scheduleबुधवार आषाढ़ २ गते, २०७८

५६ जिल्लामा निषेधाज्ञा, भोकको सङ्कट चुलिँदो

काठमाडौं, २३ वैशाख । कोभिड–१९ सङ्क्रमणको महामारी नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनहरुले सुरु गरेको निषेधाज्ञा ५६ जिल्लासम्म फैलिएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५६ जिल्लामा पुगेको छ । आजदेखि लागु हुने गरी सिन्धुपाल्चोक, बारा र सिराहामा निषेधाज्ञा गरिएको छ । बुधबार म्याग्दी, मुगु, तनहुँ, र नवलपरासी पश्चिममा निषेधाज्ञा जारी भएको थियो ।

सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञा लागू गरिएको छ ।

यस्तै प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ ।

त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दीमा आंशिक निषेधाज्ञा छ ।

स्वास्थ्य मन्त्रालयले संसारका अनुभवअनुसार लकडाउनले भन्दा परीक्षण र आइसोलेसनको मात्रा बढाएर संक्रमण तीव्र घटाउन सकिने र यो आर्थिकरुपमा पनि धेरै फाइदाजनक रहेको स्पष्ट पारेको छ । सरकार कोरोना खोप खरिदमा कमिसनमा अल्मलिएको स्वास्थ्य मन्त्रीले नै खुलासा गरेका छन् । मन्त्री हृदयेश त्रिपाठीका अनुसार कमिसनको खेलले २७ दिनसम्म खोप खरिद प्रक्रिया अवरुद्ध बनेको छ ।

सरकारले परीक्षणको मात्रालाई पनि व्यापक बनाउन सकेको छैन । नेपालमा टेस्ट पोजेटिभी दर ३० प्रतिशतभन्दा बढी रहेको र यो असाध्यै तीव्र रहेको मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्र भारतले यो दर १० प्रतिशत हुँदा नै लकडाउन गर्ने नीति अख्तियार गरेको छ । यो दर ३ प्रतिशतमा झरेमा मात्र पर्याप्त परीक्षण भइरहेको मान्न सकिने बुझ्नुपर्ने मन्त्रालयले जनाएको छ ।

विगतको हप्ताभन्दा १२७ प्रतिशतले नेपालमा कोरोना संक्रमण फैलिइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो विदेशका अन्य देशहरुभन्दा धेरै बढी हो ।

लुम्बिनी प्रदेशमा यो दर ३०० प्रतिशतभन्दा बढी रहेको पनि मन्त्रालयले जनाएको छ । एक लाख जनसंख्यामा १० जना संक्रमित हुनु धेरै तीव्र फैलावटको रुपमा बुझ्नुपर्ने र नेपालमा यो अवस्था भयावह रहेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपाल दोस्रो चरणको संक्रमणको एक तिहाईको अवस्थामा रहेको र अझै दुई तिहाई संक्रमण देखिन बाँकी नै रहेको मन्त्रालयले जनाएको छ । नेपालमा गत वर्षभन्दा यसपटक धेरै द्रुत गतिमा संक्रमण फैलिइरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपालमा दैनिक मृत्युको संख्या पनि तीव्र भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले व्यापक मात्रामा कोरोना परीक्षण गर्न पनि आग्रह गरेको छ ।

निषेधाज्ञा हुने जिल्ला र समय बढ्दै जाँदा बिहानबेलुका ज्यालादारी गरेर हातमुख जोड्ने नागरिकमा भोकको संकट चुलिन थालेको छ । राष्ट्रिय योजना आयोगको सर्भेक्षण अनुसार ४४ लाख ४६ हजार मानिस अनौपचारिक क्षेत्रमा संलग्न छन् । निषेधाज्ञाको सबैभन्दा धेरै प्रभाव उनीहरुमा परेको छ ।

दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरुलाइ राहत दिने, अनौपचारिक क्षेत्रका श्रमिकहरुले गरेको उत्पादनलाई बजारसम्म पुर्‍याउनका सहजिकरण गर्ने काम स्थानीय सरकारले गर्नुपर्ने श्रमिक अधिकारको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।

कोरोनाका कारण रोजगारी गुमाउनेहरुको एकीन तथ्याङ्क सरकारसँग छैन । वैदेशिक रोजगारमा रहेका झण्डै साढे चार लाख नेपालीले बितेको एक वर्षमा रोजगारी गुमाएको सरकारी नियकाले नै जनाएको छ ।

दैनिक ज्यालादारी गरेर जीविका चलाउनेहरुको लागि सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने विज्ञहरु बताउँछन् । सरकार भने कोरोना नियन्त्रणको सहज बाटाहरु छाडेर एकातिर सत्ताको खेलमा छ भने अर्कोतिर सर्वसाधारणलाई मार पर्ने गरी निषेधाज्ञाको अन्तिम विकल्पमा गइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय