scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

आइसोलेसन सेन्टर तथा कोभिड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनाबीच छलफल

काठमाडौं, २२ वैशाख । आइसोलेसन सेन्टर तथा कोभिड उपचार सहकार्यका लागि काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपत्यका पृतनाबीच छलफल भएको छ । कोभिड नियन्त्रणका लागि साना साना इकाईमा क्वारेन्टिन, आइसोलेसन जस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकोले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने महानगरका प्रमुख विद्यासुन्दर शाक्य बताए ।

बुधबार नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले यस्तो बताएका हुन् ।

त्यस क्रममा उपत्यकामा बढिरहेको कोविडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा छलफल भएको थियो । प्रमुख शाक्यले भने, ‘साना साना धेरै आइलोसन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामाग्री र जनशक्ति पुर्‍याउन कठिन हुन्छ । यस्ता ठाउँमा विरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन ।’

कुनै कारण जोखिम सृजना भयो भने जिम्मेवारी लिने कोही नहुने बताउँदै उनले भने, ‘त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूला अस्पतालहरुसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ । यसरी तयार पारिएको ठाउँमा गरिने कोविडको उपचार संयन्त्र दिगो, भरपर्दो र प्रभावकारी हुन्छ ।’

मेयर शाक्यले अगाडि थपे, ‘काठमाडौँमा वडामा भएका आइसोलेसन सेन्टरमा बिरामी पुर्‍याउन र ठूला अस्पतालमा पुर्‍याउन समयको हिसाब अन्तर हुँदैन । हाम्रो चाहना भनेको विरामीले समयमा भरपर्दो उपचार पाओस् भन्ने हो ।’

छलफलमा आइसोलेसन सेन्टर सञ्चालन गर्न नेपाली सेनासँग महानगरको सहकार्य, स्रोत परिचालन, अहिले नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनमा महानगरको सहयोग, वीरेन्द्र सैनिक अस्पताल र महाङ्काल स्थित अस्पतालमा कोभिड वार्ड सञ्चालन गर्नेलगायत बिषयमा छलफल भएको थियो ।

त्यस क्रममा पृतनापति उपरथी अधिकारीले भने, ‘कोभिड व्यवस्थापनमा नेपाली सेनाले सक्रियताका साथ काम गरिरहेको छ ।’ महामारी रोकथामका थप प्रयासका विषयमा कुरा गर्दै उनले भने, ‘अवस्था, सहजता र अनुकुलता हेरेर निर्णयहरुको समीक्षा र सुधार गर्दै जानुपर्छ ।’

‘अहिले अक्सिजनको अभाव छैन । तर, चाहेको ठाउँमा पुर्‍याउन कठिन हुन सक्छ । व्यक्ति तथा उद्योगहरुले सिलिन्डर संचय गरेकाकारण यस्तो अवस्था आएको हो,’ बैठकमा उपरथी सीताराम खड्काले भने, ‘अहिले अस्पताललाई पहिलो प्राथमिकता र उद्योगलाई दोस्रो प्राथमिकतामा राखेर अक्सिजन वितरण व्यवस्थापन मिलाउने हो भने समस्या देखिँदैन ।’ खड्काले नेपाली सेनाकातर्फबाट सीसीएमसीमा प्रतिनिधित्व गर्छन् ।

बैठकमा पृतनाका चिफ अफ स्टाफ सहायक रथी कुमार लामा, मेडिकल सर्भिसका महानिर्देशक उपरथी देवेन्द्रबहादुर खत्री, सेनानी राजनसिंह अधिकारीसहित पदाधिकारीहरु सहभागी थिए ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोविड नभएका विरामीको पनि उपचार गर्नु पर्ने भएकोले कोभिडका लागि करीव २ सय वेड स्थापना गर्न सकिने बैठकमा बताइएको थियो । यसै गरी आवश्यकता र जटिलताका आधारमा महाङ्कालस्थित अस्पताल सञ्चालन गरिने अधिकारीहरुको भनाइ थियो ।

आजै प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ, वडा ३ का अध्यक्ष दिपक के. सी. सहित अधिकारीहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित भवनमा कोभिड उपचार कक्ष बनाउने विषयमा निरीक्षणका लागि गएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय