scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सकियो बूढानीलकण्ठ बैठक, ओलीको प्रस्ताव ठाडै अस्वीकार

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा नेकपा एमाले र काँग्रेसका शीर्ष नेताहरुबीचको वार्ता सकिएको छ । छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका नेताहरु बूढानीलकण्ठ पुगेका थिए ।

वार्तामा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेपछि देउवाले उक्त प्रस्ताव अस्वीकार गरेका छन् । बैठकपछि नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न एमालेले गरेको प्रस्ताव देउवाले अस्वीकार गरेको जानकारी दिए ।

‘प्रधानमन्त्रीजीसहित एमालेका साथीहरू आउनुभएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभयो । सभापतिजीले विपक्षी पार्टीले प्रधानमन्त्रीलाई मत दिन नसक्ने जवाफ दिनुभयो’, डा. महतले पत्रकारहरूसँग भने ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको स्मरण गराएका थिए । उनले आगामी दिनमा पनि दुई दलको सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । उनले कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेकाले ‘मिलेर जान’ प्रस्ताव गरेका थिए ।

देउवाले सरकारले ल्याइरहेको अध्यादेशहरुको प्रसंग निकाल्दै कम्युनिष्टहरुको भनाई र गराईमा फरक देखिएको भन्दै लोकतन्त्रको रक्षाको लागि कांग्रेसले फरक बाटो लिने स्पष्ट पारेका थिए ।

ओली सरकारलाई विस्थापन गर्न विपक्षीहरुको गठबन्धन बनिरहेको बेला प्रम ओली बुधबार देउवा निवास एमालेको टोली लिएर पुगेका हुन् । ओलीको टोली एमालेका नेताहरु महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा (बादल) सहभागी थिए भने देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायत नेताहरु पनि सहभागी थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय