scheduleबिहिवार बैशाख २३ गते, २०७८

बेलायती राजसंस्था लामो समय नटिक्ने चर्चित लेखिका हिलेरीको दाबी

एजेन्सी, १९ बैशाख । बुकर पुरस्कार विजेता एवं चर्चित लेखक डेम हिलेरी मेन्टलले पुन: एक पटक बेलायती राजसंस्थामाथि कडा प्रहार गरेकी छन् । आफ्नो देशको राजसंस्था ‘आफैंलाई दण्डित गर्ने संस्था’ भएको र बहिर्गमनको अन्तिम चरणमा रहेको डेम हिलारीको भनाइ छ ।

सन् २०१३ मा डेम हिलेरीले राजकुमारी केट मिडलटनबारे तिखो टिप्पणी गरेपछि हंगामा मच्चिएको थियो । ‘राजसंस्थामा विश्वास गर्ने उनी (केट) मात्रै एकजना व्यक्ति हुन जस्तो लाग्छ र उनले तनमनसाथ विश्वास गर्छिन्’, त्यतिबेला उनले भनेकी थिइन ।

डेम हिलेरीले शनिबार डेली टेलिग्राफ पत्रिकासँग गरेको कुराकानीमा महारानी एलिजावेथले राजगद्दी छोडेर राजकुमार विलियम्सका लागि मार्ग प्रशस्त गर्ने आफ्नो आशा आशा रहेको बताएकी थिइन् ।

‘मेरो विचारमा उहाँले यसलाई पवित्र काम ठान्नुहुन्छ जस्तो लाग्छ’,, हिलेरीले भनिन्, ‘यो एउटा द्धन्द्ध हो किनभने सारा विश्वले शाही परिवारलाई शोबिजनेश (मनोरञ्जन) को एक शाखाको रुपमा हेर्छ ।’

त्यस्तै राजसंस्थाको भविष्यबारे सोधिएको प्रश्नमा हिलेरीले भनिन्- ‘मेरो विचारमा यो अन्तिम चरणमा छ । लामो समयसम्म यो संस्थाले निरन्तरता पाउँछ जस्तो लाग्दैन ।’

‘विलियमपछि यसले (राजसंस्थाले) निरन्तरता पाउँछ भन्ने कुरामा म विश्वस्त छैन’, हिलेरीले थपिन्, ‘त्यसैले यो नै उनीहरुको अन्तिम युग हुनेछ भन्ने मेरो ठम्याइ छ ।’

हिलेरीले राजपरिवारका सदस्यबारे पहिलादेखि नै विभिन्न टिप्पणी गर्दै आएकी छन् । यही कारण उनी बेलाबेला विवादमा तानिन्छिन् ।

सन् २०१३ मा राजकुमारी केट मिडलटनबारे गरेको हिलेरीको टिप्पणी निकै विवादित बनेको थियो । त्यतिबेला उनले केटलाई कुनै व्यक्तित्व नभएको पुतला जस्तो भन्दै उनको उद्देश्य राजगद्दीका लागि उत्तराधिकारी जन्माउने मात्रै भएको बताएकी थिइन् ।

त्यस्तै सन् २०१४ द गार्जियनमा प्रकाशित एक अन्तर्वातामा हिलेरीले सन् १९८३ मा तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको हत्या गर्ने कल्पना गरेको स्वीकार्दै आफ्नो कल्पनालाई ‘द असासिनेसन अफ मार्गरेट थ्याचर: ६ अगस्ट १९८३’ नामक कथामा उतारेको बताएकी थिइन् ।

यसबाहेक, हिलेरीमाथि क्याथोलिक चर्चविरोधी भएको आरोप समेत लाग्ने गरेको छ । उनले एउटा अन्तर्वातामा क्याथोलिक चर्चको विरोध गर्दै भनेकी थिइन्-‘मेरो विचारमा क्याथोलिक चर्च सम्मानित मानिस जाने ठाउँ होइन । मैले सानो हुँदा पादरी र भिक्षुणीहरु असल मान्छे होइनन् कि भनेर सोच्ने गर्थे । मैले थाहा पाएका सबैभन्दा खराब मानिसमध्ये उनीहरु पनि पर्छन् भन्ने मेरो विचार थियो ।’

हाल ६८ वर्षकी डेम हिलारीले कैयौं ऐतिहासिक नोबेल, निजी संस्मरण र कथा लेखिसकेकी छन् । उनी बुकर पुरस्कार पाउने पहिलो महिला समेत हुन् । उनलाई सन् २००९ मा ‘वल्फ हल’ र सन् २०१२ मा ‘ब्रिङ अप द बडिज’ उपन्यासका लागि उक्त पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय