scheduleबिहिवार बैशाख २३ गते, २०७८

चिनियाँ महिलाले आफ्ना पतिलाई किन खुवाइरहेका छन् यो औषधि ?

एजेन्सी, १५ बैशाख । केही समयदेखि चीनका महिलाले आफ्ना पतिलाई गोप्य रुपमा एउटा औषधि खुवाइरहेको चर्चा भइरहेको छ । पत्नीले आफ्ना पतिलाई गोप्य रुपमा औषधि खुवाउनुको कारण भने अनौठो छ ।

ग्लोबल टाइम्सका अनुसार चिनियाँ महिलाले पतिबाट हुने धोकाबाट बच्न नयाँ तरिका अपनाएका छन् । पतिहरु धोकेबाज नहोऊन् भनेर उनीहरुले अपनाएको नौलो तरिका भने हैरान पार्ने खालको छ ।

समाचार अनुसार महिलाहरुले पतिबाट कुनै धोका नहोस् र अर्की महिलामाथि आँखा नलगाऊन भनेर औषधि खुवाइरहेका छन् । तर उक्त औषधि सामान्य औषधि भने होइन, पुरुषलाई नपुंसक बनाउने औषधि हो ।

चिनियाँ महिलाहरुले आफ्ना पतिलाई गोप्य रुपमा खुवाइरहेको औषधि डायथाइलस्टिबेस्ट्रोल हो । यो औषधि एक प्रकारको सिन्थेटिक एस्ट्रोजन हो जसको सेवनपछि पुरुषको लिङ्ग उत्तेजित हुँदैन ।

यतिबेला महिलाहरुले आफ्ना पतिलाई गोप्य रुपमा डायथाइलस्टिबेस्ट्रोल खुवाइरहेको कुरा चिनियाँ सामाजिक सञ्जालमा पनि निकै भाइरल बनिरहेको छ ।

विचाट (WeChat) मा पोष्ट गरिएको एक लेख अनुसार केही महिलाले अनलाइनमा उक्त औषधि अर्डर गरी गोप्य तरिकाले खाना वा पेय पदार्थमा मिलाएर आफ्ना पतिलाई दिँदै आएका छन् । औषधि खाएपछि केही धोकेबाज पतिले आफ्ना पत्नीलाई धोका दिन छोडेको पनि बताइन्छ ।

लेखमा पतिलाई गोप्य रुपमा औषधि खुवाइरहेका केही महिलाको प्रतिक्रिया समेत समावेश गरिएको छ । त्यसमध्ये एकजना महिलाले औषधि निकै प्रभावकारी भएको प्रतिक्रिया दिएकी छन् ।

‘जब मैले यो औषधि श्रीमानलाई खुवाइन थाले तब दुई हप्तामा नै यसको असर देखिन थाल्यो’, एक महिलाले भनिन् । औषधि खाएपछि आफ्ना पति घरमै बस्ने र आफूलाई राम्रो व्यवहार गर्ने गरेको पनि ती महिलाको भनाइ छ ।

हाल WeChat मा पोष्ट गरिएको लेख भाइरल भएपछि अनलाइन फ्ल्याटफर्मबाट डायथाइलस्टिबेस्ट्रोल हटाइएको छ ।

तर जियाक्सआङ्ग मर्निङ हेराल्डका अनुसार केही स्थानमा अझै पनि उक्त औषधि गोप्य तरिकाले सेतो पाउडरको रुपमा बिक्री भइरहेको छ । गन्धहीन र तुरुन्त पानीमा घुल्ने सो औषधिलाई एक महिनाभित्र एउटा पसलबाट १०० जनाले किनेको समाचारमा उल्लेख छ ।

पसलमा काम गर्ने एक व्यक्तिका अनुसार सेवन गरेको १५ दिनमा नै औषधिको असर देखिन्छ । तर औषधि खान छोडेको २१ दिनपछि पुरुषको लिङ्ग पुन: उत्तेजित हुने पनि ती व्यक्तिको भनाइ छ ।

यसैबीच चीनका वकिलले औषधिका कारण पतिलाई कुनै शारीरिक हानि भयो भने आफूमाथि फौजदारी कानुन लाग्ने कुरालाई पत्नीले ख्याल गर्नुपर्ने बताएका छन् । त्यस्तै औषधि बेच्ने पसलेमाथि पनि कानुनी कारबाही गर्नुपर्ने उनीहरुको जोड छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय