scheduleबिहिवार बैशाख २३ गते, २०७८

भारतमा कोरोना भयावह–संक्रमणको कारण धार्मिक अन्धविश्वास पनि हो

चेतन भगत

चैत्रे नवरात्रीको सातौं दिनको उपवासपछि मैले यो लेख लेखेको हुँ । मैले ३० वर्षदेखि वर्षमा २ पटक यस्तो उपवास बस्ने गरेको छु । मलाई मेरो धर्ममा गौरव छ । म यसलाई प्रेम गर्छु । तर, प्रेमको अर्थ कहिलेकाँही ती चिज भन्ने साहस गर्नु पनि हो, जहाँनेर यसलाई परिवर्तन गर्न जरुरी छ ।

कोरोना महामारीपछि हाम्रो प्रतिक्रियामा त्यस्ता धेरै कुरा आएका छन्, जुन हाम्रो समुदायका लागि घातक छन् । हामी कहाँ अवैज्ञानिक सोच राख्ने हिन्दुहरुको संख्या निक्कै ठूलो छ । वास्तवमा भारतीय उपमहादीपमा बाहिरियाहरुको लामो शासन चल्नुको एउटा कारण यो पनि थियो ।

आज हाम्रो कोरोना अभिलेखले सबै रेकर्ड तोड्दैछ । मृत्यु अभिलेखले विश्व रेकर्ड तोड्दैछ । जबकी चीन र अमेरिकाले यो महामारीलाई पछाडि धकेल्न थालीसके । कोरोनापछिको आर्थिक विकासतिर अगाडि बढ्न थालिसके ।

यहाँ मैले लेखेका कुरालाई कसैले तोडमरोड गरेर कुनै गलत अर्थ नलगाओस् भनेर शुरुमै म केही स्पष्ट गर्न चाहन्छु । मेरो मतलब हो–
१. सबै हिन्दु अवैज्ञानिक र रुढीवादी हुन्छन् भन्ने हैन ।
२. अरु बाँकी धर्मका मान्छे अवैज्ञानिक सोच राख्दैनन् भन्ने पनि हैन ।
३. हिन्दु धर्म अरु धर्मभन्दा अवैज्ञानिक छ भन्ने पनि हैन । हैन, मेरो भनाईको मतलब यी कुनै हैन ।

अवैज्ञानिक सोच इसाई र मुस्लिममा पनि हुन्छ । सबै धर्ममा केही न केही अवैज्ञानिक विश्वास हुन्छन् । कुरा कति मात्र हो भने भारतमा हिन्दु धर्म प्रभावशाली छ । हाम्रो देशको भाग्य सिधै हिन्दु जनतासँग जोडिन्छ । त्यसैले अरु धार्मिक समुदायबारे केही भन्नुभन्दा मलाई लाग्यो पहिले आफ्नै धर्म सम्प्रदायबारे केही चिन्तन गर्नु राम्रो हुन्छ ।

विश्वमा प्रसिद्ध नोबल पुरस्कार विजेतादेखि लाखौं सर्वसाधारण हिन्दुहरु वैज्ञानिक मानसिकताका छन् । दुर्भाग्य के स्वीकार गर्नु पर्दछ भने अवैज्ञानिक र रुढीवादी हिन्दुको संख्या पनि सानो छैन । यस्ता अवैज्ञानिक हिन्दुहरु देशमा हाबी हुन काफी भएका छन् ।

अझ नराम्रो कुरा के छ भने केही हिन्दुहरु आफ्नो नक्कली विज्ञानलाई अवैज्ञानिक विश्वाससंग मिसमास पारेर सबैभन्दा वैज्ञानिक विचार यही हो भन्ने दाबी गर्दछन् । यो विज्ञान विरोधी र छद्म वैज्ञानिक रवैयाको हामीले धेरै ठूलो मूल्य चुकाउनु परेको छ । ऐतिहासिक तबरले आक्रमणकारी र उपनिवेशवादीहरुले हामीलाई लुट्ने मौका पाए । हामीमाथि राज गरे । किनकी, उनीहरुसँग राम्रो प्रविधि थियो । अहिलेका अवस्थामा चीनजस्तो देशले हामीलाई उछिन्न थालेको छ ।

वैज्ञानिक मानसिकता भनेको के हो ? यो प्रश्न उठाउँने वित्तिकै जवाफमा केहीले तुरुन्तै हिन्दु धर्मग्रन्थहरुको महानताको चर्चा गर्न थाल्नेछन्, जसमा विज्ञान निहित छ । कसैले भन्ने छन् कि भारतमा यतिधेरै विज्ञान थियो कि दशमलवको ज्ञान नै हामीले प्रतिपादन गरेको हो । हाम्रा मिथकमा अनेक उड्नेवाला मेसिनदेखि आधुनिक हतियारहरुको सम्म जिकिर छ । त्यसैले हामी वैज्ञानिक सोचवाला हौं । दुर्भाग्यको कुरा के छ भने इतिहास वा मिथकको महिमामण्डन वा अतिशयोक्तिकरण गरेर हामी वैज्ञानिक सोचवाला हुन सक्दैनौं । वास्तवमा यसको उल्टो र नकारात्मक असर हुन्छ ।

सर्वप्रथम वैज्ञानिक सोचले यो स्वीकार गर्दछ कि हामी जे जान्दछौं, थोरै जान्दछौं, धेरै कुरा जाँन्दैनौं । संसारमा अझै धेरै कुरा खोज हुन बाँकी नै छ । नयाँ खोजहरुले हामीलाई हाम्रा पुराना विश्वास बदल्न मद्दत गर्दछन् । उदाहरणको लागि जब कोभिड आयो, यो भाइरसलाई हामी चिन्दैन, बुझ्दैनथ्यौं । जब अवलोकन, मापन, परीक्षण र खोज विधिद्वारा यसलाई राम्ररी बुझ्ने भयौं, अनि खोप बनाउन सक्यौं ।

यसको अर्थ हो– समयसँगसँगै जब केही नयाँ कुरा चाल पाइन्छ, त्यसले झन धेरै समाधान र उपायहरु थप्दै जान्छ । वैज्ञानिक मन भएका मान्छेले सधै नयाँ उत्तरको खोजी गर्दछन् । यसको ठीकविपरित अवैज्ञानिक मनले यो मान्छ कि हामीलाई जुन ज्ञानको आवश्यकता छ, त्यो हाम्रो महान अतित र हाम्रा पुर्खाले खोजिसकेका छन् ।

यदि हामी केवल आफ्ना शास्त्रहरुमा आधारित भएर चल्न चाहन्छौं भने गौरवशाली इतिहासमै मख्ख परेर बस्छौं भने, महान पूर्वजहरुको विश्वासमा कुनै प्रश्न उठाउँदैनौ भने, इतिहास र मिथकलाई आस्था बनाएर राख्छौं भने हामीलाई महान प्रगति प्राप्त होला भन्न सकिन्न ।

हाम्रो खानपान, अर्थव्यवस्था, शिक्षा, औषधि विज्ञान, जीवन जिउने तरिका वा शासन शैली आदि बिषयमा कयौं अवैज्ञानिक हिन्दुहरुको यस्तो सोच हुन्छ कि हाम्रो अतितमै यी सबै कुराको जवाफ छ । हामीले एकक्षणलाई यो निराधार दाबीलाई मान्ने नै हो भने पनि फेरि पनि सवाल बाँकी नै रहन्छ, त्यसो भए के भयो ? कहाँ भट्कियौं हामी ? किन संसारको गतिबाट हामी पछि पर्‍यौं ?

चेतन भगत

वैज्ञानिक सोचको अर्थ हो, पुराना प्रश्नहरुको नयाँ उत्तर खोज्नु र समयको साथसाथ आफूलाई बदल्दै जानु नकी विगतको विज्ञानसंग टाँसिइरहनु । बिडम्बना नै भन्नु पर्दछ कि हामी स्कुलमा बच्चालाई विज्ञान पढाउँछौं, तर वैज्ञानिक सोचलाई जीवन व्यवहारमा लागू गर्न चाहँदैनौं ।

कोरोनाको दोस्रो लहरको बाबजुद लाखौं मानिसले कुम्भमेलामा डुबल्की लगाए । सारा विश्व हामीमाथि हाँस्यो । जब देशमा दैनिक लाखौं केसहरु देखा पर्दै थिए, हामी भने लाखौं मानिस घाटमा उत्रेका थियौं । हामीले तब्दिली जमातलाई त बढो छिटो आरोप लगाएका थियौं । तर, हामीले आफूतिर फर्किएर कहिले हेर्‍यौं ?

मामिला फेब्रुअरीदेखि नै तीव्र हुँदै थियो, बल्ल हामीले अप्रिलको अन्त्यतिरदेखि खोप योजनालाई अलिक गम्भीरताका साथ महत्व दियौं ।

म आफ्नो धर्म र आफ्ना धर्मग्रन्थहरुको सम्मान गर्दछु । तर, मलाई यो पनि थाहा छ कि कुनै धर्मगुरु वा धर्मालयले हैन, वैज्ञानिक प्रयोगशालाले बनाएको खोपले मात्रै मलाई बचाउन सक्दछ । मानव जातिलाई बचाउन सक्दछ । मेरो भनाई यो पनि हैन कि यही कारणले विज्ञान धर्मभन्दा माथि हुन्छ ।

तर, हामीले यो बुझ्नै पर्दछ कि आस्था र विज्ञानको आआफ्नो भिन्नाभिन्नै स्थान छ । आस्था, छद्म विज्ञान, इतिहास, मिथक, धर्म र संस्कृतिले सबैभन्दा माथि हुन्छन् भनेर सोच्नु बिल्कुल अवैज्ञानिक सोच हो ।

यी कुनै चिजले आजका समस्या हल गर्न सक्दैनन । जसले एक काल्पनिक अतितको विजय मज्जा दिन सक्दछ, तर त्यो आनन्द क्षणभर मै निष्क्रिय हुन्छ । प्रगति तिनै मानिसलाई प्राप्त हुन्छ जो अतितभन्दा भविष्यको जितमा विश्वास गर्दछन् ।

आफ्नो धर्मलाई प्रेम गरौं । असल परम्परालाई सम्मान गरौं । तर वैज्ञानिक सोच राख्न नचुकौं । नयाँ खोजप्रति जिज्ञासा राखौं । परिणामलाई बदल्न सक्ने कारणहरुलाई चिनौं र बदलौं । कुनै अवैज्ञानिक सोच र रुढीवादले हैन, यही वैज्ञानिक सोचले मात्र भारतका सुनौला दिनहरु फिर्ता ल्याउन सक्दछ ।

(भारतका चर्चित उपन्यासकार भगतको यो आलेख दैनिक भास्करको हिन्दी संस्करणबाट अनुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय