scheduleबिहिवार बैशाख २३ गते, २०७८

ओभरपास पुल भत्किएर सडकमा रेल खस्यो: २३ को मृत्यु, कैयौँ घाइते

एजेन्सी, २१ बैशाख । मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ पुल भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तिमा २३ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ । उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरू स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन् ।

घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शिनबौमले बताइन् । उनले गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको बताइन्।

‘कारमा च्यापिएको एक व्यक्तिलाई सकुशल उद्धार गरिएको छ भने उद्धारकर्मीहरूले ओभरपास र रेलका डब्बा हटाई फसेका व्यक्तिहरूको खोजी गरिरहेका छन्’, शिनबौमले थपिन् । मृतकहरू बालबालिका तथा महिला समेत रहेको उनको भनाइ छ ।

शिनबौमका अनुसार कारमा फसेका अन्य व्यक्तिहरू जिवितै रहेको वा मृत्यु भइसकेको अझै थाह हुन नसकेको अवस्था छ ।

पुलको निर्माण गरेका नगरका पूर्व प्रमुख तथा विदेश मामिला मनत्री मार्सेलो इबार्डले शहरमा भएको दुर्घटनालाई निकै त्रासदीपूर्ण घटना भनेका छन् । ‘पक्कै पनि यसको कारण अनुसन्धान गरिनुपर्छ र दोषीको पहिचान गरिनु पर्छ’, मार्सेलोले भने ।

मेक्सिको सिटीको रेल सेवा संसारको सबभन्दा ठूलो र व्यस्तमध्ये एक हो । आधा शताब्दी पहिले यसको उद्घाटन भएदेखि कम्तिमा दुई गम्भीर दुर्घटनाहरू भएका छन् । गत वर्षको मार्चमा टाकुबाया स्टेशनमा दुई रेल बीचको टक्करमा एक यात्रीको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए ।

त्यस्तै सन् २०१४ मा ओसिनियामा समयमै नरोकिएको एउटा रेल स्टेशनमा अर्को रेलसँग जुध्दा अर्को दुर्घटनामा भएको थियो जसमा १२ जना घाइते भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय