scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

पश्चिम बङ्गालमा मार्क्सवादीको आत्मघाती द्वन्द्ववाद

अरुण महेश्वरी

भारतीय कम्युनिष्ट पार्टी, मार्क्सवादी (सिपिआईएम/सिपिएम) का अहिलेका छद्म सिद्धान्तकारहरूले पश्चिम बङ्गालमा आफ्नो काम तमाम गर्दिएका छन् । यो राज्यमा सिपिएमका लागि मानौं कि भविष्यको सम्भावना समेत दफन गरिएको छ ।

सिपिएमका सिद्धान्तकारहरू लामो समयदेखि द्वन्द्ववादी प्रक्रियाको बारेमा एक अजिब प्रकारको बुझाई र भ्रान्त धारणाको परिचय दिइरहेका थिए। उनीहरू द्वन्द्वात्मकतालाई सधैं दुईको बीचमा हुने विरोध र संघर्षको प्रक्रियाको साटो बहुकोणीय विरोध र संघर्षको प्रक्रियाका रुपमा देख्न अभ्यस्तजस्तै भएका थिए ।

कुनै पनि स्थितिको विकासमा अनेक प्रकारका द्वन्द्वको सम्मिश्रण अवश्य हुन्छ तर त्यसको अन्तिम परिणाम भने दुईबीचको द्वन्द्वले समाधानको रुप लिन्छ । द्वन्द्वको समीकरण निर्माण गर्दा यो बीजगणितका समीकरण र समाधानको प्रक्रियाभन्दा भिन्न हुँदैन । यही नै द्वन्द्ववादको क्रियात्मकताको तात्विक गुण हो ।

तर, सिपिएमका अहिलेका सिद्धान्तकारहरू प्रत्येक निर्वाचनमा कुनै एक निश्चित लक्ष्यलाई छनौट गरी मैदानमा उत्रिनुको साटो ‘यसपाली यसलाई हराउँ, उसलाई कमजोर बनाउँ’ जस्तो बहुकोणीय लक्ष्यलाई अपनाएर चल्ने गरेका थिए । उनीहरूलाई यो कुराको अनुभूति नै थिएन कि संसदीय लोकतन्त्रमा निर्वाचन लडाईंको एक निर्णायक स्तर हुने गर्दछ । तर, उनीहरूको क्रान्तिकारितामा चुनावले सायद एक प्रचारात्मक राजनीतिक अभियानभन्दा बढी मूल्य राख्दैनथ्यो ।

यहाँसम्म कि त्यसमा राज्यसत्ताको आधारभूत चरित्रको, लोकतन्त्र भर्सेस् फासीवादजस्तो प्रश्न जोडिएको किन नहोस् । लोकतान्त्रिक प्रक्रियाको क्रियात्मक मर्मलाई आत्मसात गर्न नसक्ने कारणले चुनावी लडाईंमा सधै एक प्रकारको अन्यौलभरि मानसिकता बन्दछ । यस प्रकारको उल्झनले कुनै परिणम दिन सक्दैनथ्यो । यस्तो चुनावी रणनीतिले पराजय र निरासा बोकेर आफ्नो शिविरमा फर्किने नियति भोग्नु स्वभाविक हुन्थ्यो ।

मुख्य शत्रु किटान नगरिकन निर्णायक संघर्षको मैदानमा उत्रिदा आफ्नै तलबार भाँचेर फर्किनु बाहेक अरु के उपलब्धि हुन्छ र ? यो द्वन्द्ववादको नियममा आधारित क्रान्तिकारिताको एक सामान्य बिडम्बना नै हो । पश्चिम बङ्गालमा सिपिएमले यसपटक चुनावबारे त्यही भ्रान्त द्वन्द्ववादको अभ्यास दोहोर्‍याएको थियो । पहिलापहिला पनि यस्तो हुन्थ्यो, पार्टी निरन्तर ओरोलो लाग्दै गएको थियो । तर, यसपाली त पार्टीको विघटन नै भएजस्तो स्थिति बन्न पुग्यो ।

साम्प्रदायिक फासीवादविरुद्ध संघर्षको नेतृत्व गर्ने कर्तव्यबाट अलग भएर, जनताका जनतान्त्रिक अधिकारको रक्षा गर्ने लडाईंबाट आफूलाई पर हटाएर सिपिएमले लोकतान्त्रिक राजनीतिको संघर्षको मैदानमा समेत आफूलाई अप्रासङ्गिक बनायो । मलाई यो बुझ्न गाह्रो भइरहेको छ कि अब यिनीहरू कसरी फेरि उभिन सक्लान् ?

जब बङ्गाल चुनावको घोषणा भयो, सिपिएमले कांग्रेससँग चुनावी गठबन्धन गर्ने सम्झौता गर्‍यो, त्यतिखेर मैले आफ्नो ब्लग ‘चतुर्दिक’ मा अक्टोबर ४ मा एक टिप्पणी गरेको थिएँ– बङ्गाल चुनावका संकेतलाई पक्रिने आधार । यसमा मैले लेखेको थिए कि अब बङ्गाल चुनावको प्रारम्भ त्रिकोणीय हुन्छ तर लडाइँको अन्त्यतिर कुन दिशा पक्रिन्छ भन्न सकिन्न । यसलाई अहिल्यै अनुमान गर्न जरुरी छ । त्यो काम सांगठानिक बिषयको साथसाथै राजनीतिक विचारधारात्मक आयामलाई सुक्ष्मतापूर्वक समातेर मात्र गर्न सकिन्छ । घटनाक्रमले कस्तो मोडहरू पैदा गर्दछ, त्यसका संकेतहरूलाई ध्यान दिन जरुरी हुन्छ ।

मैले बङ्गाल राजनीतिमा भाजपाको प्रवेशलाई ‘एक स्वीकार गर्नुपर्ने सत्य’ भनेको थिए । किनकी त्यो पार्टी केन्द्रको सत्तामा छ । बङ्गालमा उसले आफ्नो पुरै ताकत होमेको छ । यो शक्ति संविधानविरोधी र भारतीय लोकतन्त्रका आधारको प्रतिपक्षी बनेको छ । यसको तुलनामा बाँकी २ शक्तिहरू तृणमूल कांग्रेस र वाम–कांग्रेसको वैचारिक आधार अलिकति घटीबढी हुन सक्दछ तर मूलत एउटै आधारमा खडा थिए । भाजपाले तृणमूल कांग्रेसकै भ्रष्ट र बदनाम तत्वलाई आफ्नो संगठनमा भरेर ताकत हासिल गर्‍यो । यसले उसको अलग राजनीतिक पहिचानलाई कुनै असर पर्ने थिएन ।

त्यो लेखमा मेरो तर्क थियो कि तृणमूल कांग्रेस र भाजपा दुवै उस्तै हुन् भनेर मतदातालाई विश्वासमा लिन सम्भव नै हुँदैन । विगतमा भाजपाको सरकार केन्दमा तृणमूल कांग्रेस सहभागी भएको उदाहरणले पनि यो कुरा पत्यारिलो हुँदैन । साथै, राज्यको सत्ताधारी दलका रुपमा तृणमूल कांग्रेसलाई भाजपा विरोधी लडाँइको नेतृत्वदायी स्थान हासिल गर्ने सुविधाजनक अवस्था प्राप्त हुन्छ ।

मैले यो पनि प्रष्ट लेखेको थिए कि तृणमूल कांग्रेस भर्सेस् वाम–कांग्रेस प्रतिद्वन्द्वितामा अहिलेसम्म अनुपस्थित भाजपाले यसपाली निर्णायक वा कारक शक्तिको भूमिका गर्नेवाला छ । बङ्गालमा भाजपा बिकल्पहीनताको स्थितिको फाइदा उठाएर निर्विकल्प बन्न खोज्दैछ । उसले यहाँ आफूलाई जुन पैमानामा प्रोजेक्शन गर्दैछ, मतदातासँग कि त उहीतिर लाग्नु कि त उसैसँग लड्नु बाहेक अरु विकल्प नै बाँकी रहँदैन । जहाँजहाँ नेर मतदातालाई भाजपाको छवी र अवस्था धुमिल लाग्दछ, त्यहाँत्यहाँनेर उनीहरूको ध्यान तृणमूल कांग्रेसतिर जानेछ, वाम–कांग्रेसतिर हैन ।
त्यसो हुनुको कारण प्रष्ट थियो ।

तृणमूल कांग्रेसले भाजपाका संविधान विरोधी कार्यहरू, फासीवाद र लोकतन्त्रका आधारभूत मान्यतालाई हानी पुर्‍याउने क्रियाकलापको प्रष्ट विरुद्धमा उभ्याएको थियो ।

तसर्थ भाजपा विरोधी जनमतको स्वभाविक फाइदा तृणमूल कांग्रेसलाई हुनु नै थियो । बङ्गालमा तृणमूल कांग्रेसले धर्मनिरपेक्षता र लोकतान्त्रिक शक्तिको नेतृत्वदायी स्थान बनायो । यो स्पेशमा वाम–कांग्रेसलाई प्रवेश नै गर्न दिएन । वाम–कांग्रेस त यो वैचारिक परिदृष्यमा टाढै छोडिए ।

मैले त्यो टिप्पणीमा मनोविज्ञानका केही सुत्रहरू प्रयोग गरेको थिए । जस्तो कि कुनै व्यक्ति आफ्नो बाह्य व्यक्तित्वको आवरणलाई परित्याग गरी जब आफ्नो मूलभूत चरित्रमा फर्किन्छ, त्यो व्यक्ति व्यक्तित्वको साँचो मार्गमा फर्किन्छ, अब उसलाई उसको बाह्य व्यक्तित्वतिर इसारा गरेर गरिने आलोचनाबाट केही हात लाग्दैन ।

तृणमूल कांग्रेसको विगतको व्यक्तित्व के थियो, त्यो आफ्नो ठाउँमा थियो । उसका अतितका कडी र कथाहरू जेसुकै हुन्, यो चुनाबमा यो दल बङ्गालको सत्तारुढ दल थियो । तर, यो कारणले मात्र हैन, भारतीय राजनीतिको धर्मनिरपेक्षता तथा संविधानवादी ताकतको बङ्गाल प्रतिनिधिका रुपमा उसले चुनाव लडेको थियो । तसर्थ विगतमा यो दल केन्द्रमा भाजपाको सहयोगी दल थियो भन्ने कुरा पुरै अप्रासंगिक भइसकेको थियो ।
तसर्थ वामपन्थीहरूसँग मेरो भनाई थियो कि तृणमूल कांग्रेससंगको प्रतिद्वन्द्वितालाई उनीहरूले छोडिदिऊन् । वाम–कांग्रेसले हरहालतमा भाजपा विरोधी शक्तिको रेखा तृणमूल कांग्रेसले भन्दा बढी खिचून् । यसो गर्न छोडेर भाजपा र तृणमूल कांग्रेस दुवैलाई उस्तै देखाउने र तेस्रो विकल्प आउन आव्हान गर्ने तरिका सफल हुनेछैन ।

तर, कुनै पार्टीको कार्यपद्धति र कुनै विश्लेषकको विचारबीच कहाँनेर तालमेल हुन्छ र मेरो विचारको कुनै अर्थ होस् ?

बङ्गाल चुनावबारे सिपिएमको भ्रान्त द्वन्द्ववादबारे फेरि एकपटक लेख्न मैले आवश्यक ठानेँ जब महासचिव सीताराम येचुरीले पार्टीको राज्य कमिटीलाई कोलकातामा सम्बोधन गर्दै आफ्नो सैद्धान्तिक समझको रुपरेखा पेश गरे र त्यसबारे जनवरी १६ को ब्लगमा मैले लेखेको थिए । मैले लेखेको थिए कि कुनै पनि लडाइँ अन्ततः त्रिकोणात्मक हुँदैन । यो द्वन्द्ववादको अतिसाधारण नियम हो । अन्त्यसम्म पुग्दा नपुग्दै यसलाई द्वि–कोणात्मक बनाउनै पर्दछ ।

भारतीय राजनीतिको अहिलेको मुख्य अन्तर्विरोध धर्मनिरपेक्षता र साम्प्रदायिकताका बीचमा, लोकतन्त्र र फासीवादका बीचमा छ । पुरै उत्तर भारत यसको रणमैदान हो । बङ्गालका आफ्नै मौलिक विशिष्टताका बाबजुद यसको भौगोलिक सम्बन्ध उत्तर भारतसँग नै छ । उत्तर भारतको शीतलहरलाई बङ्गाल प्रवेशबाट रोक्ने कुनै विन्ध्याञ्चल पर्वत छैन । भारतीय राजनीतिको मुख्य अन्तर्विरोध नै बङ्गाल राजनीतिको पनि मुख्य अन्तर्विरोध हुन्छ, यो कुरा स्वीकार गर्न ढिलो गर्नु हुँदैन ।

मेरो धारणा थियो कि अहिले मैदानमा ३ शक्तिहरू छन् । तर, पुरै घटनाक्रमले विस्तारै यसलाई दुईमा बदल्ने छ । एकातिर धर्मनिरपेक्षता र लोकतन्त्रवादी भावना हुनेछ । अर्कोतिर साम्प्रदायिकता र फासीवाद हुनेछ । अरु सबै परिस्थितिहरू चुनावी लडाईंको मैदानको बीचतिरै अन्तर्ध्यान हुनेछन् । तर महासचिव येचुरीले राज्य कमिटी बैठकमा त्रिमुखी स्थिति अन्त्यसम्म रहन सक्ने अनुमान गरेका थिए ।

अरुण महेश्वरी

त्यतिखेरै मैले भन्या थिए कि द्वन्द्ववादको नियमको आधारमा यो एक तार्किक असम्भवता (लजिकल इम्पोजिविलिटी) हो । यसलाई अभिव्यक्त गर्ने बंगालीमा एक सुन्दर उखान छ– सोनार पाथर बाटी । अर्थात् सुनले बनेको ढुंगाको कटौरा । महान मनोविश्लेषक जोन लक यस्तो अवस्थालाई ‘सर्कुलर स्क्वायर’ भन्दछन् ।

लक भन्छन् कि संसारमा अनेक दिशाहरू छन् । तर, कुनै पनि कर्ताले खास समयमा अरु दिशालाई छोडिदिन्छ र कुनै दुई मध्ये एक दिशा पक्रिन्छ । यदि कुनै कर्ताले तीन वा बढी दिशाहरू एक साथ हिंड्न खोज्दछ भने त्यो यात्राजस्तो नभएर वृत्तजस्तो बन्न पुग्दछ । यसले कर्तालाई दिशाहीन बनाउँछ र गोलचक्करमा फसाउँछ । कर्ताको गति अगाडि बढ्न पाउँदैन । त्यही गोलभित्र घुमी मात्र रहन्छ । यस्तो स्थितिमा कर्ता तेस्रोबाट दोस्रो र दोस्रोबाट पुन पहिलो बिन्दूमा पुग्दछ ।

मैले बङ्गाल चुनावको सम्भावित परिणामलाई यही शुत्रबाट बुझाउने प्रयत्न गरेको थिए । तृणमूल कांग्रेसको लामो शासनबाट असन्तुष्ट भएकाहरू जरुरी थिएन कि वामतिर आउँछन् । सम्भावना थियो कि भाजपातिर जाने छन् । जब भाजपाको स्थितिलाई बुझ्दछन् बरु तृणमूल कांग्रेस नै ठीक भनेर त्यतै फर्किन सक्दछन् । यस्तो बेला लकको ‘सर्कुलर स्क्वायर’ जस्तो स्थिति बन्दछ तसर्थ त्रिकोणात्मक चुनावी परिणाम ‘सुनले बनेको ढुंगाको कटौरा’ भनेजस्तो हुन्छ । परिणाम जहिँको त्यही बस्छ । गति तय नै हुन सक्दैन ।

त्यसैले मेरो राय थियो कि राजनीतिक रणनीतिको पहिलो शर्त विद्यमान अन्यौललाई प्रष्ट गर्नु हो । त्रिकोणात्मक परिणामको अपेक्षाको साटो द्वि–कोणात्मक स्थितिमा रुपान्तरण गर्न खोज्नु हो । अर्थात् मुख्य शत्रुलाई पहिचान गरी उही माथि आक्रमण केन्द्रित गर्नु हो ।

भाजपा यो मामिलामा बिल्कुलै प्रष्ट थियो । यो लडाइँमा उसले वाम–कांग्रेसलाई परिदृष्यबाट बाहिर राखेर पुरा ताकतका साथ तृणमूल कांग्रेसको विरुद्धमा लागेको थियो । वाम–कांग्रेसले तृणमूल कांग्रेस र ममताको विरोध गर्नुलाई भाजपाले आफ्ना लागि मुफ्तको सहयोगी काम ठान्दथ्यो । ठीक त्यसै गरी तृणमूल कांग्रेसले पनि यसपटक वाम–कांग्रेसको नामै उच्चारण गरेन । ममताले वामपन्थीसंगका हिजोका यावत कठिन संघर्ष बिर्सिदिइन् । आफ्नो पुरै ताकत भाजपा विरुद्ध लगाइन् ।

भन्न सकिन्छ कि भाजपा र तृणमूल कांग्रेसले द्वन्द्ववादको नियम पक्रेका थिए । तर वामपन्थीहरू पुरै अलमलमा थिए । उनीहरू तृणमूल कांग्रेस र भाजपा दुवैलाई समान आक्रमण गर्न र दुवै उस्तै हुन भन्ने सिद्ध गर्नतिर लागे । त्यो सम्भव थिएन । तृणमूल कांग्रेसले धर्मनिरपेक्षता, लोकतन्त्र र संविधानको मुद्दा बलियो गरी बोकेको थियो, मतदातालाई लाग्यो कि तृणमूल कांग्रेस हार्‍यो भने फासीवादको विजय हुन्छ । तसर्थ ममता शासनका यावत असन्तुष्टिका बाबजुद मतदाता फेरि तृणमूल कांग्रेसमै पुगे । तेस्रोबाट दोस्रो हुँदै पहिलोमा पुग्नु भनेको यही हो ।

यो बृहत्त लडाइँमा वामपन्थीहरूको सोच समुच्चयतावादी थियो । उनीहरूको कुनै लक्ष्य वा तारो थिएन । यसो भनौं कि यो लडाइँमा उनीहरू संघर्षको मैदानबाट पुरै बाहिर थिए । यदि एकाग्र चिन्तन भएको भए यसपटक पुरै ताकत भाजपाको विरुद्ध लगाउनु पर्दथ्यो । सिपिएमले बङ्गालमा भाजपाविरुद्ध पुरै ताकतले धर्मनिरपेक्षता, संविधान र लोकतन्त्रको शक्तिका रुपमा आफूलाई उभ्याउन सकेको भए, निश्चित थियो कि परिणाम आजको जस्तो हुने थिएन ।

अब यहाँ वामपन्थका लागि आफ्ना कथित युवा उम्मेद्वारहरूको उपलब्धी अर्थात् आत्ममुग्धतामा जिउने बाहेक अरु कुनै विकल्प बाँकी बचेजस्तो देखिन्न । वामपन्थीहरूको यो स्थितिको वास्तविक मुक्ति आफ्नो असक्षम नेतृत्वलाई सधैंका लागि बिदा गर्नु हो किनकी उनीहरूको असक्षमता स्वतः प्रमाणित सत्य बनिसकेको छ ।

यसपटकको बङ्गाल चुनावमा सिपिएम नेताहरूको मनोदशा फ्राइडियन मृत्यु प्रेरणा (डेथ इन्स्टिक्ट) को दुश्चक्र जस्तै थियो । त्यस्तो अवसादग्रस्त व्यक्ति जसले मनमनै मृत्युमा आफ्नो मुक्ति देख्न थालेको हुन्छ । उनीहरू चुनाव जित्नै चाहँदैनथे भन्ने त हैन तर रणनीति भने कुनै चमत्कारिक परिणाम आइदेला भन्ने बचकना अपेक्षामा आधारित थियो ।

(लेखक कोलकतास्थित वाम रुझान राख्ने विचारक तथा स्तम्भकार हुन् । उनको यो आलेख जनचौकको अनलाइन हिन्दी संस्करणबाट अनुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय