scheduleबिहिवार बैशाख २३ गते, २०७८

प्रेस स्वतन्त्रता दिवस भर्सेस् नेपाली पत्रकारिता

दिवस खनियाँ

आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबै नेपाली पत्रकारहरूमा शुभकामना दिन चाहन्छु । सुरुमा नै राज्यको चौथो अङ्गको रूपमा यसभित्र रहेका रहेका असल पत्रकारहरूसँग माफी माग्दै म पत्रकारिता पेसाभित्र देखिएका व्यवहारिक विकृतिहरूलाई उजागर गर्ने प्रयास गर्नेछु।

जहाँसम्म मैले बुझेको पत्रकारिता भनेको घटनाहरूको अनुसन्धान, विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण हो । जसमा कहाँ, के, कहिले, कसरी, किन, कसको लागि र परिणाम जस्ता कुराहरूलाई समेटेर घटना विवरण तयार पार्ने गरिन्छ। यो जानकारीमूलक, शिक्षामूलक, चेतनामूलक, निश्चित समूहप्रति लक्षित, समयसापेक्ष र समाचार संरचना तथा अङ्गले भरिपूर्ण एवं अर्थपूर्ण हुनु पर्दछ। मेरो बुझाइमा यसका लागि विशेष सिप, क्षमता र दक्षता भएका व्यक्तिहरूको जरुरत पर्दछ र तिनै व्यक्तिहरू पत्रकार हुन् ।

पत्रकारहरूलाई राज्यको चौथो अङ्गको रूपमा त्यसै परिभाषित गरिएको होइन । जोसेफ शुम्पेटरको भनाइअनुसार त पत्रकारिता मात्र एउटा यस्तो पेसा हो जसलाई शुद्धरुपमा बुद्धिजीवी भनेर चिन्न सकिन्छ । तर पछिल्लो समयमा नेपाली पत्रकारितामा विकृति देखिएको छ । नेपाली पुराना पत्रकार चक्रपाणि नेपालको भनाइलाई सापटी लिने हो भने यस पेसामा रहेका पत्रकारहरू सबै नेतामुखी भएका छन्, नेताका पछाडि लागेका छन्, अझ कति त नेताका हनुमान बनेका छन् । राष्ट्रिय स्तरमा चिनिएका हरेक नेताका पछाडि एक-दुई पत्रकार त लागेकै हुन्छन् । कतिपय पत्रकारहरू त कुनै विचार नै नभएका अल्लारेको जमात जस्तो पनि लाग्छ । कतिपयले जानी-जानी पितपत्रकारिता गरिरहेका हुन्छन्। यसरी पत्रकारले राजनीति गर्ने र आफ्नो पेसाको मर्यादालाई बिर्सने हो भने जोसेफ शुम्पेटरले गरेको परिभाषा गलत सावित हुन जान्छ।

नेपालको संविधानको पालना गर्नु र मानवअधिकारको संरक्षण गर्नु प्रत्येक नेपालीको दायित्व हो । यसमा पत्रकारहरू अछुतो रहन सक्दैनन्। सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले सूचना दिन नपर्ने विषय भनी उल्लेख गरेका विषयहरूमा निहुँ खोज्ने गरेको सूचना समेत आइरहेको हुन्छ । वर्तमान विषम परिस्थितिमा नेपाल सरकारले कोरोना लागेका व्यक्तिहरूको नाम सार्वजनिक नगर्ने भनी भनेको सन्दर्भमा हाम्रा पत्रकारहरू आफ्नो मिडिया लोकप्रिय हुने नाममा सार्वजनिकिकरण गरिरहेका हुन्छन्।

सूचना विभागले वितरण गर्दै आएको प्रेस कार्ड पनि पत्रकारिता गर्नेले भन्दा नगर्नेहरूको हातमा धेरै पुग्ने गरेको पाइन्छ। अहिलेको निषेधाज्ञामा एकातिर सूचनाकाे महामारी छ भने अर्कोतिर झन नक्कली पत्रकारको बिगबिगी छ । बाटोमा देखिने प्रेस कार्ड र प्रेस जाकेट अङ्कित सवारीहरुको लाइनले जनसंख्याको कति भाग पत्रकार छन् भन्ने प्रश्न उठ्छ । कतिपय मानिसहरू विभिन्न राजनीतिक दलहरूको बन्दको कार्यक्रममा मोटरसाइकल चढ्न समेत पत्रकार हुने गरेका छन् । बन्दको समयमा यस किसिमका गैरपत्रकारहरूले प्रेसको दुरुपयोग गरी हिँड्नाले क्रियाशील पत्रकारहरूलाई अप्ठ्यारो हुने गरेको छ। सरकारी कार्यालयमा पुगेर कार्यालय प्रमुखलाई आफूलाई रकम नदिएमा समाचार प्रकाशन गरिदिने भनी प्रचारबाजी गर्दै बेलुकी होटेल रेस्टुरेन्टमा कार्यालय प्रमुखसँगै देखिन्छन् ।

एउटै पत्रकार व्यापारी, एनजिओ/आइएनजिओकर्मी, सरकारी वा अर्ध सरकारी निकायको प्रतिनिधि, शिक्षक लगायत पेसामा आबद्ध भएको हुन्छ। यति मात्र होइन की कुनै दलको प्रवक्ता समेत भएको हुन्छ। यस्ता अनगिन्ती विकृतिहरू पत्रकारिता क्षेत्रमा हुन थालेको छ। यस कारणले गर्दा आजभोलि पत्रकारहरूलाई आम नागरिकहरूले हेर्ने दृष्टिकोण छुट्टै बनाउन थालेका छन्। अनुगमन गर्ने निकाय मौन भएको फाइदा सबैले उठाई रहेका छन्।

पत्रकारिताको लागि नेपालमा यति नै पढ्नु तथा अध्ययन गर्नुपर्दछ भन्ने कुनै मापदण्ड नभए पनि नेपाली पत्रकार विष्णु प्रसाद खनालका अनुसार आफू पाठक, दर्शक तथा श्रोता बनेर आफ्नो लेखाइ, बोलाइ र प्रसारणमा यो कुरा पुगेन भनेर गुनासो गर्ने स्थान हुनुहुँदैन, त्यही नै पत्रकारिताको लागि चाहिने पढाइ वा अध्ययन हो।

अमेरिकी पत्रकारद्वय बिल कोभाच र टोम रोसेन्स्टिअलले आफ्नो पुस्तक ‘इलिमेन्टस् अफ जर्नलिजम’मा भनेका छन्- इन्टरनेटको उपस्थितिले गर्दा एक्काइसौँ शताब्दीमा जोसुकै पत्रकार बन्न सक्छ तर उसले सही अर्थमा सैद्धान्तिक आधारहरूलाई बुझेर व्यवहारमा उतार्ने गरी पत्रकारिता गरेको हुनुपर्दछ।

तर यहाँ त्यसो भइरहेको छैन। प्रतिस्पर्धामा माथि आउन गलतै भए पनि जे बिक्छ, त्यसैलाई समाचार बनाउने र अरूको टाउको कुल्चेर आफू माथि पुग्ने नियत केही सञ्चार संस्थाहरूमा हाबी भएको जस्तो एउटा पाठक, दर्शक तथा श्रोताको हैसियतले महसुस हुन्छ।

दिवस खनियाँ

आवश्यक ज्ञानको अभाव तथा लहडका आधारमा गरिने पत्रकारिता कहिलेकाहीँ निहित स्वार्थ कारण समाचारका विषयवस्तुमा यर्थाथरुपमा प्रस्तुत नहुँदा यसले समग्र समाजमा नकारात्मक समस्या पैदा गरेको समेत पाइने गरेको छ। त्यस्तै, समाचारका विषयवस्तु भन्दा पनि व्यक्तिगत इगोको रूपमा सत्यपनभन्दा टाढा गएर भावनामा बगेर पूर्वाग्रही रूपमा प्रस्तुत भइदिँदा यसले जनमानसमा नकारात्मक धारणा पैदा गर्ने काम समेत गरेको पाइन्छ।

कतिपय पत्रकार दोहोरो-तेहेरो भूमिकामा पनि छन्। पत्रकारको परिचय दिन रुचाउने त्यो व्यक्ति अर्को ठाउँमा शिक्षक, व्यापारी, राजनीतिकर्मीका रूपमा प्रस्तुत भइरहेको हुन्छ। प्रहरी, प्रशासन तथा व्यापारीसँग पनि त्यस्ताको अस्वाभाविक हिमचिम देखिन्छ। व्यावसायिक भन्दा अन्य सम्बन्ध हाबीले पनि पत्रकारिता प्रभावित भएको पाइन्छ। समाज पनि पत्रकार प्रति सशङ्कित हुने वातावरण बन्दैछ। आज नेपालका असल पत्रकारहरू ओझेलमा परेका छन्, युट्युबे, फेसबुके पत्रकारले असल पत्रकारलाई पनि म पत्रकार हुँ भनी परिचय दिन लाजमर्दो वातावरण सिर्जना गराएका छन्।

आज पत्रकारिता पेसामा देखिएका विकृतिहरूको माथिका उदाहरण प्रतिनिधि मात्रै हुन् । प्रविधिको बढ्दो प्रयोगले अझ धेरै नयाँ चुनौतीहरू देखा पर्न थालेका छन्। यस्ता चुनौतीहरूको सामना गर्दै आफूलाई कसरी सान्दर्भिक र प्रभावशाली बनाइ राख्ने, नयाँ परिस्थितिमा आफ्नो भूमिकाको कसरी पहिचान गर्ने जस्ता गम्भीर प्रश्नहरूप्रति निरन्तर जागरूक भइराखेमा मात्र यस पेसा वा व्यवसायले आफ्नो सामाजिक जिम्मेवारी पूरा गरिरहन सक्छ। नेपाली पत्रकारिताको सवालमा यस दिशातिर अहिलेसम्म भइरहेका प्रयासहरू पर्याप्त छन् भन्न सक्ने अवस्था छैन। यसमा नेपाल पत्रकार महासङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ।

आजको यस विषम परिस्थितिमा सत्य तथ्य समाचार जनतामाझ ल्याई कोरोना महामारीबाट जोगाउन पनि पत्रकारको अहम् भूमिका छ। अन्त्यमा, जनताका पीडा, जनतालाई जनचेतना, धर्म संस्कृतिको जगेर्ना लगायतका विषयमा सम्बन्धित निकायसम्म जानकारी पुर्‍याउन पनि पत्रकारको निक्कै ठुलो भूमिका रहने भएकोले पत्रकारिता पेसालाई मर्यादित गराउन पत्रकारहरू, अनुगमन गर्ने निकायहरू र सम्पूर्ण सरोकारवालाको ध्यान गई राज्यको चौथो अङ्गको गरिमा र साख बचाइराख्न जरुरी छ। फेरी पनि नेपालका असल पत्रकारहरूसँग माफी माग्दै आज पर्न गएको विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना। आजको दिनलाई सम्पूर्ण प्रेस जगतले खुलेरै आफ्नो आत्मालोचना गर्ने दिनको रुपमा विकसित गरौँ।


(
खनिया टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता साथै सामाजिक अभियान्ता हुन)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय