारीको पञ्चेती बस्दै हिंड्छन ।

समाजमा यसरी एकातिर पर्याप्त सकारात्मक परिवर्तन आएको छ । अर्कोतिर लोकतान्त्रिक युगका दलका नेताहरूको चरित्र हेर्दा लाग्दछ, ती अझै जार उठाउने मानसिकताबाट मुक्त छैनन् । एउटै दलमा हुन्जेल्, आफ्नो हात अलिकति माथि परुन्जेल्, सहकर्मीहरूको आत्मसम्मान र सहभागिताबारे ती अनावश्यक कठोर हुन्छन् । अनेक तालतिकडम गरेर, एकअर्कालाई खसाल्ने, गिराउने, कमजोर पार्ने, षड्यन्त्र र धोकाबाजी गर्ने तर, पनि आफ्नै पार्टीमा आफैंलाई नेता मानेर बसिदिउन्, कुनै विद्रोह नहोस्श भनेर अपेक्षा गर्ने संस्कारबाट दलीय नेतृत्व मुक्त छैन ।

एउटा निश्चित लेभलमा पुगेपछि नेता–नेता सम्बन्ध जार–जार सम्बधजस्तै पाइन्छ । ठूला, शीर्ष र शक्तिशाली भनिएका नेताहरू मिलेर बसेको नेपालको दलीय इतिहासका विरलै पाइन्छ । बीपी-मातृका प्रसाद र डिल्लीरमण रेग्मी कहिल्यै मिलेनन् । पुष्पलाल–रायमाझी–तुलसीलाल–मनमोहन कहिल्यै मिलेनन् ।

गिरिजाप्रसादले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पार्टी छोडेर मर्न बाध्य बनाए । डा. बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल, विप्लवजस्ता नेताहरूले माओवादी पार्टी छोडेर हिंड्दा प्रचण्डले कहिल्यै पिर गरेनन्, न त नेतृत्व हस्तान्तर गर्ने कुनै सोच, योजना अघि ल्याए । कुनै समय माधव–केपी गुटको शिकार बनेका मैनाली दाजुभाइ आज इतिहासको किनारामा छन् । पछिल्लो चरणमा केपी ओली सबैबाट एक्लै जार उठाएर खाने मानसिकतामा छन् ।

त्यो समय जड्याहा लाग्नेबाट विद्रोह गर्न सक्ने महिला कम साहसी पक्कै हैनन् । अझ धेरै त्यस्ता महिलाको बाल-विवाह भएको हुन्थ्यो । जीवनमा एकपटक कसैको हातको सिन्दुर पहिरिएपछि जीवनभरि त्यसको बात र लात खाएर पनि पोइलिन हुँदैन भन्ने धारणा थियो । ‘जे भए पनि पोइली हाल्नु नहुने’ भन्ने सोच थियो ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

 

आज पार्टीबारे धेरैका तर्क यस्तै सुनिन्छन् । जेजे भए पनि लागेको पार्टी यही हो, मानेको नेता त्यही हो, पार्टी नामको ब्राण्ड उहीसँग छ, चुनाव चिन्ह उहीसँग छ, जस्ता तर्क निक्कै दिग्गज हुँ भन्नेहरूले गरेको सुनिन्छ । आज पनि पार्टीका कार्यकर्ताहरूको ठूलो पंक्ति मध्ययुगीन बालविवाह भएकी महिलाले सिन्दुरको मूल्यमा जड्याहा लोग्नेको चिर्पट, ढाँडमा जीवनभरि थापेजस्तो थाप्न राजी पाइन्छन् ।

राजनीतिमा जब विचार, लाईन मिल्दैन, केको पार्टी ? केको नेता ? केको पार्टी नाम ? केको चुनाव चिन्ह ? ती चिज भएरै पनि के हुन्छ, नभएरै पनि के हुन्छ ? एउटा जाबो टिकट पाउनु र कसैको निगाहले कुनै चुत्थो पदमा केही समयलाई पुग्नु, मानव जुनीको सार र गरिमा त्यति हो ? राजनीतिको औचित्य र महत्व त्यति हो ? निसन्देह हैन । राजनीतिक एक बृहत तथा बहुआयामिक अस्तित्व संघर्ष हो । सोच र स्वभिमानको संघर्ष हो । पदमा छँदै मृत्युवरण गरेका गिरिजाप्रसाद र कुनै पदमा नबसेका गणेशमान सिंहको राजनीतिक इतिहास र कदको तुलनामा के माथि छ ? प्रष्टै छ ।

मन नमिलेपछि मध्ययुगका जारजस्तो व्यवहार एकअर्कासँग गर्न जरुरी छैन । आधुनिक युगका डिभोर्सीहरू जस्तो सल्लाहले नै पनि छुट्टिन सकिन्छ । नेकपाको नेपाल–खनाल पक्ष अहिले जुन संकटमा देखिन्छ, कारबाहीको जुन तलवार ओलीले उनीहरूको गर्दनमा झुन्डाएका छन्, त्यो निरर्थक छ । नाथे दुई वर्ष कार्यकाल बाँकी नरहेको सांसद पदको के त्यत्रो मोह हो ? त्यो पनि खाइदिँदा ओलीले के सेखी जित्ने हो ? यो नेताहरूको जार मानसिकता बाहेक केही हैन ।

ठीक यही कुरा जसपाको हकमा पनि लागू हुन्छ । यदि विचार, सिद्धान्त र कार्यदिशा मिल्दै नमिल्ने बिन्दूमा पुगेको हो भने मिलेर के गर्ने ? पार्टी भनेको कुनै मेला गर्ने, हाटबजार भर्ने र तमासा हेर्नेहरूको भीड त हैन । मानौं कि पार्टी ठूलो भयो, त्यसले गर्ने कामबारे प्रष्टता भएन भने के गर्ने ठूलो भएर ? ठीक विचार, एजेण्डा, कार्यदिशा र नेतृत्व पंक्ति छ भने सानै पार्टी पनि ठूलो हुन सक्दछ । गलत मनसाय, भ्रमपूर्ण कार्यदिशा र कमजोर नेतृत्व पंक्ति छ भने ठूलै पार्टी सानो हुन सक्दछ ।

पार्टी सानो वा ठूलो हुने कुराले मात्र सबै कुरा निर्धारण गर्दैन । बहुदलीय लोकतन्त्रमा पार्टी संगठनको शक्ति र आकार मात्र पनि सबैथोक हैन । सोभियत कम्युनिष्ट पार्टीका करिब ३ करोड पार्टी सदस्य थिए । खै, धानियो उनीहरूको पार्टी ? भारतमा भारतीय राष्ट्रिय कांग्रेसको कति ठूलो संगठन थियो, आज कहाँ छ ? नेपालमै माओवादी पहिलो ठूलो पार्टीसम्म भएकै हो, खै टिकेको ? राजनीतिक, नैतिक मूल्यका यावत बन्धनहरू छिनाएर कार्यकर्ताको संख्या र संगठनको बलमा मात्र पार्टी बलियो हुने सोच किमार्थ सही हुँदैन ।

लोकतन्त्रमा दल हुने नै भए । दलहरू विनाको आधुनिक लोकतन्त्र संसारमा कहिँकतै छैन, हुँदैन । तसर्थ दलहरूप्रति कुनै वितृष्ण वा बैरभावको कुरा हैन । तर कस्ता दल ? कस्तो सोच, चरित्र, कार्यशैली र संगठनात्मक व्यवहार भएका दल ? अहिलेकै जस्ता दल र नेतृत्वपंक्तिबाट वेडा पार लाग्ला ? कि दलीय संरचना, कार्यशैली र संस्कृतिमा व्यापक सुधार आवश्यक छ ? यदि आवश्यक छ भने प्रारम्भ कसले कहाँबाट गर्ने ?

विचार र एजेण्डाका दृष्टिकोणले दलहरू आआफ्नो स्पेशमा ठीकै छन् । नेपाली कांग्रेस छ– उसले उदार लोकतन्त्र र नवउदारवादी अर्थतन्त्रमा विश्वास गर्दछ । कम्युनिष्टहरू छन्– मार्क्सवाद–लेनिनवाद र सर्वहारा क्रान्तिमा विश्वास गर्दछन् । जसपा छ– संघीयता, समावेशिता, बहुसाँस्कृतिकतावाद, सहभागितामुलक–समावेशी लोकतन्त्र, सामाजिक उत्तरदायित्वसहितको अर्थतन्त्रमा विश्वास गर्दछ । विवकेशील–साझा छ– लोककल्याणकारी राज्यको सिद्धान्तमा विश्वास गर्दछ । राप्रपा छ– सम्बर्द्धनवाद, राजतन्त्र र हिन्दुत्वको राजनीतिमा विश्वास गर्दछ ।

यी विचार र एजेण्डा निःसन्देह फरक हुन् । तसर्थ दलको विचार एउटै हो, उस्तै हो भन्नु गलत हो । कतिपय विश्लेषकहरूले भने जस्तो दलहरूसँग विचार र एजेण्डा नभएको हैन । खासमा हाम्रो समस्या भनेको उन्नत दलीय संस्कृति, असल कार्यशैलीको अभाव हो । अन्तपार्टी लोकतन्त्रको अभाव हो । नेतृत्व पंक्तिमा नैतिक चरित्रको अभाव हो । प्रष्ट कार्यदिशा र चुस्त व्यवस्थापन क्षमताको अभाव हो । हाम्रा दलहरू जबसम्म यी रोगबाट मुक्त हुँदैनन्, लोकतन्त्र जुनकुनै बेला फेरि संकटमा पर्न सक्दछ ।

तर, यी चिज आफै सहजै हुने छैनन् । यसका लागि कहिँ न कहिँ नेरबाट कसैले न कसैले साहसिक हस्तक्षेप गर्न जरुरी छ । गुटीय स्वार्थका लागि सति जाने प्रचलन कार्यकर्ता पंक्तिमा व्यप्त रहुन्जेल यो प्रवृतिबाट मुक्ति सम्भव छैन । दलीय सुधारको पहिलो शर्त अहिले पनि आलोचनात्मक चेत भएका कार्यकर्ता पंक्ति नै हुन् । बालविवाह भएकी महिलाले जड्याहा लोग्नेका चिर्पट जीन्दगीभरि थापुन्जेल नेताहरू किमार्थ सुध्रिने हैनन् । कुनै पनि पाखण्डी सोच र सत्तालाई अन्तिमरुपमा वास्तविक विद्रोहले मात्र चेताउन सक्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय