scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

चार गुणासम्म भाडा असुल्ने सारु प्रहरी खोरमा

काठमाडौँ, २२ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गङ्गबु बसपार्कबाट पक्राउ गरेको छ ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । महामारीमा मौकाको फाइदा उठाउन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने भन्दै छड्के अनुगमनको लागि परिचालन भएको सादा पोशाकको टोलीले गंगबु नयाबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी वर्ष ३० को मिलन सारु रहेका छन् । काठमाडौंदेखि बाग्लुङसम्म जाने नियमति भाडा नौ सय भएकोमा सारुले तीन हजारदेखि चार हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिएको भट्टराईले जानकारी दिए ।

पक्राउ परेका सारुले वैदेशिक रोजगारबाट घर फर्किन लागेका दश जना यात्रुबाट बाग्लुङसम्म जान बढी भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ । पक्राउ परेका मिलनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय