scheduleसोमवार आश्विन ११ गते, २०७८

कोरोना संक्रमितको ज्यान बचाउन महँगो कार र सुन बेचे

एजेन्सी, १३ बैशाख । भारतमा सुरु भएको कोरोना भाइरसको दोस्रो लहरका कारण अस्पतालमा बेड र अक्सिजनको अभाव भइरहेको छ । बेड र अक्सिजनको अभावकै कारण कतिपय संक्रमितले ज्यान गुमाउन पुगेका छन् ।

कोरोना भाइरसले निम्त्याएको संकट र हाहाकारबीच एक व्यक्ति भने केही मानिसको जीवन बचाउन मैदानमा उत्रिरहेका छन् । ती मनकारी व्यक्तिको नाम हो, शाहनवाज शेख । ३२ वर्षीय शेखले मानिसको जीवन बचाउन संभव भएका सबै कुरा गरिरहेका छन् ।

सहयोग गर्ने क्रममा पैसाको कमी भएपछि शेखले महँगो एसयुवी कार र सुनको सिक्री बेचिसके। उनले कार बेचेर अक्सिजन सिलिण्डर किन्दै मानिसलाई नि:शुल्क अक्सिजन दिन सुरु गरेका छन् । अक्सिजन सिलिण्डर नपुगेपछि उनले सुनको सिक्रीसहित आफूसँग भएका महँगा सामान पनि बेचेका छन् ।

‘अक्सिजनको अभावले मानिसको ज्यान गइरहेको छ र यस्तो अवस्थामा मानिसलाई नि:शुल्क अक्सिजन उपलब्ध गराएर संभव भएसम्म उनीहरुको ज्यान बचाउने मेरो प्रयास हो’, शेखले भने, ‘यसका लागि मैले आफ्नो एसयुवी कारसिहत केही महँगा सामाज बेचेको छु ।’

शेखसँग अक्सिजन लिएका यगणेश त्रिवेदी भन्छन्- ‘महामारीको समयमा शाहनवाज भाइले जे गरिरहनु भएको छ, त्यो सह्रानीय छ । यहाँ धेरै ट्रस्ट छन् तर शाहनवाजले मात्रै मानिसको सेवा गरिरहेको देखिन्छ । उनले कुनै कागजात वा डिपोजिटबिनै सिलिण्डर बाँडिरहेका छन् ।’

शेखले गत वर्षदेखि नै कोरोना पीडितलाई मद्दत गर्दै आएका थिए

शाहनवाज शेखले भवन र इन्टेरियर डिजाइनिङको काम गर्छन् । हाल कोरोनाका कारण शेखको काममा पनि असर परेको थियो । उनको अफिस बन्द भएको छ । उनी हाल घरायसी काम गरेर बस्छन् । कार बेचिसकेका छन् । सुन पनि बेचे । तर उनले हिम्मत हारेका छैनन् । अहिले पनि उनले आवश्यक मानिसहरुलाई नि: शुल्क अक्सिजन उपलब्ध गराइरहेका छन्

उनले अघिल्लो वर्षदेखि नै कोरोना भाइरसबाट पीडित मानिसलाई सहयोग गर्दै आएका छन् । संक्रमणको पहिलो लहरसँगै सबै कुरा बन्द भएपछि दिनदिनै कमाएर खानुपर्ने मानिसलाई बिहान बेलुकाको छाक टार्न कठिन भएको थियो ।

मुम्बईस्थित मालवणीमा प्राय: मानिसहरु झुपडीमा बस्छन् । गत वर्ष जब शेखले मालवणीका मानिसको समस्या देखे तब आफूले बचाएर राखेको पैसा निकाले र गरीबको घरसम्म खानेकुरा पुर्‍याउन थाले । उनले घर फर्किन लागेका प्रवासी मजदूरलाई पनि खानाको व्यवस्था गरे ।

गत वर्ष शेखका साथी अब्बास रिजवीकी २७ वर्षीय बहिनी आसमा बानोलाई सुत्केरी हुने क्रममा सास फेर्न गाह्रो भयो र अस्पतालमा घुमाउँदा घुमाउँदै कलसेकर अस्पतालबाहिर बानोको निधन भयो ।

साथी रिजवीले उक्त घटनाबारे भनेपछि शेखले अत्यावश्यक भएका मानिसलाई नि:शुल्क अक्सिजन उपलब्ध गराउने योजना बनाए । किनभने उनलाई थाहा थियो- कोरोना कालमा अक्सिजनको कमीले मानिसको ज्यान गइरहेको छ ।

शेखलाई नि:शुल्क अक्सिजन उपलब्ध गराउने हो भने केही मानिसको ज्यान बचाउँन सकिन्छ भन्ने लाग्यो । त्यसपछि उनले केही मानिस र डाक्टरसँग अक्सिजन सिलिण्डर हासिल गर्ने माध्यमबारे कुराकानी गरे ।

अस्पतालमा अक्सिजन नपाएका मानिसलाई सहयोग गर्न भन्दै शेखले आफूसँग भएको पैसाबाट सुरुमा ३०-४० वटा सिलिण्डर किने । सिलिण्डरबारे सामाजिक सञ्जालमा प्रचार गरे । र आफ्ना साथी रिजवीसँगै मिलेर अक्सिजन सिलिण्डर वितरण गर्न थाले ।

तर ३०-४० सिलिण्डरले नपुग्ने भएपछि कार र सुन बेचेर २२५ वटा सिलिण्डर खरिद गरेको उनको भनाइ छ ।

(बिबिसी हिन्दीको सहयोगमा)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय