scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

मोदी–शाह समूह थोत्रो भइसक्यो, अविलम्ब बिदा गरौं

२८ नोभेम्बर २०१५ मा आयोजित दिपावली पार्टीमा मोदी-शाह । तस्बिरः राजेश कुमार/द टेलिग्राफइन्डियाबाट

 

सरल तरिकाले अब यो भन्न आवश्यक छ– नरेन्द्र मोदी अब जान जरुरी छ । अमित शाह जान आवश्यक छ । अजयमोहन बिष्ट अर्थात् योगी आदित्यनाथ जान आवश्यक छ । निष्ठाहीन मानिसको यो असक्षम समूह जो मोदीले आफ्नो वरिपरि मन्त्रीको रुपमा जम्मा गरेका छन्, यी सबका सब बिदा हुन जरुरी छ ।

हाम्रो अस्तित्व र जीवन रक्षाका लागि देशले कुनै सुधार तथा तीव्र मर्ममसम्भार कार्यसञ्चालन शुरुवात गर्न यी मानिसहरु तत्काल शक्तिशाली पदहरुबाट तुरुन्तै बिदा हुन आवश्यक छ । धेरै ढिलो भइसक्यो, आजै बिदा हुनुपर्दछ, हिजै हुनु धेरै राम्रो हुन्थ्यो ।

सन् २०१४ को मेमा जब नरेन्द्र मोदीले प्रधानमन्त्रीको पहिलो सपथ लिएका थिए, उनका भक्त, उपासक र प्रसंशकहरुले उनलाई अनेक प्रकारका फुँदा र बुँदाहरुले महिमामण्डित गरेका थिए । धर्मनिरपेक्षता, मानव अधिकार र आर्थिक न्यायजस्ता पुराना मोहको कारणले शंका र विरोध गर्नेहरुको जग हल्लाउँदै उनीहरुले आफ्ना मसिहाको गौरवपूर्ण बचाउ गरेका थिए ।

यी मानिस आफैंबाट आएका ती मुख्य घोषणा र उनका अनुयायीहरुको नयाँ हलचलबारे एकपटक सम्झना गरौं । मोदी आफू पनि खाँदैनन् र अरुलाई पनि खान दिँदैनन भनिन्थ्यो । उनी आफू पनि भ्रष्टाचार गर्दैनन्, अरुलाई पनि गर्न दिँदैनन भनिन्थ्यो । तिनले थोरै मानिसलाई साथमा लिएर गाडी हाँक्लान् तर हामी सबैलाई साँचो अर्थमा प्रगतितिर लैजानेछन् भनिन्थ्यो । मानव अधिकार र पर्यावरणीय संरक्षण भारतलाई साँचो आर्थिक शक्ति बन्नका लागि बाधक हुन, लाखौं मानिसलाई गरिबीबाट बाहिर निकालेर उनले साँचो मानव अधिकारको उदाहरण पेश गर्नेछन् भनिन्थ्यो ।

मोदी शासनका प्रारम्भिक दिनहरुमा हामीले देशभरि यस्तै अतिशयोक्तिपूर्ण प्रसंशाहरु सुन्यौं । उनी धेरै शिक्षित छैनन् तर उनमा स्थितिलाई बुझ्ने अद्वितीय क्षमता छ भनियो । यस्ता सबै प्रसंशाले उनलाई बोसका रुपमा चित्रण गर्थे । उनको गुजराती कार्यदक्षता बयानको पाटो छँदै थियो ।

उनको तन्नेरीपन अचम्मको छ भनिन्थ्यो । उनी बिरलै सुत्छन्, हरबखत कर्मचारीतन्त्रको कुर्र्सी मुनि आगो बालिरहन्छन् भनिन्थ्यो । उनी बढो समयप्रिय छन्, हरेक काम इनटाइम गर्छन्, फाइलहरु कहिँ कतै जमेर बस्न पाउँदैनन् भनिन्थ्यो । उनीलाई दूरदृष्टि र जोड दिनु पर्ने कार्यहरुको राम्रो हेक्का भएको मानिस भनिन्थ्यो ।

विश्वका शक्तिशाली सहकर्मीहरुसंग उनी कति राम्ररी, सिधै र सौहाद्रपूर्ण ढंगले जोडिन सक्दछन् भनिन्थ्यो । उनी शक्तिको सवलतासहित चीन र पाकिस्तानसंग व्यवहार गर्न सक्दछन्, उनीहरुले उनका कमजोरीहरुको कुनै भेउ पाउने छैनन् भनिन्थ्यो ।

बितेका ७ वर्षमा मोदीलाई सुसज्जित गर्न प्रयोग भएका यस्ता यावत बस्त्र, पगरी र आभुषणहरु झुत्राझुत्रा भएका छन् । यहाँसम्म कि उनको ‘ब्राण्ड विस्तार’ को दिमागी चातुर्यता, उनकै वाचाहरु चकनाचुर बन्न पुगेको छ । उनको शासनकालमा भ्रष्टाचार रकेटको गतिमा उडेको छ । संस्थागत झुठ र अपराधिक क्रियाकलापलाई छुट दिने सञ्जालीकरण शब्दमा वर्णन गर्न नसकिने खालको छ ।

७ वर्षभन्दा बढी समयदेखि अल्पतन्त्रको हितमा लिइएका निर्णयहरुले हाम्रो अर्थतन्त्रलाई चौपट पारेको छ । मोदीको नेतृत्वमा हामी पाकिस्तानले समेत गिज्याउने भएका छौं । प्रसिद्ध बालाकोट बम आक्रमणमा रुखमा बम हानेर पाकिस्तानले हाम्रो पाइलटलाई नियन्त्रणमा लिएको थियो । यस बीचमा हामी चीनद्वारा बारम्बार अपमानित भएका छौं ।

र, आज अन्त्यमा स्वतन्त्र भारतले सामना गर्नु परेको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति व्यवस्थापन गर्ने १ वर्षे समय र अवसर पाएर पनि हामी त्यससँग मानसिक तथा भौतिक तबरले घुँडा टेक्न बाध्य भएका छौं । मोदीका जानाजान वा अन्जान शासकीय कमजोरीहरुको सूची इतिहासकै भयावहताको प्रमाण बनेको छ ।

कुनै पनि लोकतन्त्रमा यी दुई मध्ये कुनै एक- विमुन्द्रीकरण र चिनियाँ आक्रमणप्रतिको लापरवाही सरकार पतनको कारण बन्नु पर्दथ्यो । तर यहाँ यस्तो भएन किनकी यी भन्दा ठूल्ठूला गढबढीहरु मच्चाइए । यदि मोदी र शाहसंग त्यस्तो कुनै क्षमता, ताकत वा दूरदृष्टि हुन्थ्यो भने आज हाम्रो लोकतन्त्र यति खोक्रो हुँदै, निरन्तर खोक्रो हुँदै जाँदैनथ्यो ।

सन् २०१४ मा मिष्टर मसिहा र उनका अनुचरहरुको समूह शक्तिमा आउनुको एक मात्र कारण, अरु केही नभएर भारतलाई अधिनायकवादी हिन्दूराज्य बनाउनु मात्र थियो । मोदी र उनको समूहले यही एक मात्र उद्देश्यका लागि आफूलाई समर्पित गरे, देशका व्यापारिक घरानाले उनीहरुको यो इरादालाई सबलीकरण गरे । आन्तरिक तथा अन्तर्राष्ट्रिय छवि बचाउका दृष्टिकोणले मात्र क्रियाशील लोकतन्त्रको नक्कली कुरा गरियो, जो यो समूहको कुनै इरादा नै हैन ।

कुनै तानाशाहको स्वामित्वमा रहेको रंगशालमा तपाई दुई टोली भएर खेलको नियम बाँध्न र खेल्न सक्नु हुन्छ तर जीत वास्तवमा तानाशाह टोलीको मात्र हुन सक्नेछ । मोदी र शाह सन् २०१४ मा सत्तामा आएपछि भारतीय लोकतन्त्रको रंगशाला कब्जा गर्न मिलेर प्रयत्न गरिरहेका छन् ।

यो विशेष परियोजनालाई मद्दत गर्न मिडियाका ठूला खण्डहरुमार्फत् छवि–व्यवस्थापनको काम गरियो । विशेष चुनाबी गठबन्धनलाई आकारित गरेर दिउँसै चुनावी परिणामहरु अपहरित भए । अनुसन्धानमुलक राजकीय संस्थाहरु विरोधीलाई सिध्याउने र सत्तारुढ पार्टीको सेवा गर्ने हतियार बने । यी सबै कुराको निष्पक्ष जाँच र सम्परिक्षण गर्न सर्वोच्च अदालतले मौनताको मुकुट पहिरिएर अस्वीकार गरिरह्यो ।

विभिन्न धार्मिक समुदायका मानिसबीच घृणा र अविश्वासको जानाजान प्रशारण, कश्मिर स्वायत्तताको अपहरणमार्फत् बनाना गणतन्त्रको अभ्यास, कश्मिरमा असैह्य लकडाउन, एनआरआर र सिएएजस्ता घिनलाग्दा कानुनहरुको निर्माण, अयोध्या निर्णय, कोरोगाउँ दमन र गिरफ्तारी, यी सबै कुरा राज्यको बिषाक्तीकरण र ढुसीकरणका प्रमाण हुन भन्न आज कसैलाई असजिलो छैन ।

यो ढुसीले भाइरसबाट घातक आक्रमण हुने कतै कुनै शंका गरेको थिएन । यो सरकारले यत्रो ठूलो महाव्याधीलाई भगवानले दिएको अवसरका रुपमा सरल अर्थमा लिएको थियो । यस्तो अवसर जसलाई शासनले विरोधीलाई तह लगाउन, विरोधी सरकार भएका राज्यका सरकार गिराउन, मतभेदहरुलाई फराकिलो पार्न र चुनाव जित्न मात्र प्रयोग गर्न चाह्यौं ।

आज स्थिति दयनीय तबरले नियन्त्रणभन्दा बाहिर गइरहेको छ । तर, सरकारको मुख्य चिन्ताको काम भने धारणा व्यवस्थापन बन्न पुगेको छ । फ्रान्सेलीहरुको एउटा भनाई छ कि ज्वरोलाई तल झरेको देखाउनु छ भने थर्मोमिटरलाई फोड्नु पर्दछ । हाम्रो स्थितिले हामीलाई आज थर्मामिटर फोडनु पर्ने अवस्थामा पुर्याएको छ ।
र त्यो भनेको अरु केही नभएर मोदी र शाहलाई शासनसत्ताबाट अबिलम्ब बिदा गर्नु नै हो । मोदी–शाह अब जान आवश्यक छ ।

कोलकाताबाट प्रकाशित हुने द टेलिग्राफबाट संक्षेपीकरणसहितको भावानुवाद ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय