scheduleमगलवार श्रावण १९ गते, २०७८

मानिसको लोभ र मुर्खताको परिणाम: वन्यजन्तुको संख्या डरलाग्दो गतिमा घट्दै

एजेन्सी, २० बैशाख । विश्व वन्यजन्तु कोष (World Wildlife Fund) को नयाँ प्रतिवेदनले सन् १९७० यता पृथ्वीमा भएका वन्यजन्तुको संख्या ६८ प्रतिशतले घटेको देखाउँछ ।

कोषले प्रकाशित गर्दै आएको लिभिङ प्लानेट नामक प्रतिवेदनको पछिल्लो श्रृंखलामा ५० वर्षको अवधिमा वन्यजन्तुको जनसंख्या ६८ प्रतिशतले घटेको उल्लेख गरिएको छ । योसँगै वन्यजन्तु संरक्षणमा लागेका अभियानकर्ताले तत्काल कदम चाल्न आव्हान गरेका छन् । पृथ्वीमा यसअघि कहिल्यै नदेखिएको खतरा उत्पन्न भएको र तत्काल कदम चाल्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

डेली मिररले धेरै पहिला प्रकाशित गरेको एक सामग्रीमा ‘मानिसको मुर्खता, लालच र बेवास्ता’ का कारण कैयौं वन्यजन्तु लोप हुन लागेको बताएको थियो । उक्त सामग्री प्रकाशित गरेको ६० वर्षपछि संरक्षणमा संलग्न अभियानकर्ताले चेतावनी दिँदै तत्काल कदम चाल्नु पर्ने बताएका हुन् ।

उक्त सामग्री प्रकाशित भएलगत्तै विश्व वन्यजन्तु कोष स्थापना भएको र कोषको प्रयासका कारण निलो ह्वेल, बाध र कालो गैडा संरक्षण गर्न सकिएको थियो ।

तर वन्यजन्तु संरक्षण अभियान पूरा भइसकेको छैन । किनभने वन्यजन्तुको संख्या घटिरहेको र यो प्रक्रियामा कुनै सुस्तता आएको देखिँदैन ।

सन् १९७० को दशकसम्म पाण्डाको संख्या घटेर एक हजार पुगेको तर विश्व वन्यजन्तु कोषको प्रयासका कारण पाण्डाको संख्या दक्षिण-पश्चिम चीनमा १ हजार ८ सय ६४ पुगेको छ ।

कालो गैंडाको हकमा पनि यस्तै सफलता मिलेको छ । ६० वर्षअघि तस्करीका कारण केबल ती सय वटा कालो गैंडा बाँकी थिए । जुन संख्या बढेर हाल ५ हजार ६ सय पुगेको छ तर यो संख्या बिसौं शताब्दीको सुरुमा रहेको कालो गैंडाको संख्या (त्यतिबेला कालो गैंडाको संख्या एक लाख थियो) भन्दा निकै कम हो ।

वन्यजन्तु संरक्षणमा केही सफलता हात परेको छ तर अझै पनि केही वन्यजन्तुको भविष्य अनिश्चित देखिन्छ । जस्तै, लेदरब्याक टर्टल (कछुवाको एक प्रजाति) को संख्या कुनैकुनै स्थानमा २० देखि ९८ प्रतिशतले घटेको छ । कोस्टारिकाको टोर्टुगुएयो समुन्द्री किनारमा उक्त कछुवाको ८४ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै सेन्ट्रल अफ्रिकन रिपब्लिकमा अफ्रिकी हात्तीको संख्या ९८ प्रतिशतसम्म घटेको पाइन्छ । लडडाउनले प्रकृतिप्रति मानिसको रुचि बढाएको छ तर बेलायतमा पनि कैयौं वन्यजन्तु खतरामा छन् । बेलायतमा पाइने स्तनधारीमध्ये २५ प्रतिशत ‘तत्काल लोप हुने अवस्थामा’ छन् । यसमध्ये वाटर भोल, हेजहग, ह्याजेल डोरमाउस, वन बिरालो र लामकाने चमेरा छन् ।

कर्लु, पफिनको संख्या पनि कोइली, हाउस स्पारो (एक प्रकारको भँगेरा) र टर्टल डभ (तामे ढुकुर) का झै घट्दै गइरहेको छ । खैरो चित्राको संख्या ८५ प्रतिशत र आर्कटिक स्कूको संख्या ६२ प्रतिशतले घटेको छ ।

विगत ६० वर्षको अवधिमा बोर्नियन ओराङगुटनको संख्या ५० प्रतिशत घटेको छ । नब्बेको दशकमा समथर भूमिमा पाइने गोरिलाको १७ हजार रहेको तर हाल उक्त संख्या आधाले घटेको वैज्ञानिकको अनुमान छ ।

गैंडाका ५ वटा प्रजातिमध्ये इन्डोनेसियाको जाभामा पाइने गैंडा अति जोखिममा रहेको छ । हाल उक्त प्रजातिको गैंडाको संख्या ६० मात्रै रहेको छ र ती सबै जाभास्थित युजङ कुलोङ नेशनल पार्कमा छन् । ग्यालापागोस पेन्गुइनको संख्या २ हजारभन्दा कम छ र बाँकी रहेका पेन्गुइन पनि प्रदूषण र जलवायुका कारण जोखिममा परेका छन् ।

हिमाली क्षेत्रमा पाइने रातो पाण्डको संख्या १० हजारभन्दा कम छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असरले गर्दा रातो पाण्डाको संख्या घट्न पुगेको हो ।

चीनको याङ्ग्सी नदीमा पाइने बाजी नामक डल्फिन अन्तिम पटक सन् २००२ मा देखिएको थियो र त्यसको चार वर्षपछि उक्त डल्फिन लोप भएको घोषणा गरियो । दक्षिणी चिनियाँ सागरमा पाइने लस्ट नामक शार्क पनि लोप भएको मानिन्छ ।

दक्षिण अमेरिकाको ग्यालापागोस टापुमा पाइने एक प्रजातिको कछुवा (Pinta giant tortoise) सन् २०१२ मा नै लोप भइसकेको छ । सन् १९७२ देखि जुमा राखिएको एक मात्र कछुवा मरेपछि उक्त प्रजाति लोप भएको हो । दुर्भल माछो चाइनिज प्याडलफिस र भ्यागुतो पोइजन डार्ट फ्रग पनि लोप भइसकेका छन् ।

बाघ (wild tiger) को संख्या बिसौं शताब्दीको सुरुदेखि हालसम्म ९५ प्रतिशतले घटेको छ । सन् २०१६ मा विश्व वन्यजन्तु कोषले गरेको एक अध्ययन अनुसार हाल बाघको संख्या ३ हजार ९ सय रहेको छ । तर भुटान, चीन, भारत, नेपाल र रुसमा बाधको संख्या बढिरहेको देखिन्छ ।

( मिररबाट)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय