scheduleबिहिवार बैशाख २३ गते, २०७८

प्रधानमन्त्रीले षड्यन्त्रपूर्वक विश्वासको मत लिन खोजे, यसलाई असफल पार्छौंः कांग्रेस

काठमाडौं, २१ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले षड्यन्त्रपूर्वक विश्वासको मत लिन खोजेको भन्दै यसलाई असफल बनाउने निर्णय गरेको छ ।

ओलीले षड्यन्त्रपूर्वक विश्वासको मत लिन लागेको कांग्रेस पदाधिकारी बैठकले निष्कर्ष निकालेको हो । सभापति शेरबहादुर देउवा निवासमा मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न सबै प्रयास गर्ने निर्णय गरेको हो । बैठकले ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय बैठकले गरेको सहमहामन्त्री तथा कार्यवाहक प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाएको छ ।

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउन लाग्ने कुरा भएको छ ।’

उनले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको जानकारी दिए ।‘हाम्रो पहिलो लक्ष्य विश्वासको मत लिने लक्ष्यलाई असफल बनाउने हो । त्यसपछि वैकल्पिक सरकार गठन गर्न अघि बढ्छौं,’ उनले भने, ‘विश्वासको मत लिनबाट प्रधानमन्त्रीलाई फेल गराउन सकेसम्म प्रयास गर्छौं ।’

विश्‍वासको मत लिने ओलीको कदम असल नियतबाट निर्देशित नरहेको र यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने निश्कर्ष निकाल्दै यो विरुद्ध संगठित रुपमा प्रस्तुत हुने निर्णय गरेको उनले बताए । विश्वासको प्रस्ताव फेल भएपछि वैकल्पिक सरकार गठनको लागि बाटो खुल्‍ने उनको भनाई थियो ।

वर्तमान सरकारले चौतर्फी रुपमा संवैधानिक मान्यता र मर्यादालाई भत्काउने काम गरेको र प्रदेशमा पनि नाङ्गो किसिमबाट अल्पमतमा पुगिसकेपछि सरकार बनाउने असंवैधानिक काम केन्द्रको निर्देशनमा भएको भन्दै भर्त्सना गरिएको महतले बताए । त्यस्तै उनले संसदलाई छलेर अध्यादेशको माध्यमबाट धेरै बिषयलाई अघि बढाउने काम भएको भन्दै बैठकले भर्त्सना गरेको जानकारी दिए ।

त्यस्तै कारोना महामारीमा आवश्यक सामाग्रीको उचित वस्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कोरोनाका कारण पार्टीको महाधिवेशन अप्ठेरोमा परेपनि तोकिएको समयमा नै महाधिवशेन सम्पन्न गर्न आन्तरिक काम जारी राख्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय