scheduleबुधवार आषाढ़ २ गते, २०७८

बूढानीलकण्ठमा ओलीले कांग्रेसलाई भने- यसको लागि मैले के गर्नुपर्छ, म तयार छु

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमहरु आकस्मिक र अप्रत्याशित हुने गरेका छन् । पार्टीकै नेताहरुले कल्पना नगरेका कदम उनले लिइरहेका हुन्छन् ।

मन्त्री परिषद् बैठक सकेर राष्ट्रपति निवासतिर जाँदा होस् वा देशबासीको नाममा सम्बोधन गर्दा होस्, मानिसहरुले लख काट्न थाल्छन् कि ओलीले अब के घोषणा गर्ने हुन् ?

बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका ओली एमालेको टोली लिएर बुधबार बूढानीलकण्ठ पुग्दा उनले कांग्रेससँग कस्तो प्रस्ताव राख्लान् भनेर अनुमान गर्न थालियो ।

भेटमा विश्वासको मत माग्ने औपचारिकता त हुने भइहाल्यो । ओलीले बढी समय ताजा जनादेश लिन निर्वाचनमा जानुपर्नेमा जोड दिए । उनले प्रस्ताव पनि राखिहाले- बरु, तपाईंहरु पनि चुनावी सरकारमा सहभागी हुनुहोस् ।

ओलीले अगाडि बढेर भने- यसको लागि मैले के गर्नुपर्छ, म तयार छु ।

यसअघि उनले यस्तो प्रयास नगरेका होइनन् । पुस ५ मा संसद विघटन गरेर दुई चरणको निर्वाचन पनि घोषणा गराए । तर, सर्वोच्चको फैसलाले यसलाई असंवैधानिक नै ठहर गरिदियो ।

बूढानीलकण्ठमा ओलीले अग्रिम निर्वाचनमा जोड दिनु र कांग्रेसलाई पनि चुनावी सरकारमा सहभागी गराउन प्रयास गर्नुको पछाडि उनले विश्वासको मत नपाउँदा पुनः निर्वाचनको घोषणा गर्न सक्ने अनुमान गर्न थालिएको छ ।

भलै, संवैधानिक कानुनका दृष्टिले यो बाटो अझै सहज छैन ।

ओलीले कांग्रेसका शीर्ष नेताहरुलाई धेरै तर्कहरु अगाडि सारेर सम्झाउन खोजे । कांग्रेस प्रतिपक्षमा बस्दा फाइदा हुने तर, एमालेले चुनाव गराउँदैन जस्तो लागे चुनाव गराउन सरकारमै सहभागी भए भइहाल्यो नि जस्ता तर्क उनले गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनले घोषित मितिमा चुनाव गराउने कुरामा एक दिन पनि तलमाथि नहुने भन्दै कम्युनिष्टमा विवाद भएको बेला फाइदा हुने त कांग्रेसलाई नै त हो नि भन्ने तर्क समेत गरे ।

चुनाव निष्पक्ष हुने र तलमाथि नगर्ने भन्दै उनले लोकतन्त्रका लागि गरेको संघर्षको लामो कथा हाल्न झण्डै दुई घण्टा नै बूढानीलकण्ठमा बिताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय