scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

त्यसो गरेको भए के बुबा बाँच्नु हुन्थ्यो ?

बर्खा दत्त

अर्बुद रोग विशेषज्ञलाई क्यान्सरले पक्रेजस्तो वा चर्म रोगविद्ले छालाको रोगसँग संघर्ष गर्नु परेजस्तो यो हप्ता म विगत १५ महिनादेखि आफैंले गरेका रिपोर्टिङको कथा बनेँ ।

कोभिड–१९ बीच मैले मेरा बुबा एस.पी. दत्तलाई गुमाएँ । यो महामारीको कारण अहिलेसम्म अरु परिवारमा मात्र भएको क्षति आफैंले अनुभव गरेँ । यसले सृजना गर्ने उदासी, आवेग, कुन्ठा र उजाडपनका प्रत्येक पललाई आफैं आत्मसात गरेँ ।

मेरो बुबा एयर इन्डियाको पूर्व अधिकारी हुनुहुन्थ्यो । तर, वास्तविक हृदयले एकजना नवप्रवर्तक हुनुहुन्थ्यो । उहाँ कहिलेकाँही मेसिनहरू आफैं बिग्रार्ने इच्छा गर्नु हुन्थ्यो ताकी त्यसलाई फेरि नयाँ तरिकाले इन्जिनियरिङ गर्ने आनन्द उठाउन सकियोस् । उहाँका आँखा सधै विज्ञानप्रतिको उत्सुकता र आशावादले भरिएका हुन्थे ।

मेरो बुबा एक अनपेक्षित महिलावादी हुनुहुन्थ्यो, जसले हामी दिदीबहिनीलाई उड्नका लागि पखेटा दिनुभयो । हाम्रो विचार र भावनाको भिन्नै कुनै माग छैन भने जस्तो गरेर उहाँले जहाजहरूको क्राफ्टिङ र रेलहरूको निर्माणमा घण्टौं लगाउनु भयो । उहाँले बारम्बार हामीसँग यो कसम खानु भयो कि जब समय आउनेछ, हामी अनाथ बच्चाहरूको संस्थालाई अनुदान गर्नेछौं ।

कोभिड–१९ को जस्तो शोकको समयमा पनि मायालु मित्रहरूको आश्वसानले आफूलाई बदल्न र जिवाणुको प्रकोपबाट लुक्न सकिने रहेछ । यसले तपाईको मष्तिष्क र मुटुमा हथौडाले चोट हान्नुको साटो पेचकशले जस्तो ससाना प्वालहरू टाल्दो रहेछन् । बिशेषतः आफ्नै निर्णयका ‘यदि’ र ‘तर’ बाट लखतरान भएको बेलामा ।

बुबाको मृत्यु भएको ७२ घण्टा राम्ररी पुगेको छैन, शुक्रबार बिहान म यो लेख लेख्दैछु । जब म पलपल बुबाको त्यो युट्युब च्यानलमा पुग्छु, जुन यान्त्रिकी सृजनशीलताका लागि समर्पित थियो, म आफैं असह्य आँशुमा डुबेकी हुन्छु । भन्न बाँकी रहेका शब्दहरूले, गर्न बाँकी रहेका कामहरूले, पूर्वस्थितिमा फर्किनु परेका पछुतोले घण्टौं मलाई लखेटिरहन्छ ।

यहाँसम्म कि मैले हिन्दूस्तान टाइम्समा प्रकाशित जुम्बो–७४७ को अन्त्यबारे उहाँको लेखसम्म पढाउँन भ्याएकी थिइनँ, जुन प्रिन्ट संस्करणमा हेर्न उहाँ बहुतै उत्सुक हुनुहुन्थ्यो ।

अरु थुप्रै जेष्ठ नागरिकजस्तै बुबा पनि तुरुन्तै अस्पताल जान मान्नु भएन । उहाँका जीवनका अन्तिम केही दिनहरू जेजस्ता रहे, त्यस्तो अवस्थाका लागि आफ्नो परिवारलाई उहाँले भयग्रस्त बनाउन चाहनु भएन । प्रारम्भमा चिकित्सकहरूको भनाई थियो कि उहाँको संक्रमण हल्का खालको हो । उहाँको अक्सिजन लेभल पनि राम्रो छ भनिएको थियो । उनीहरूको सल्लाह थियो कि उहाँलाई सजिलो ठाउँमा राखेरै उपचार गर्न सकिन्छ ।

उहाँ घरमै भए पनि मेदान्त अस्पतालका राम्रा डाक्टर समूहको निगरानीमा हुनुहुन्थ्यो ।

तर, जब पीडा आयो, अचानक अनपेक्षित ढंगले आयो । ज्वरो बढ्ने र अक्सिजन लेभल घट्ने दुवै एकै चोटी भयो । हामी आत्तियौं । मेदान्त अस्पतालको सार्वजनिक एम्बुलेन्स पर्खिंदा ढिलो होला भनेर हामीले निजी एम्बुलेन्स बन्दोबस्त गर्‍यौं ।

एक सिलिन्डर अक्सिजन र ड्राइभर मात्र भएको एउटा पुरानो मारुतीमा हामी मेदान्त पुगेका थियौं । ती चालकले मलाई अक्सिजन सिलिन्डरले काम गर्दछ भनेर आश्वस्त पार्न खोजेका थिए । उनले मारुतीको गियर अझ बढाएका थिए ।

म अगाडिको सीटमा थिए । बुबा र उहाँको सहयोगी पछाडिको सीटमा । उहाँ स्लाबमा असजिलो गरी सुत्नु भएको थियो, जब कि हामीलाई ट्राफिक जाम छिचोलेर अस्पताल पुग्न १ घण्टा लाग्यो । दिल्ली पुलिसलाई जति नै बिन्तीभाउ गरे पनि एम्बुलेन्सका लागि भिन्नै हरित लेनको व्यवस्था हुन सकेन । बरु उल्टै ठाउँठाउँमा कर्फ्यू लागू गर्न लगाएका ब्यारिकेटहरू थिए ।

जब हामी अस्पताल पुग्यौं, बुबाको अक्सिजन लेभल तीव्र ढंगले तल झरेको थियो । चिकित्सकहरूको विश्वास थियो कि उहाँलाई अबिलम्ब आपतकालीन सेवा र आइसियु कक्षको आवश्यकता छ । मैले यहाँ आएर थाहा पाएकी मारुतीमा भएको सिलिन्डरमा जुन मास्क थियो, त्यो अक्सिजनको मात्र तीव्र प्रवाहित गर्ने खालको थिएन ।

मेदान्तका चिकित्सक र नर्सहरूको निर्विवाद सेवा जसका लागि म सधैं आभारी छु । त्यहाँ केही दिन भेन्टिलेटरमा बिताएर पनि उहाँ बच्न सक्नु भएन ।

जब हामी अस्पताल नजिकको घाटमा उहाँलाई दाहसंस्कार गर्न गयौं, त्यो दृष्यको थुप्रै रिपोर्टरहरूसँगै म बारम्बार साक्षी भइसकेकी थिएँ । उस्तै भीड र उस्तै स्थान । कम्तीमा अरु ३ परिवारलाई हामीसँगै एउटै टोकन नम्बर दिइएको थियो । तर्कवितर्क शुरुवात भयो । झगडाजस्तै भयो । मेरी दिदीले पुलिसलाई फोन गरिन् । पुलिससँग मद्दत मागिन् ।

एक पत्रकारका रुपमा यी र यस्ता थुप्रै प्रश्नहरू यस अघि नै मैले बारम्बार उठाइसकेकी थिएँ । यसपटक म आफैं एक छोरीका रुपमा स्थितिको भोक्ता थिएँ ।

जस्तो कि यदि खोप कार्यक्रम बेलैमा शुरुवात हुन सकेको भए के मेरो बुबा बाँच्नु हुन्थ्यो होला ? उहाँले खोपको पहिलो मात्र लिइसक्नु भएको थियो, यो हप्ता दोस्रो मात्रा लिनु थियो ।

के हामीले राम्रो एम्बुलेन्स जसमा अक्सिजन मास्कको प्रबन्धन हुन्थ्यो, पर्खेर भए पनि त्यही प्रयोग गर्नु पर्थ्यो ? त्यसो गरेको भए के बुबा बाँच्नु हुन्थ्यो ?

तर, मलाई हामीले व्यहोरेको अभिशापपूर्ण क्षतिको मात्र हैन, पाएको अवसरबारे पनि थाहा छ । कम्तीमा पनि बुबाले आफ्नो जीवनको लागि अन्तिमसम्म लड्ने मौका पाउनु भो । हज्जारौं भारतीयले यति अवसर पनि पाउँदैनन् ।

म ती मानिसको कथा दिनहुँ भन्छु जो बन्द अस्पतालको गेट बाहिर मर्दछन् । जसका लागि न कुनै चिकित्सकीय स्पेश उपलब्ध हुन्छ न अक्सिजन ।

आज म टुहुरी भएकी छु । तर, अझै भारतीय राज्यले टुहारा बनाएका कयौं भन्दा भाग्यमानी नै छु ।

(प्रसिद्ध भारतीय पत्रकार दत्तको आफ्नै बुबामाथिको अबिच्युरी द हिन्दूस्तान टाइम्सबाट)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय