scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

चीनले गत हप्ता अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित, मानवबस्तीमा खस्न सक्ने त्रास

एजेन्सी, २२ बैशाख । चीनले हालै अन्तरिक्षमा पठाएको विशाल रकेट पृथ्वीतर्फ फर्कने क्रममा छ । तर ‘सिजेड ५बि’ नामक उक्त रकेट अनियन्त्रित भएर पृथ्वीतर्फ आइरहेको र कुनै पनि स्थानमा खस्न सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

‘लङ मार्च ५ बि’ पनि भनिने उक्त रकेटमार्फत् गत हप्ता चिनियाँ अन्तरिक्ष केन्द्रको मोड्युल ‘तिआनहे’ सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।तर उक्त मोड्युललाई अन्तरिक्षमा स्थापित गरेर पृथ्वीमा फर्किने क्रममा रकेट अनियन्त्रित बनेको हो ।

हाल सो रकेट प्रति सेकेण्ड ७ किलोमिटरका गतिले हिडिरहेको समाचारमा बताइएको छ । ‘सिजेड ५ बि’ रकेट मे ९ तारिखमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने संभावना रहेको वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

केही हप्ता पहिला स्पेस एक्सको फालकन ९ रकेटले स्टारलिंक टेलिकम्युनिशेन भू-उपग्रह पृथ्वीको कक्षमा स्थापित गरेर फर्कने क्रममा अनियन्त्रित भएको थियो । त्यतिबेला उक्त रकेट कहाँ र कहिले खस्छ भनेर वैज्ञानिकहरुलाई केही थाहा थिएन । अमेरिकाको पोर्टल्याण्ड र वाशिङ्टन राज्यमाथि हावामा उडिरहेका बेला फालकन ९ मा आगो लागेपछि वायुमण्डलमै नष्ट भएको थियो ।

यतिबेला चीनको ‘सिजेड ५बि’ रकेट पृथ्वीमा फर्किने क्रममा अनियन्त्रित हुन थालेकोले कतिबेला र कहाँ खस्छ भन्ने निश्चित छैन । यही भएर वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले उक्त रकेट मे ९ गते राति ११:१५ बजेतिर पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अनुमान गरेका छन् ।

पृथ्वीमा अवतरण गर्ने क्रममा कुनै मानववस्तीमा खस्ने हो कि भन्ने त्रास पनि बढिरहेको छ । गत वर्ष मार्चमा समेत यही मोडेलको रकेटका भग्नावशेष आइभरी कोस्टका गाउँमा खसेका थिए ।

तर रकेटको झुकाव ४१ डिग्री रहेको हुनाले यो अमेरिकाको न्यूयोर्क, दक्षिणी चिली, न्यूजिल्याण्डको वेलिङ्टन वा चीनको राजधानी बेजिइङतर्फ जान सक्ने संभावना रहेको समाचारमा उल्लेख गरिएको छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले हाल ‘सिजेड ५ बी’को निगरानी गरिरहेको छ । चिनियाँ रकेटमा पछिल्ला दुई दशकयता कै धेरै वजन रहेको सो एजेन्सीको भनाइ छ । तर ‘सिजेड ५बि’ को वास्तविक भारबारे केही खुलाइएको छैन् ।

चीनले विकास गरेको ‘सिजेड ५बि’ रकेट निकै विशाल छ किनभने यसले अन्तरिक्षमा विभिन्न सामग्री बोकेर लैजान सक्छ । तर यसबारे धेरै जानकारी सार्वजनिक गरिएको छैन ।

रकेटको लम्बाइ ३३.२ मिटर र चौडाइ ५ मिटर रहेको बताइन्छ । त्यस्तै रकेटको तौन १९.८ टन भएको अनुमान गरिन्छ ।

पृथ्वीमा फर्किने क्रममा कुनै पनि रकेट वा भू-उपग्रहको गति नियन्त्रण गर्न सक्ने हो भने रकेट अवतरण गर्ने स्थान तय गर्न सकिन्छ । तर गति नियन्त्रण गर्न सकिएन भने कहाँ र कुनबेला खस्छ वा अवतरण हुन्छ भनेर निश्चित गर्न सकिँदैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय