scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोना संक्रमणबाट नेपालमा सात पत्रकारले ज्यान गुमाए, २० जना अस्पतालमा

काठमाडौं, २० वैशाख । नेपालमा कोरोना संक्रमणबाट ७ जना पत्रकारको ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघले सोमबार जारी एक विज्ञप्तिमा उल्लेख भएअनुसार हालसम्म ५ सय ५० जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएको र हाल २० जनाले अस्पतालमा उपचार गरिरहेको जनाइएको छ ।

महासंघका अनुसार दुईजनाको गम्भीर अवस्थामा आइसीयुमा उपचार भइरहेको छ । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ । उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र यतिखेर दोस्रो लहरको कोरोना भाइसरबाट पनि प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको छ,’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको भन्दै महासंघले यो संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी रहेकोमा जोड दिएको छ । ‘महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले गरेको आग्रहअनुसार यतिखेर महासंघका सबै प्रदेश र शाखाहरुले कोभिड १९ कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिता देखाइरहेका विज्ञप्तिमा उल्लेख छ । ‘कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ । यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुसहित पत्रकारहरुलाई महासंघ अनुरोध गर्दछ ।’

महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ ।

साथै, कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय