scheduleबिहिवार बैशाख २३ गते, २०७८

महन्थ ओलीतन्त्रको पोल्टामा जानुहुने छैनः प्रमुख खतिवडा

काठमाडौं, २१ वैशाख । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जसपा अध्यक्ष महन्थ ठाकुर ओलीतन्त्रको पोल्टामा नजाने विश्वास व्यक्त गरेका छन् ।

जसपाभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगिरहेको बेला नेता खतिवडाले मंगलबार अपरान्ह सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गरेका हुन् । ‘राजनीतिक संघर्ष अब निर्णायक मोडतिर आइपुगेको छ,’ उनले लेखेका छन्, ‘अझै आशा गरौं कि महन्थ ठाकुर ओलीतन्त्रको पोल्टामा जानु हुने छैन ।’

अध्यक्ष महन्त ओलीतन्त्रतिर गइहाले पनि सबैभन्दा बढी क्षति उनैलाई हुने खतिवडाको बुझाई छ । ‘गइहाले इतिहासले एउटा अर्को तुल्सी गिरी, बिश्वबन्धु थापा, पर्शुनारायण चौधरी र हृदयेश त्रिपाठी पाउनेछ,’ उनले लेखेका छन्, ‘अरुलाई २-४ दिनको घाउ हो, सबैभन्दा ठुलो घाटा उहाँकै व्यक्तित्वलाई हुनेछ ।’

आजै जसपाका युवा नेता विश्वदीप पाण्डेले जसपा फुटाउन देशी विदेशी शक्तिहरु झोलामा पैसा बोकेर नेताहरुको दैलोदैलोमा पुगिरहेको जिकिर गरेका थिए । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको प्रेस सल्लाहकार समेत रहेका पाण्डेले लेखेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ ।’

यस्तो छ पाण्डेको स्टाटस-
नेपालको संसदीय राजनीतिमा पजेरो काण्ड, बैङ्कक काण्ड, सुरासुन्दरी काण्डलगायतका अनेकन कुख्यात काण्डहरूले कालो दाग छोडेका छन् । यो बीचमा नेपालको नदीनालामा निकै पानी बग्यो । पानी मात्रै होइन, हजारौं नेपालीको रगत र पसिना पनि बग्यो । व्यवस्था परिवर्तन गर्ने क्रान्ति र आन्दोलनहरु भए । जसले संसदीय राजनीतिमा लागेको त्यो दाग मेट्ने अपेक्षा गरिएको थियो । सुसंस्कृत राजनीतिमार्फत् ।

तर विडम्बना ती घृणा गर्न र बिर्सनलायक सबै काण्डलाई माथ गर्ने खालको, संसदीय राजनीतिलाई थप विकृत बनाउने कुकृत्य नेपाली राजनीतिमा पुनः हुन थालेको छ । सत्तासीन पार्टी आफू सत्तामा टिकिराख्न जुनसुकै स्तरमा गिर्न पनि तयार भएर आएको छ । प्रतिपक्षी दल पनि अराजनीतिक नाङ्गो नाँच हेरेर आनन्द मानिरहेको छ । काँग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब करिब फुटको संघारमा पुगेको छ ।

हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद/कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ । यस्तो स्थितिमा जसपा फुटमा रमाउने भन्दा पनि लोकतन्त्र बचाउन र सुसंस्कृत राजनीति गर्नतर्फ लागौं !

यो जसपाको मात्रै सरोकारको विषय होइन, पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने भन्ने गम्भीर विषय हो । यस्तो दुष्प्रवृत्ति नरोक्ने हो भने दुई दशकअघिको राजनैतिक कुसंस्कार थप झ्याँङ्गिदै जानेछ । क्रान्ति र आन्दोलनमा भएका वलिदानहरू खेर जानेछ । जनताका अपेक्षाहरू धुमिल हुनेछ । त्यसकारण यसलाई बेलैमा रोकौं, सबै सचेत बनौं । हाम्रो पुस्ता त यस्तै भयो, कम्तिमा हुर्कँदै गरेको भावी पुस्ताको लागि सोचौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय