scheduleबुधवार आषाढ़ २ गते, २०७८

ओस्कार अवार्ड जितेर इतिहास रचेकी जाओमाथि चिनियाँ सेन्सरशिप !

एजेन्सी, १३ बैशाख । चिनियाँ मूलकी क्लोइ जाओले निर्माण, निर्दशन, लेखन एवं सम्पादन गरेको चलचित्र ‘नोमाडल्याण्ड’ले यस वर्ष निकै चर्चा कमायो ।

श्रीमानको निधन र आफूले काम गरेको कम्पनी बन्द भएपछि आफ्नो जन्म स्थल छोडेर अमेरिकाभर यात्रा गर्न पुगेकी एक विधवा महिलाको संघर्षपूर्ण कथामा आधारित छ, ‘नोमाडल्याण्ड’ ।

‘नोमाडल्याण्ड’ले भेनिस फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएलगत्तै सबैभन्दा ठूलो पुरस्कार गोल्डेन लायन र टोरोन्टो इन्टरनेशनल फिल्म भेस्टिभलमा पिपुल्स च्वाइस अवार्ड जितेको थियो ।

त्यस्तै सर्वोत्कृष्ट चलचित्र र निर्देशकका लागि गोल्डेन ग्लोब अवार्ड जित्न सफल ‘नोमाडल्याण्ड’ले ३ वटा ओस्कार अवार्ड हात पारेको छ । यसलाई सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट अभिनेत्री र सर्वोत्कृष्ट निर्देशकका लागि ओस्कार अवार्ड प्रदान गरिएको हो। चलचित्रले छ वटा मनोनयनमध्ये तीनवटा अवार्ड जितेको हो ।

चिनियाँ मूलकी जाओ ओस्कार अवार्ड जित्ने पहिलो एसियाली निर्देशक हुन् । अवार्डसँगै उनले इतिहास रच्न सफल भएकी छन् ।

सन् १९८२ मा बेइजिङमा जन्मिएकी जाओले आइतबार लस एन्जेलेसमा आयोजित ओस्कार अवार्ड कार्यक्रममा चिनियाँ मूल्यमान्यताहरुले ‘अप्ठ्यारो परेका बेला’ अघि बढ्न सघाएको बताएकी थिइन् ।

तर अनौठो कुरा के छ भने जाओले निर्देशन गरेको ‘नोमाडल्याण्ड’ हालसम्म चीनमा प्रदर्शन हुन सकेको छैन । चलचित्रको ठूलो बजारमा प्रदर्शन हुन नसक्नुको कारण उनले सन् २०१३ मा चीनबारे गरेको टिप्पणी मानिन्छ । उनले त्यतिबेला आफ्नो जन्मभूमि चीनमा ‘जताततै झुठ मात्रै भएको’ बताएकी थिइन् ।

ओस्कार अवार्ड समारोहमा जा‌‌ओले एउटा चिनियाँ शास्त्रीय कवितालाई उदृत गरेकी थिइन् । उक्त कविता (‘जन्मिँदा सबै मानिसहरु आधारभूत रुपमै असल हुन्छन्’, उनले उदृत गरेको कविताको भावानुवाद ) उदृत गरेपछि चीनका विभिन्न सामाजिक सञ्जालमा उनको प्रशंसा गरिएको थियो ।

चीनको सरकारी सहयोग प्राप्त समाचार माध्यम ग्लोबल टाइम्सले गत महिला जाओले परिणाम सामना गर्नुपर्ने उल्लेख गरेको थियो । तर ग्लोबल टाइम्सले फिल्ममाथि प्रतिबन्ध लगाउन नहुने पनि प्रस्ट पारेको थियो ।

यसैबीच ओस्कार अवार्डलगत्तै जाओ र नोमाडल्याण्डसम्बन्धी पोष्टहरु चिनियाँ ट्विटर वेइबोबाट रहस्यमय तरिकाले हताइएको छन् । उनको सफलतालाई चिनियाँ समाचार माध्यमले खासै ध्यान दिएको देखिँदैन ।

सोमबार बिहान वेइबोमा जाओको प्रशंसा गर्दै कैयौंले पोष्ट गरेका थिए भने कतिपयले नोमाडल्याण्डलाई सेन्सर गरेकोमा आपत्ति जनाएका थिए ।

जाओले ओस्कार जितेपछि सामाजिक सञ्जालमा मात्रै होइन । जाओ जन्मेको शहर बेइजिङमा पनि उनको सफलतालाई लिएर मानिसहरु निकै खुशी देखिन्थे ।

‘उनी(जाओ) चिनियाँ जनताको गौरव हुन्’, महिला इन्जिनियर यान यिङले भनिन्, ‘चिनियाँहरुले ओस्कार अवार्ड विरलै पाउने गर्छन् ।’ त्यस्तै ३८ वर्षीय युआन मिङले भने, ‘मेरो विचारमा चिनियाँ फिल्मलाई झन राम्रो हुन्छ र उनी चीनका चलचित्र निर्देशकका लागि राम्रो उदारहण बन्न सक्छिन् ।’

चिनियाँ मिडियाले यसअघि मार्चमा आयोजित गोल्डेन ग्लोब्स अवार्डमा नोमाडल्याण्डले प्राप्त गरेको सफलताबारे निकै चर्चा र प्रशंसा गरेका थिए ।

तर आठ वर्षअघि चीनप्रति गरेको आलोचना सामाजिक सञ्जालमा फैलिन थालेपछि जाओ चिनियाँ राष्ट्रवादी आक्रोशको तारो बन्न पुगिन । त्यसपछि निर्धारित मितिमा ‘नोमाडल्याण्ड’ रिलिज हुन सकेन् । रिलिज अनिश्चित हुँदै गएपछि चलचित्र उद्योगले चीनमा खेपिरहेको कठिनाइलाई प्रस्ट पार्छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय