scheduleबिहिवार बैशाख २३ गते, २०७८

बंगालकी छोरी जसले भाजपाको अश्वमेध रोकिन्

संकर्षण ठाकुर

जसले जित्ने आँट गर्दछ, उसैले जित्दछ । ‘यस्तो हुनेछ, त्यस्तो हुनेछ’ जस्ता सबै विश्लेषण र व्याख्याभन्दा पर, पश्चिम बंगालका जनताको अत्यन्तै आश्चर्यजनक तथा विचारणीय फैसला आएको छ– यो ममता बेनर्जीका लागि सर्वोत्तम घडी हो ।

तीन दशक अघि वामपन्थीसँगको संघर्षमा आफ्नो खप्पर फोडिएपछि उनी लगातार विजयको संघर्षमा रहिन् । फलतः आजको परिणाम सम्भव भयो । उनले प्रमाणित गरेकी छन् कि उनी संघर्ष छोड्ने योद्धा हैनन् ।

ममताले आफूमाथि भएका भयानक तथा शंकास्पद युद्धको बोझ छातीको रक्षाकवचमा थापिरहिन् र फिर्ता गरिरहिन् । एकपछि अर्का आक्रमणहरू साहसमाथि साहस थपेर सामना गरिन् । उनले ती भुसुना चालका खुरुन्दार प्रहारहरूलाई आतुरतापूर्वक थकाइ दिइन् ।

करिब एकल वीरतामा आधारित यो प्रक्रियामा उनले हाम्रो राजनीतिका केही उग्र तथा अतिशयोक्तिपूर्ण मिथ, भाष्य र कत्थ्यहरू भंग गर्दिइन् । यो भनिँदै थियो कि नरेन्द्र मोदी र अमित शाहको जोडी अभेद्य छ, उनीहरूले अपराजयताको दूर्ग निर्माण गरेका छन्, उनीहरूको चक्रबर्ती परियोजनाको बर्चश्वलाई पराजित गर्न सम्भव छैन, जहाँ उनीहरूले आफ्नो उद्यमशिलता शुरु गर्दछन्, त्यहाँ आफ्नो आधिपत्य पनि स्थापित गरी छोड्छन् ।

ममताले बंगालमा त्यो अश्वमेधलाई रोकेकी छन् । उनी आफ्नो राज्यको काठीमा उत्तिकै दृढ देखिइन् । पक्कै, नन्दीग्रामको युद्धमा उनी घाइते र रक्तमुछेल भइन् तर, उनको अटलता झुकेको छैन । अक्सर दुई अवधि शासनकाल पूरा गरेको कुनै व्यक्तिले यति भयानक र बलियो आरोपको विरुद्ध यसरी लड्न सक्दैन ।

बंगालमा ममताका लागि यस्तैयस्ता संघर्ष सबैतिर चुनौतिपूर्ण हुँदैन । जस्तो कि केही समयअघि बिहारमा भर्खरैका तेजस्वीले गरे । तेजस्वीले बिहारमा जसरी मोदी–शाह–नितिशकुमारको स्रोत, साधन र क्षमतालाई फिका बनाए, जसरी झण्डैझण्डै उनीहरूलाई हायलकायल पारे, त्यहाँ उनीहरूको नक्कली विजय मुद्रालाई अयोग्य सावित गर्ने थुप्रै मुद्दाहरू थिए ।

त्यहाँ उनीहरूको कार्यकाल र बढप्पन सबैतिरबाट म्याद गुज्रिदै थियो । उनीहरू विरुद्धको आन्दोलनमा नवपन थियो । त्यहाँ उनीहरू प्रचण्ड सक्रियतामा थिए तर उनीहरूका धेरै विचारयुक्त वा विचारहीन गढबढी र घिनलाग्दा दृष्यहरूको बावजुद मोदीको असल राष्ट्रिय मनसायको पोको अनावृत हुँदै थियो । ममताले गरेको थप काम के हो भने उनले पर्याप्त असल मनसाय र उद्देश्यका साथ राइट बटन दबाइन्, उनीहरूलाई मैदानमा ललकारिन र उनीहरूको वास्तविक हैसियत देखाइदिइन् ।

यो अभियान सन् २०१५ को विहारको महागठबन्धनको विजयभन्दा धेरै फरक वा विपरित भने हैन । तर विजयको वैधतालाई नितिशकुमारले पछि अर्थहीन बनाइदिए । उनी कुख्यात कोल्टेफेराई गर्दै आफैं मोदीको पोल्टामा गए । बिहारमा भाजपाको बर्चश्व प्रयासलाई विफल पार्नु त्यतिखेर एक स्वभाविक राजनीतिक घटना मानिएको थियो, जसलाई विपक्षी दलहरूको एकता र गठबन्धनले सम्भव बनाएको थियो ।

तर, त्यसको खराब पक्ष भनेको नितिश कुमारद्वारा जनादेशमाथि कुठाराघात थियो । पश्चिम बंगालको प्रतिविष्फोटन भने गुजुल्टे अधिनायकवादको लुटतन्त्रलाई व्यथित गर्ने खालको छ र यो अटुट रहनेछ ।

अहिले हाम्रा संस्थाहरूलाई यसरी पिटिएको छ कि तिनीहरूको आकार नै फरक हुँदै गएको छ । अर्थतन्त्र धराशायी भएको छ । सुधारका लागि भएका नागरिक प्रयासलाई अपमानित गर्ने र धम्की दिने काम भएको छ । हाम्रो राष्ट्रिय जीवनको यावत प्रक्रियामा एक चीसो र क्रुर हृदयले नेतृत्व गरेको छ । सन् २०१९ पछि जेजस्तो सत्तालाई हामीले पुनर्निवाचित गरेका छौं, त्यसको मनमा मानवता पनि छ भनेर विश्वास गर्ने किञ्चित ठाउँ छैन ।

अहिले पर्याप्त अक्सिजन मात्र हैन, अस्पताल र बेड समेत छैनन् । भनाईमा हामी खोप उत्सव गर्दैछौं । तर न कतै खोप देखिन्छ न उत्सव, बरु सबैतिर निधाउरा आँखाहरू मात्र देखिन्छन् । डाक्टर र स्वास्थ्यकर्मीहरूको थकानले मुर्झाएको भातृत्व चुँडिने बिन्दूमा पुगेको छ । अन्यत्रको कुरा छोडौं– दिल्ली आफ्नो मृत अवस्था हेर्न लामबद्ध छ । यी सबै क्षेत्रमा तत्कालीन मद्दतहरू जरुरी छ ।

यस्तो क्षणमा ममताको विजयले हामीलाई थोरै भए पनि श्वास फेर्ने अनुमति दिएको छ । अन्यथा हामी झनै निसासिन्थ्यौं । ममताले असाध्यै राम्रो दौड गरेकी छन्, तर दौड अझै पुरा भएको छैन । हाम्रा चुनौतिहरू एकपछि अर्काे गर्दै आउने गरेका छन् । धेरैजसो चुनौतिहरू पन्छाउने भन्दा थन्काउने गरेका छौं ।

सबैभन्दा प्रष्ट कुरा– कांग्रेस जो अनेक मूर्खताका बाबजुद अझै राष्ट्रियस्तरको मुख्य विपक्षी दल हो, आफ्नो दुर्दशाबाट पाठ सिक्न चाहन्छ भने उसले बंगाल, केरला र असमको पराजयबाट आफूलाई सबलीकृत गर्ने प्रयत्न गर्नु पर्दछ । कांग्रेसले ममताबाट सिक्न सक्दछ कि खाडलमा झर्नुभन्दा लडाइँमा टिकीरहनु राम्रो विकल्प हो ।

संकर्षण ठाकुर

पश्चिम बंगाल निर्वाचन अभियानको मध्यतिर ममताले सबै गैर–भाजपा संगठन र सञ्जालहरूलाई एक पत्र लेखेकी थिइन् । उनको सरल आग्रह थियो कि राष्ट्रलाई आकारहीन हुनबाट जोगाउँ । महत्वपूर्ण कुरा ममताले भाजपाको ध्वंशात्मक शक्ति, बिशेषतः मोदी–शाहद्वयको अपार शक्तिलाई बेलैमा चिनिन् । यो शक्ति राष्ट्रका लागि धेरै घातक हुन सक्दथ्यो, यसका लागि स्थानीय ढोकाहरू बलियो गरी बन्द गर्नु पर्ने आवश्यकता थियो ।

ममताको यो अपिल व्यापक चर्चामा आयो । कतिपयले भने कि ममता आत्तिसकिन् । उनले खोलाको मझधारमा डुब्न लाग्दा कुनै सहारा नपाएर त्यान्द्रो समातेकी हुन् । निश्चितरुपमा ममताका लागि पनि सिक्न, सुधार गर्न थुप्रै पाठहरू छन् । ममताजस्ती स्मार्ट राजनीतिज्ञ बंगाल त्रिणमूल कांग्रेसभित्र बढ्दो असन्तुष्टिबारे बेखबर र वेवास्तापूर्ण रहन सम्भव हुँदैन ।

ठीक यतिखेर मतदाता र जनताका माझ पनि उनीप्रति गुनासाका गहकिला कारणहरू छन् भन्ने कुरामा बेवास्ता गर्न मिल्दैन । स्थानीय तहमा भ्रष्टाचार, सिन्डिकेट, लुटतन्त्र र कमिसन संस्कृति, नातावाद, कृपावादको कुरा अकारण उत्पन्न भएका हैनन् । विजय उत्सवको माहौलले मात्र यी सवाललाई दबाउन वा लिपापोती गर्न सकिने छैन । यस्ता प्रश्नमा ममता उपस्थित हुनै पर्नेछ ।

बंगाल बाहिर हेर्ने हो भने पनि यस्ता उत्तिकै धुलोमैलो भएका चिजहरू राम्ररी सफा गर्ने प्रयत्न पाइँदैन । यतिखेर सायद त्यो उपयुक्त समय आएको छ कि ममताको पत्रलाई पुनरावलोकन गरौं, त्यसको बिषय–वस्तुलाई पुनश्चः एकपटक गहिरिएर हेरौं, के त्यो चिच्याहट हाम्रो बर्बादीलाई रोक्न पर्याप्त छ ?

ममताले समग्रतामा अदम्य सहासका साथ आफ्नो पक्षधरतालाई प्रष्ट गरेकै छन् तर, यतिखेर त्यो समय हो अब सबै चिजवस्तुसहित उपस्थित हुनु पर्ने छ । अन्त्यसम्म विजयको उत्साह नहुनु अक्सर टेबलमा पुगेर पराजित हुनुजस्तो हुन सक्दछ । तसर्थ उत्साहलाई फेरि एकपटक उठाउन जरुरी छ ।

कोलकाताबाट प्रकाशित हुने द टेलिग्राफबाट संक्षेपीकरणसहितको भावानुवाद ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय