scheduleबिहिवार बैशाख २३ गते, २०७८

कृतघ्न कमरेडः अमिकलाई बर्खास्त गर्ने ओलीको शैलीले उब्जाएको प्रश्न

साझापोस्ट टिप्पणी

काठमाडौं, २१ वैशाख । अमिक शेरचन नेपाली राजनीतिका चिरपरिचित नाम हो । उनी राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन् । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताएका उनी निर्भीक, निडर र इमान्दार पनि रहेका थिए ।

शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य भए सँगसँगै चितवन जिल्ला सचिव पनि । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताए ।

वामपन्थी नेता साध्यबहादुर भण्डारीका अनुसार विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य रहेका थिए । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रुपमा घोषणा गरिएको थियो ।

नेता भण्डारीले पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको जानकारी दिए । शेरचन वि.सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए । त्यसका केन्द्रीय अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका थिए । नेता भण्डारीका अनुसार वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा.भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । वि.सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए ।

पञ्चायतविरुद्धको संघर्षदेखि नेपाली राजनीतिमा क्रियाशील उनी ०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिकामा थिए । जनआन्दोलनअघि तत्कालीन सात दलले गर्न गरेका विरोध प्रदर्शन र सभाहरूमा शेरचन गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूसँगै देखिन्थे।

शेरचन २०६२ सालको जनआन्दोलन गरेका सातदलीय गठबन्धनको एउटा घटक जनमोर्चाको अध्यक्ष थिए।

जनआन्दोलनको बेला सडकमा अग्रमोर्चामा खटेका उनी ०६४ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने । उनी नेकपा माओवादीका तर्फबाट संविधानसभा सदस्य पनि बने ।

जनआन्दोलन सफल भएपछि उनको दल र नेकपा माओवादीबीच एकीकरण भएको थियो । उक्त माओवादी पार्टी र नेकपा एमालेबीच एकीकरण भएर नेकपा बन्यो ।

देश र जनताका लागि आफ्नो प्राणको पनि बाजी लगाएर राष्ट्र निर्माणको खातिर सङ्घर्षरत उनलाई नेकपाले प्रदेश प्रमुख बन्न प्रस्ताव गर्‍यो । उनले अस्वीकार गरे । सुरुमा तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले उनलाई आग्रह गरे । उनले मानेनन् । लगत्तै अर्का अध्यक्ष प्रचण्डले बिन्ती बिसाए ।

अर्को दिन त पार्टीले निर्णय नै गर्‍यो । पार्टीको आदेशपालक एक कार्यकर्ताको रुपमा उनी उक्त पदमा जान तयार भए ।

शेरचनलाई गण्डकी प्रदेशका प्रदेश प्रमुखका रुपमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी थिइन् ।

उनले १८ महिनासम्म आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेकै थिए । योबीचमा नेकपा फुट्यो । नेकपा फुटाउन उनको कुनै भूमिका थिएन । बरु उनी गण्डकी प्रदेश सरकारको स्थायित्वको पक्षमा पार्टीका प्रमुखहरुलाई भेट्दै हिंडे ।

हिजो अनुनय विनय गरेर प्रदेश प्रमुख बन्न भूमिका खेलेका ओलीले अहिले एक शब्द जानकारी नदिईकन शेरचनलाई पदमुक्त गरिदिए ।

सक्रिय राजनीति रुचाउने शेरचन प्रदेश प्रमुखको जिम्मेवारीलाई खुल्ला जेलको संज्ञा दिन्थे ।

उनले उक्त पदबाट पटकपटक राजीनामा दिन खोजे तर प्रचण्डले रोके । अन्तिममा उनले पद गुमाउनु परेको छ, त्यो पनि अराजनीतिक ढंगले । एउटा पाको र सादगी नेतालाई केपी ओलीले एक शब्द सूचना पनि नदिई, गल्ती के भएको हो भन्ने जानकारी नदिई बर्खास्त गरेका छन् ।

ओलीले अमिक शेरचनलाई विस्थापन गर्न रोजेको पात्रबाट पनि केही सन्देश दिन चाहेका छन् । त्यो हो- उनलाई संघीयता मन पर्दैन । त्यसो त जनआन्दोलनताका उनले दिएको अभिव्यक्ति अहिले पनि चर्चा र विवादमा छ ।

उनले गणतन्त्रका योद्धा शेरचनलाई हटाएर राजावादी र संघीयताविरोधी राजनीति गर्दै आएका सप्तरीका गंगाप्रसाद यादवजस्तालाई प्रदेश प्रमुखको जिम्मेवारी दिएका छन् ।

दोस्रो संविधान सभाका राप्रपाबाट संविधानसभा उपाध्यक्ष बनेका यादव ०७४ मा राप्रपा छाडेर एमाले छिरेका थिए ।

पात्रको रोजाईदेखि कार्यशैलीमा पनि ओलीले अनौठो व्यवहार देखाएका छन् । एकजना वयोवृद्ध कम्युनिष्ट नेतालाई अपमानजनक ढंगले हटाउनुअघि एकपटक जानकारी पनि नदिनु र सञ्चार माध्यमबाट आफू बर्खास्तीमा परेको थाहा पाउनु दुःखद पक्ष हो ।

जाँदाजाँदै अमिकको एउटै चित्त दुःखाई रह्यो- म छाड्न चाहन्थेँ, तर एकपटक पनि खबर नगरी हटाइयो, यसमा चित्त दुःखेको छ ।

ओलीले देखाएको यो चरित्र कम्युनिष्ट चरित्र हो कि ओली चरित्र हो ? जवाफ समयले दिनेछ । के कम्युनिष्टहरुले यस्ता पात्रहरुलाई सम्मान गर्न जान्दैनन् ? के कमरेडहरुको हतियार कृतघ्नता मात्रै हो ? पछि लाग्ने जति सबै भक्त र भगवान, विरोध गर्नेजति सबै दानव र दुश्मन हुन् ? ओलीको अभ्यास र अमिकको चित्त दुःखाईले पक्कै केही प्रश्नहरु जन्माएको छ ।

हुन त नेपाली राजनीतिक संस्कार नै यस्तै छ । किसुनजी र गणेशमानहरुलाई अपमान गर्ने कांग्रेसका नेताहरुले कहिल्यै पश्चात्ताप गरेनन् । कम्युनिष्टहरु त फरक विचार राख्ने पार्टीभित्रैका कमरेडहरुलाई हत्यासम्मको अभ्यास गर्दै आए ।

हामी यति मात्रै कामना गर्न सक्छौं कि कृतघ्नताको जवाफ इतिहासले कृतघ्न नै भएर दिन्छ भन्ने स्थापित सत्य ओलीले आफ्नो जीवनकालमा व्यहोर्नु नपरोस् ।

ओलीलाई केही सन्देश दिन चाहेका अमिकको बिदाई मन्तव्य-

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यसबीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ । यहाहरुप्रति आभार व्यक्त गर्दछौँ ।
पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरीमुरी धन्यबाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो । अधिकारविहिन खुल्ला जेलबाट मुक्त गरीदिनुभएकोमा पनि धन्यवाद ।
म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्व राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरे । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल आले र क.मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरेँ । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ ।
सन्त नेता क.मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ । पद र सत्ताको लागि असंवैधानिक पद्धति र अपाच्य दृष्यहरु थोपार्दै पद जोगाउने व्यक्ति म होईन । न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ । म मार्क्सवाद ,लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवि सर्वहराजीविको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ ।
राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र साम्राज्यविरुद्वको संघर्षहरु पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि-सम्झौताविरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका षड्यन्त्र र गद्धारी गरेको छैन । न त अरबौं कमिशन र भ्रष्टचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट बर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग ।
भ्रष्टाचार र कमिशनहरुको खेलमा डङडङी गनाएको आरोप लाग्दा पनि भ्रष्टचार शून्यमा झार्छु भन्ने ढोंगी व्यक्ति पनि होइन म बरु वैदेशिक हस्तक्षेप, सन्धि-सम्झौता र भ्रष्टचारविरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयाताना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ ।
संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा हात करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटकपटक कैयौं दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस्- कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्दन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।
आज देश कोभिडबाट आतंकीत र अक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।
एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालिन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।
यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको थिएँ । कुनै पनि पार्टी विशेषको प्रभाव र छायाँमा काम गरिनँ । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियमबमोजिम नै निर्णयतार्थ सम्पादन गरेको थिएँ । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु । अन्तमा लोकतन्त्र संघीयता धरापमा नपरोस् । यसका लागि पक्षधरताहरुबीचको सहकार्य र एकतामा अघि बढौँ मेरो हार्दिक अपील छ ।
अमिक शेरचन

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय