scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

‘अक्सिजन नपाएर संक्रमितको मृत्यु हुनु अपराधिक कार्य र नरसंहार जस्तै हो’

एजेन्सी, २२ बैशाख । अल्लाहबादस्थित उच्च अदालतले उत्तर प्रदेश सरकारको आलोचना गरेको छ । उच्च अदालतले अक्सिजन नपाएर कोभिड बिरामीको ज्यान जानु ‘अपराधिक कार्य र नरसंहार जस्तै भएको’ भन्दै मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा रहेको सरकारको आलोचना गरेको हो ।

उत्तर प्रदेशमा कोरोना संक्रमित बढ्दै गएको बेला मेडिकल अक्सिजनको अभाव देखिएको र यही कारण संक्रमितको ज्यान गइरहेको समाचार बाहिर आएपछि उच्च अदालतले मंगलबार योगी सरकारको आलोचना गरेको हो ।

अस्पतालमा अक्सिजनको अभावमा संक्रमितको ज्यान गइरहेको तथ्यले पर्याप्त अक्सिजन रहेको सरकारी दाबीलाई गलत साबित गरेको पनि उच्च अदालतको ठहर छ ।

‘अस्पतालमा अक्सिजन आपूर्ति नभएर कोभिड-१९ बिरामीको ज्यान गइरहेको कुराले हामी निकै दु:खी भएका छौं र यो मेडिकल अक्सिजन खरिद तथा आपूर्ति चक्रलाई निरन्तरता दिने जिम्मेवारी लिएका व्यक्तिको अपराधिक कार्य र नरसंहार जस्तै हो’, उच्च अदालतको आदेशमा भनिएको छ ।

पछिल्लो समय उत्तर प्रदेशमा दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ मंगलबार २५ हजार ८५८ नयाँ संक्रमित थपिएको र ३५२ जनाको मृत्यु भएको थियो ।

हाल उत्तर प्रदेशमा २ लाख ८५ हजार ८३२ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म १३ हजार ४४७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय