scheduleबिहिवार बैशाख २३ गते, २०७८

‘धनी मुलुकले प्राकृतिक स्रोत अत्यधिक प्रयोग गर्दा अन्य मुलुकमा गरिबी बढ्यो’

एजेन्सी, १९ बैशाख । हालै गरिएको एक अध्ययनको निष्कर्ष छ- सम्पन्न मुलुकले प्राकृतिक स्रोतसाधन अत्यधिक उपभोग गर्दा विपन्न मुलुकहरु ‘वर्यावरणीय गरिबी’मा फँसिरहेका छन् ।

अमेरिकी र श्रीलंकाका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनको अर्को निष्कर्ष यस्तो छ- जैविक रुपमा पृथ्वीले उत्पादन गर्न सक्ने प्राकृतिक स्रोतभन्दा ७३ प्रतिशत बढी स्रोत मानिसले प्रयोग गर्छन् ।

नेचर सस्टेनेबिलिटीमा प्रकाशित अध्ययन अनुसार पृथ्वीले स्व:स्फुर्त पुनर्उत्पादन गर्न सक्ने प्राकृतिक स्रोतभन्दा माग बढी छ ।

त्यस्तै अत्यधिक स्रोत दोहनका कारण तीव्र गतिले समुन्द्रको पानीमा क्षारको मात्रा बढिरहेको (ocean acidification), भूमिगत पानीको मात्रा घटिरहेको (groundwater depletion) र वातावरणीय प्रदूषण (environmental deterioration) भइरहेको पनि अध्ययनको निष्कर्ष छ ।

चार दशकको अवधिमा गुणस्तरीय जीवनस्तर रहेका सम्पन्न मुलुकले उपभोग गर्ने प्राकृतिक स्रोतको मात्रामा ५४ प्रतिशतले वृद्धि भएको छ । गुणस्तरीय जीवनस्तरका लागि धनी मुलुकले गर्ने स्रोतसाधनको दोहनबाट गरिब मुलुकहरुले आफ्नो समाजमा गरिबी हटाउने मौका गुमाएको अनुसन्धानकर्ताको ठहर छ ।

स्रोतसाधनको संरक्षण, पुनर्वहाली र पुनर्उत्पादित उपभोगबाट स्रोतको उपलब्धता र मागबीच सन्तुलन ल्याउन सकिने पनि अध्ययनले भनेको छ ।

अनुसन्धानकर्ताले जैविक ऊर्जालाई नवीकरणीय ऊर्जाले विस्थापित गर्नुपर्ने र खाद्य उत्पादन तथा वितरण प्रणालीमा सुधार गर्नुपर्ने (जनावरमा आधारित वस्तु उपभोगको मात्रा घटाउनु पर्ने कुरालाई विशेष जोड दिनुपर्ने किनभने जैविक भारमध्ये ५० प्रतिशत खाद्यान्नले ओगटेको छ) सुझाव दिएका छन् ।

त्यस्तै परिवारको आकार सानो बनाएर पनि हाल देखिएको समस्या कम हुने पनि अध्ययनको सुझाव छ । किनभने मुख्यत: मानिसहरुले नै पृथ्वीको जैविक क्षमता/भार (bio capacity/biomass) लाई प्रभावित गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय