scheduleबुधवार आषाढ़ २ गते, २०७८

समाजवादी धारमा लाग्ने प्रचण्डको संकेत

काठमाडौं, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली मोडेलको समाजवादको स्थापना गर्न समाजवादी धारमा लाग्ने संकेत गरेका छन् । मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरणको चर्चा चलिरहेको बेला प्रचण्डले कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा शुभकामना दिँदै यस्तो संकेत गरेका हुन् ।

उनले कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै संसारभरका सम्पूर्ण वामपन्थी सर्वहारावादी कम्युनिष्ट क्रान्तिकारीहरुलाई शुभकामना व्यक्त गरेका छनु । अध्यक्ष प्रचण्डले नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएको बताएका छन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिन्छ। वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता हो,’ प्रचण्डले सन्देशमा भनेका छन्, ‘त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गर्दछु ।’

शुभकामनाको पूर्णपाठ

विश्व सर्वहारा–श्रमजीवी वर्गका महान गुरु कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा संसारभरका सम्पूर्ण वामपन्थी सर्वहारावादी कम्युनिष्ट क्रान्तिकारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु कार्ल मार्क्सले आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको छ।

माक्र्सले प्रतिपादन गर्नुभएको माक्र्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र श्रमजीवि वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित थियो । माक्र्सवादको आविष्कार पछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भयो। मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धीको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल माक्र्सले अगाडि सार्नु भएको थियो।

नेपाली भूमिमा माक्र्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिन्छ। वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता हो । त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गर्दछु । यसरी नै हामीले कार्ल माक्र्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न सकिन्छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय