scheduleबिहिवार बैशाख २३ गते, २०७८

कोरोनासँगै सामाजिक बहिष्करण बढ्दै, ७० वर्षीय वृद्धले आफै बोके श्रीमतिको शव

एजेन्सी, १६ बैशाख । भारतमा कोरोना भाइरसबाट उत्पन्न संकटलाई झल्काउने गरी खिचिएका केही तस्बिर तथा भिडियो हृदयविदारक छन् ।

भारतभर कतै बेडका कारण, कतै अक्सिजन नपाएर र कतै औषधिको अभावमा संक्रमितहरु छटपटिरहेको देखिन्छ । यति मात्रै होइन । मृतकको अन्त्येष्टिका लागि समेत मसानघाटमा ठाउँ छैन । अवस्था दिनप्रतिदिन भयावह बनिरहेको छ ।

संकटसँगै मानवताको पनि परीक्षण भइरहेको छ । सामाजिक बहिष्कारका घटना पनि बढ्न थालेका छन् ।

यसैबीच बाहिर आएका दुई तस्बिर मन रुवाउने खालमा छन् । ती तस्बिरमा मानवताको खिल्ली उडिरहेको देख्न सकिन्छ। संकटमा मानिसको कठोर व्यवहारलाई झल्काउने दुबै तस्बिर उत्तर प्रदेशका ७० वर्षीय एक वृद्धका हुन् ।

ती वृद्धलाई एउटा तस्बिरमा कोरोना संक्रमित श्रीमतिको शव साइकलमा राखेर एक्लै हिडेको देख्न सकिन्छ । अर्को तस्बिरमा साइकलबाट शव खसेको र नजिकै उधोमुन्टो गरेर वृद्ध बसेको देख्न सकिन्छ ।

भारतीय समाचार माध्यम अनुसार गाउँलेहरुले संक्रमित श्रीमतिको शव स्थानीय घाटमा जलाउन नदिएपछि ७० वर्षीय तीलकधरी नामका ती वृद्धले साइकलमा शव बोक्न बाध्य भएका हुन् ।

उक्त घटना लखनऊबाट २७५ किलोमिटर टाढा रहेको अम्बेरपुर गाउँमा घटेको समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार सरकारी अस्पतालले तीलकधरीकी श्रीमतिको शव एम्बुलेन्समा हालेर गाउँमा पठाएको थियो । तर स्थानीयले कोरोना भाइरस फैलिने भन्दै शव जलाउन दिएनन् ।

सबै गाउँले मिलेर स्थानीय घाटमा शव जलाउन नदिएपछि तीलकधरीले नजिकैको साइ नदीमा लगेर श्रीमतिको अन्त्येष्टि गर्ने निधो गरे तर शव कसैले उठाउन मानेनन् । यही भएर उनले साइकलमा हालेर शव बोक्नु परेको थियो ।

तीलकधरीलाई कसैले पनि सहयोग नगरेपछि र शव जलाउन नदिएपछि स्थानीय प्रहरीले अस्तक्षेप गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय