scheduleबिहिवार बैशाख २३ गते, २०७८

प्रिमियर लिग: वेस्टह्‍यामले जीत निकाल्दा वेस्टब्रोम र वुल्भसले अंक बाँडे

काठमाडौं, २१ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वेस्टह्‍याम युनाइटेडले जीत हासिल गरेको छ । वेस्टह्‍यामले बर्नलीलाई उसैको मैदानमा २-१ ले हराएको हो ।

वेस्टह्‍यामको जीतमा दुवै गोल मिकेल एन्टोनियोले गरेका थिए । बर्नलीका क्रिस वूडले एक गोल गरे । खेलका सबै गोल पहिलो हाफमै भएका थिए ।

खेलमा सुरुवाती अग्रता भने बर्नलीले लिएको थियो । १९औं मिनेटमा वूडले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमै एन्टोनियोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

२९औं मिनेटमा पुनः एन्टोनियोले गोल गर्दै वेस्टह्‍यामलाई अगाडि ल्याए । दोस्रो हाफमा थप गोल निस्कन सकेन र वेस्टह्‍याम २-१ ले विजयी भयो ।

जीतसँगै ३४ खेलबाट ५८ अंक भएको वेस्टह्‍याम तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पराजित बर्नली ३४ खेलबाट ३६ अंकसहित १६औं स्थानमा छ ।


त्यसैगरी गएराति नै भएको अर्को खेलमा वेस्ट ब्रोम र वुल्भसले बराबरी खेल्दै अंक बाँडेका छन् । वेस्ट ब्रोमले वुल्भसलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

वुल्भसका फाबियो सिल्भाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दिलाएका थिए । ६५औं मिनेटमा वेस्टब्रोमका एमबाए डियाग्‍नेले बराबरी गोल फर्काए ।

बराबरीपछि वुल्भस ३४ खेलबाट ४२ अंकसहित १२औं स्थानमा छ भने वेस्टब्रोम २६ अंकसहित १९औं स्थानमा यथावत् छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय