scheduleबिहिवार बैशाख २३ गते, २०७८

वामपन्थी लफ्फाजी, षडयन्त्र सिद्धान्त र सुतुरमुर्गी नेताहरू

डम्बर खतिवडा

सन् १९६३ नोभेम्बर २२ बिहान अमेरिकी राजनीतिमा एक आकस्मिक घटना भयो । इतिहासले अझै राम्ररी बिर्सन नसकेको त्यो घटनापछाडि तथ्यभन्दा धेरै आशंका थिए । घटनापछि घटनाक्रम थोरै देखियो भने विश्लेषण अत्यन्तै धेरै भए ।

३५औं राष्ट्रपति जोन एफ केनेडी आफ्नी पत्नी र निकटस्थ सहयोगीसहित टेक्सास राज्यको डलास शहरमा थिए । उनी त्यो बेला चर्चा, लोकप्रियता र राजनीतिक ग्लेमरको चरमचुलीमा थिए । पहिलो कार्यकालका लागि राष्ट्रपति जितेका र फेरि एक चुनाव जित्ने अपेक्षा गरिएका केनेडीलाई चमत्कारिक राजनीतिज्ञ मानिन्थ्यो ।

कसैले केनेडीमाथि गोली चलायो । उनी आफू बसेको होटलबाट एउटा सभालाई सम्बोधन गर्न निस्किएका थिए । भव्य कारगेट सुरक्षा थियो । तर, सडकको भीडबाट गोली चल्यो । पछाडिबाट केनेडीको टाउकोमा लाग्यो । गोली लागेको आधा घण्टा नबित्दै डलास सिटी हस्पिटलमा उनलाई मृत घोषणा गरियो ।

त्यो व्यक्ति को थियो, जसले केनेडीमाथि गोली चलायो ? उसको उद्देश्य के थियो, कुन सोच र मनोदशाबाट गोली चलायो ? कहाँनेरबाट गोली चलायो ताकी त्यत्रो सुरक्षा र भीडलाई छलेर केनेडीकै टाउकोमा गोली लाग्यो ? केनेडीको हत्याले कसलाई के फाइदा वा बेफाइदा हुन्थ्यो, त्यो कसैलाई थाहा थिएन । मानौं कि त्यो बिलकुलै आकस्मिक र अकल्पनीय घटना थियो । त्यो हत्या र राजनीतिक घटनाक्रमबीचमा पनि कुनै संगति थिएन । केनेडीलाई मार्नुपर्ने त्यतिखेर न कुनै कारण देखिन्थ्यो न कुनै त्यस्तो सशस्त्र समूह नै देशमा थियो ।

फेरि कसले किन गोली चलायो ? यसको उत्तर आजसम्म कसैले दिएको छैन । समय र घटनाले दिन नसकेका उत्तरहरू इतिहासले दिन्छ भनिन्छ । तर, यस घटनामा इतिहासले पनि कुनै उत्तर दिन सकेन ।

हो, हत्यापछि एक व्यक्ति भीडबाट पक्राउ गरिए । हार्भे ओस्वाल्ड । भनियो कि उनी जलसैनिक थिए । मार्क्सवादी थिए । कम्युनिष्ट विचारका समर्थक थिए । यी कुनै पनि आरोप पुष्टि भएनन् । बरु केनेडी हत्याको २ दिनपछि हार्भेको समेत हत्या भयो । पुलिस चौकीमा शहरको नाइट क्लबको मालिक ज्याक रुबीले सबैका अगाडि दिनदहाडै हार्भेमाथि गोली चलायो । उसले ‘आफ्नो प्रिय राष्ट्रपतिको हत्या सहन नसकेर हत्यारासँग बदला लिएको’ बयान दियो ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

 

केनेडीका उपराष्ट्रपति जोहन्सनले छानबिन आयोग बनाए । भूतपूर्व प्रधानन्यायधीश अर्ल बारेनको संयोजकत्वमा बनेको हुँदा त्यसलाई ‘बारेन कमिसन’ भनियो । तर बारेन आयोगले पनि कुनै तथ्य सार्वजनिक गर्न सकेन । कसैलाई कारबाहीको दायरामा ल्याउन सकेन । सन् १९६४ मा बारेन कमिसनले अनेक विश्लेषणहरू गर्दै प्रतिवेदन दियो तर कुनै ठहर गर्न सकेन ।

विश्व राजनीतिमा षडयन्त्र सिद्धान्त (कन्सपीरेसी थ्योरी) यही बारेन कसिमनको योगदान थियो । बारेन कमिसनले कुनै भरपर्दो तथा विश्वासनीय सत्य, तथ्य, दसी, प्रमाण बाहिर ल्याउन नसकेपछि तर्क भने खुबै गर्‍यो । आयोगले भन्यो कि– ‘हरेक ठूलो घटनाका पछाडि कुनै ठूलो षड्यन्त्र हुन्छ । षड्यन्त्र विना घटना हुँदैन । यदि घटना भयो भने पक्का षड्यन्त्र थियो ।’

त्यस्तो षड्यन्त्र कस्ले किन गर्‍यो त ? बारेन कमिसनले भन्यो– ‘हरेक ठूलो घटनाका पछाडि ठूलो षड्यन्त्र हुन्छ, त्यस्तो षड्यन्त्र सबैभन्दा ठूलो शत्रुले मात्र गर्न सक्दछ ।’ अमेरिकाको सबैभन्दा ठूलो शत्रु त्यतिखेर सोभियत संघ थियो । यसरी घुमाउरो गरी अमेरिकनहरू यो निष्कर्षमा पुगे कि केनेडीको हत्यामा पक्कै पनि सोभयित संघको षड्यन्त्र हुनु पर्दछ ।

षड्यन्त्र सिद्धान्त यसरी अमेरिकीहरूले प्रतिपादन गरे तर कम्युनिष्टहरूले यसलाई झन धेरै मन पराए । झन धेरै प्रयोग गरे । सोभियत संघमा कम्युनिष्ट प्रोपागण्डा विभाग र केजिबीको विशेष विङ्स नै बन्यो, जसले त्यहाँ हुने हरेक घटनापछि ‘यसको पछाडि कसको षड्यन्त्र छ ?’ भनेर बुक्लेट निकाल्थ्यो । जनतालाई के लाथ्ग्यो भने पक्कै सोभियत संघविरुद्ध षड्यन्त्र छ । त्यस्तो षड्यन्त्र कसले गर्न सक्दछ ? अमेरिका, पुँजीवादी विश्व र सिआइएले मात्र गर्न सक्दछ ।

अब सोभियत संघले बढो गज्जबको उत्तर फेला पारेको थियो, सोभियत संघमा जे हुन्छ, त्यो सबै अमेरिका र सिआइएले गर्दा हुन्छ । बाढी आयो, सिआइएले गर्दा आयो, कृषि उत्पादन घट्यो र भोकमारी लाग्यो, सिआइएले गर्दा लाग्यो, उद्योग धन्दा चौपट भए, बेरोजगारी बढ्यो, सिआइएले गर्दा भयो, कहिँकतै विरोधी समूह, प्रदर्शन वा पर्चाबाजी देखियो, सिआइएले गर्दा देखियो ।

षड्यन्त्र सिद्धान्तको सरल अर्थ यही हो कि यो सिद्धान्तले षड्यन्त्रभन्दा बाहिर कहिल्यै कुनै घटना हुँदैन भन्ने विश्वास गर्दछ । अझ यसो भनौं षड्यन्त्र गर्नु, गर्न सक्नु नै आक्रमण र प्रतिरक्षाको सही नीति हो भन्ने ठान्दछ । हरेक घटनामा षड्यन्त्र देख्नु र हरेक घटनालाई षड्यन्त्रबाटै डिल गर्न खोज्नु षड्यन्त्र सिद्धान्तको सार हो । षड्यन्त्रभन्दा बाहिर प्रकृति, समाज र मान्छेका कुनै क्रियाकलाप हुँदैनन् भन्ने विश्वास नै षड्यन्त्र सिद्धान्तको बुझाई र विश्वास हो ।

नेपालका तथाकथित वामपन्थीहरू षड्यन्त्र सिद्धान्तमा उत्तिकै विश्वस्त र आस्वस्त छन्, जति बारेन कमिसन र सोभियत केजिबी थियो । पाठकहरूलाई नारायणमान बिजुक्छेको त्यो अन्तर्वार्ता याद होला जसले कोराना अमेरिकाले ल्याबमा बनाएर चीनलाई पहिलो विश्व अर्थतन्त्र हुन नदिन वुहान पठाएको सगौरव विश्लेषण गरेका थिए ।

आफूलाई निक्कै ज्ञानी, अध्ययनशील र पढैया ठान्ने वामपन्थीहरू पनि छन् यहाँ जसले सिधै भन्ने गर्दछन्– कोभिड–१९ भनेको विश्व औषधि पुँजीवादको उत्पादन, षड्यन्त्र हो । विश्व पुँजीवादले नाफाका लागि जे पनि गर्दछ । कोभिड–१९ पुँजीवादको प्रयोजित उत्पादन हो, यो कुनै रोग, महामारी महाब्याधी हैन, सामान्य फ्लुलाई हल्ला पिटाएर विश्व स्वास्थ्य संगठनले विश्व पुँजीवादको सेवा गरेको मात्र हो ।

यस्तो भन्ने आँट मान्छेमा कहाँबाट आउँछ होला ? पक्कै त्यसको स्रोत षड्यन्त्र सिद्धान्त नै हो । नेपालका कम्युनिष्ट आज जुन हालतमा पुगेका छन्, त्यही षड्यन्त्र सिद्धान्तका आदती भएर यस्तो हालत भएको हो यिनको । षड्यन्त्र सिद्धान्तमा हरेक व्यक्ति, हरेक व्यक्तिको विरुद्ध षड्यन्त्र गरिरहेको हुन्छ, यिनीहरूको विश्लेषण बुझाई अझ राजनीति गर्ने को त षड्यन्त्र गर्नु बाहेक कुनै काम नै हुँदैन । कारण र परिणााम सिद्धान्तमा विश्वास गरे पो कुनै सार्थक विश्लेषण र प्रमाणको कुरा आउँछ, विश्वासको कुरा आउँछ । षड्यन्त्रबाहेक अरु कुनै सत्य हुँदैन भन्ने मान्यता नै बनाए पछि अरुका क्रियाकलापमा पनि षड्यन्त्र कै गन्ध आउँछ, आफूले पनि षड्यन्त्र गर्नु पर्ने बाध्यता ठान्दछ ।

नेपालमा कम्युनिष्टहरूको विगत ३ वर्षको कार्यकाललाई हेर्ने हो भने षड्यन्त्र सिद्धान्तको सर्वाधिक प्रयोग भएको अवधिमध्ये हो । राणाकालमा समेत यतिधेरै र छिटोछिटो षड्यन्त्र हुन पाएन । किनकी त्यहाँ जंगबहादुर, चन्द्र शमशेरजस्ता लामो समय शासन गर्ने र दीगो शासक पनि बने, जसले अरुलाई षड्यन्त्र गर्न सक्ने ठाउँ नै छोडेनन् ।

वामपन्थको विश्वव्यापी रोग के हो भने यसले आफूले बोलेको, प्रतिवद्धता गरेको कुनै कुराप्रति नैतिक भावनाको अनूभति गर्दैन । राजनीतिक स्वार्थका बेला एउटा परिस्थितिमा भनियो, सकियो, एउटै कुरा सधै सम्झेर कहाँ हुन्छ भन्ठान्दछ । यस अर्थमा वामपन्थ विशेषतः साम्यवादी वामपन्थ नैतिक हिसाबले दक्षिणपन्थभन्दा पनि कमजोर हुन्छ । दक्षिणपन्थीमा परम्परावादी लोकलाज हुन्छ । धर्म र ईश्वरको डर हुन्छ । ईश्वरको डर हुन्छ । स्वर्ग र नर्कको डर हुन्छ । पाप, पुण्यको डर हुन्छ । तसर्थ, दक्षिणपन्थीहरू ठीक हुन् वा गलत थोरै नैतिक चाहिँ हुन्छन् ।

तर, वामपन्थीमा भने त्यही एउटा षड्यन्त्र सिद्धान्तप्रति यति गहिरो विश्वास हुन्छ कि राजनीतिक स्वार्थका लागि जे बोले पनि, जे गरे हुन्छ, त्यसबाट अलिकति राजनीतिक फाइदा चाहिँ हुनु पर्दछ । ‘राजनीतिमा सत्ताबाहेक सबै थोक भ्रम हो’ भन्ने मान्यतामा विश्वास गरेपछि सत्ता पनि षड्यन्त्र गरेरै प्राप्त गर्नु पर्‍यो, सत्ता जोगाउन पनि षड्यन्त्र नै गर्नु पर्‍यो । गत आम निर्वाचनदेखि अहिलेसम्मका ओली र उनका समकक्षी कम्युनिष्ट नेताहरूका भाषण, प्रवचन, आश्वासन र घोषणापत्रमाथि ध्यान दिएर तुलनात्मक अध्ययन गर्ने हो भने यो कुरा सजिलै पुष्टि हुन्छ ।

रमाइलो कुरा के छ भने– यहाँ षड्यन्त्र सिद्धान्तको बिगबिगी वामपन्थी पार्टीहरूमा मात्र छैन, गैरवामपन्थी, लोकतान्त्रिक तथा वैकल्पिक शक्ति भनिएका पार्टीहरूमा समेत उत्तिकै छ । यहाँ कसैले कसैलाई विश्वास नै गरिरहेको हुँदैन ।

मानौं कि अरु पार्टीमा बुढा नेता व्यापक भए, पदलोलुपता व्यापक भयो, विकेकशील–साझामा २ वटा अध्यक्ष किन चाहिएको होला ? यसको रहस्य पनि त्यही हो– षड्यन्त्र सिद्धान्तप्रतिको विश्वास । एक्लै छोडीदिने हो भने त्यसले के गर्ला, के गर्ला ? सबैतिर आफ्ना मान्छे राख्न थाल्ला ? आफ्ना मान्छेलाई टिकट दिन थाल्ला ? आफ्ना मान्छेलाई अगाडि बढाउला ? मौका पर्‍यो र शक्तिशाली हुँदै गयो भने आफैंलाई सिध्याउला ? अनि कसरी दिने ? अर्थात् आशंका विश्वासमा हैन, षड्यन्त्रमा छ । षड्यन्त्र गर्छ, गर्छ भन्ने पूर्व मान्यता छ । त्यसले षड्यन्त्र गर्नु अगाडि नै मैले षड्यन्त्र गर्न सके भने मात्र टिक्न सक्दछु भन्ने पूर्व बझाई छ ।

कम्युनिष्टहरू त षड्यन्त्र सिद्धान्तले एक हदसम्म पिँधमा पुगेका छन् अहिले तर त्यही सिद्धान्तले खेल्ने ठाउँ जनता समाजवादी पार्टीमा पाएको छ । ओलीले भएभरका षड्यन्त्र सिद्धान्त र सीप नेकपालाई आफ्नो होल्डमा राख्न प्रयोग गरे, पुरै त सकेनन्, अलिकति भने होल्ड गरिछाडे । एमालेको ब्राण्ड र चिन्ह पाउने भएपछि उनी आफूभित्रको षड्यन्त्रमा थोरै मत्थर भएका छन्, भएभरको षड्यन्त्र अहिले जसपातिर केन्द्रित गरेका छन् ।

जसपा सिध्याउने के-के गर्न सकिन्छ, सबै षड्यन्त्र गर्ने, कि त जसपालाई सिध्याउनु पर्‍यो कि त कुनै दिन आफूलाई यही पार्टीले सिध्याउँछ भन्ने बेतुकको ओली एण्ड कम्पनीको धारणले भोक, निन्द्रा, तिर्खा हराम भएको छ । कसरी जसपा फुटाउने, कसरी किन्ने ? कति पैसा लाग्ला ? कसकसलाई फकाउन सकिएला ? यही बाहेक केही सोच नै छैन । यस्तो सोचको जग पनि षड्यन्त्र सिद्धान्त नै हो ।

जसपाको एउटा नेतृत्व पङ्क्ति षड्यन्त्र सिद्धान्तको राम्रै शिकार भइसकेको छ । ओलीले जसपालाई सिध्याउँदैछन्, बचेखुचेको इज्जतहरण गरिरहेका छन् भन्ने थाहा छैन, उल्टै आफ्नै पार्टीका नेता र कार्यकर्ताबारे अनेक षड्यन्त्र सिद्धान्त बुनेर हिंडेका छन् ।

एउटा नीतिकथा छ । एक कवि सुगाहरूको अज्ञानता देखेर द्रविभूत भएछन् । ब्याधाले पासो थाप्छ, जाल हान्छ, चारो झर्छ, सुगा सबै लोभले त्यसैमा पर्ने भए, सकिने भए । सुगा बचाउन उनले सुगालाई शिक्षा दिने भएछन् । महिनौं दिन लगाएर पढाएछन्- ‘शिकारी आउँछ, चारो छर्छ, पासो थाप्छ, जाल हान्छ, त्यसमा पर्नु हुँदैन, त्यसमा पर्नु हुँदैन ।’ सुगाले यति ज्ञान कन्ठस्थ पारेपछि कवि आश्वस्त भए कि अब शिकारीले केही गर्न सक्दैन ।

भोलिपल्ट साँझ शिकारबाट फर्किदै गरेको शिकारीको काँधमा कविले जालभित्र परेका एक हुल सुगा देखे । ती सुगाहरुले जालभित्रैबाट भन्दै थिए– ‘शिकारी आउँछ, चारो छर्छ, पासो थाप्छ, जाल हान्छ, त्यसमा पर्नु हुँदैन, त्यसमा पर्नु हुँदैन ।’ जसपाका एकथरि नेताहरूका लागि आज ओलीको जालमा पर्नु हुँदैन भन्ने विद्या त्यही सुगालाई कविले घोटाएको ज्ञान जस्तो भएको छ ।

ओली जो आफैं षड्यन्त्र सिद्धान्तका उपज र अभ्यासकर्ता हुन् । षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने हुँदा उनले आफ्नै वर्षौंवर्षदेखिका दुःखका साथीहरूलाई समेत छोडेनन् । राजनीतिक स्वार्थका लागि जतिसुकै निम्न कोटीको काम गर्न पनि मानसिक रुपले तयार ओलीले जसपाको दीर्घकालीन हित हुने काम गर्लान् ? माधव नेपाल र झलनाथ खनालको माया नलाग्ने ओलीलाई महन्थ ठाकुर र राजेन्द्र महतोको माया लाग्न थाल्यो भन्दा कति हाँस्नु ?

सुतुरमुर्ग जतिसुकै धेरै दौडिए पनि, आफूलाई जतिसुकै सुरक्षित ठाने पनि त्यही बालुवामा टाउको घुसार्ने सम्म न हो । जिऊ त बाहिरै हुन्छ । त्यो बाहिरै बसेको शरीर कसले नदेख्या छ र ?

ओलीतन्त्रको पोल्टामा जसपाको भविष्य खोज्ने सोच षड्यन्त्र सिद्धान्त कै अर्को रुप मात्र हो । षड्यन्त्र सिद्धान्तमा षड्यन्त्र गर्न सक्नु मात्र पराक्रम मानिँदैन, स्वयम् षड्यन्त्रमा फस्न योग्यसम्म बन्नुलाई पनि ठूलै उपलब्धी मानिन्छ । कम्तीमा आफूले षड्यन्त्र गर्न सकिन, तर अरुद्वारा षड्यन्त्र गर्न त लायक भए भन्ने मनोविज्ञान राख्ने पनि हुन्छन् ।

नेपालका धेरै नेताहरूको हविगत वा हालत देख्दा दया लाग्छ । तर, उनीहरूको बलियो भाग्य, समाज र मतदाताको ठूलै पङ्क्तिले उनीहरूलाई नै अझै नेता मान्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय