scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सांसद गायब भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा, १५ वैशाख । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि बैठक स्थगित गरिएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र पाएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् । राष्ट्रिय जनमोर्चाका तीन सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिएकी थिइन् ।

सोही पत्रको आधारमा उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेको सभामुख अधिकारीले जानकारी दिए ।

प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी छन् ।

अवस्था अज्ञात रहेको भनिएको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पताल भर्ना भएको खबर बाहिरिएको छ । सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुखलाई निवेदन दिएपछि शाहीका स्वकिय सचिव मिलन हमालले अस्पताल भर्ना भएको सूचना सार्वजनिक गरेका हुन् ।

आजै शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी छिन् ।

सचेतक थापाका अनुसार शाहीको अवस्था अज्ञात रहेको, फोन नउठेको र कोठामा ताला लगाएको छ । सचेतक थापाले सांसद शाहीका स्वकिय सचिव हमालले पनि मंगलबारदेखि सम्पर्क नभएको बताएकी थिइन् ।

यता, सांसद खिमविक्रम शाही चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएको उनका स्वकीय सचिव मिलन हमालले जिकिर गरेका हुन् । उनले सांसद शाही दिउँसो १२ बजे अचानक बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएको दावी गरेका हुन् । हमालका अनुसार सांसद शाहीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयमा शाही अस्पताल भर्ना भएपछि आजै मतदान भए प्रस्ताव फेल हुन सक्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय