scheduleबिहिवार बैशाख २३ गते, २०७८

कोरोनाबाट एकपछि अर्को खेलाडी संक्रमित भएपछि आईपिएल स्थगित

एजेन्सी, २१ बैशाख । कोरोना भाइरसको प्रभाव इन्डियन प्रिमियर लिग (आईपिएल) मा पनि देखिन थालेको छ । यही भएर यस सिजनको आईपिएल अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

खेलाडीहरु एकपछि अर्को गर्दै कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि अनिश्चित कालका लागि आईपिएल स्थगित गरिएको समाचार माध्यममा उल्लेख गरिएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) सँग निकट स्रोतलाई उदृत गर्दै अनिश्चित कालका लागि आईपिएल स्थगित भएको समाचार माध्यममा जनाइएको छ । बिसिसिआईको स्रोत अनुसार कैयौं खेलाडीलाई कोरोना संक्रमण भएपछि आईपिएल अन्तर्गतका खेल स्थगन गरिएको हो ।

सनराइजर्स हैदराबादका रिद्दिमान साहा र दिल्ली क्यापिटल्सका अमित मिश्रा पनि कोरोना भाइरसबाट संक्रमित भएपछि बिसिसिआईले आईपिएलको यो सिजन नै रद्द गर्ने तयारी गरेको केही समाचार माध्यमले जनाएका छन् ।

हिजो कोलकत्ताका वरुण चक्रवर्ती र सन्दिप वारियरलाई कोरोना पोजिटिभ देखिएको थियो । त्यस्तै आज चेन्नई सुपर किङ्ग्सका तीन जना संक्रमित भएका छन् ।

आज संक्रमित हुनेमा चेन्नईका प्रमुख कार्यकारी काशी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र एकजना बस क्लिनर रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय