scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

माछा मार्ने विषयमा फ्रान्स र बेलायतबीच विवाद, जोनसनले हतियारयुक्त पानीजहाज खटाए

एजेन्सी, २३ बैशाख । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जर्सी टापुमा दुईवटा हतियारयुक्त पानीजहाज पठाएका छन् । टापुमा माछा मार्ने अधिकारीबारे फ्रान्ससँग ‘अस्वीकार्य’ विवाद उत्पन्न भएपछि पूर्वसावधानीस्वरुप प्रधानमन्त्री जोनसोनले उक्त टापुमा पानीजहाज पठाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

फ्रान्स र बेलायतबीचको जलमार्ग इङ्लिश च्यानलमा रहेको सबैभन्दा ठूलो टापु जर्सीमा माछा मार्ने विषयमा विवाद उत्पन्न भएको हो । उक्त टापु स्वशासित भए पनि बेलायतको अधीनमा छ ।

विवाद उत्पन्न भएपछि फ्रान्सले हिजो जर्सीमा विद्युत आपूर्ति बन्द गर्ने चेतावनी दिएको थियो । उक्त चेतावनीलगत्तै बेलायतले टापुमा गस्ती गर्न भन्दै तोप र मेशिन गनसहितका दुईवटा पानी जहाज खटाएको हो ।

आज बिहान माछा मार्न प्रयोग गरिने १०० वटा फ्रान्सेली डुङ्गाले जर्सीको राजधानी सेन्ट हेलियरस्थित बन्दरगाहमा अवरोध गर्न खोजेपछि प्रधानमन्त्री जोनसोनले पानीजहाज खटाउने निर्णय गरेको समाचारमा उल्लेख छ ।

बुधबार फ्रान्सकी जलसम्बन्धी मन्त्री एन्निक गिरार्दिनले माछा मार्न प्रयोग गरिने फ्रान्सेली डुङ्गालाई नयाँ अनुमतिपत्र दिन आकाकानी गरेको आरोप जर्सीमाथि लगाएकी थिइन् । फ्रान्सले जर्सीको पछिल्लो व्यवहारलाई कडा जवाफ दिने उनको भनाइ थियो ।

जर्सी टापुमा प्रयोग हुने ९५ प्रतिशत बिजुली पानीमुनि बिछ्याइएको तारमार्फत् फ्रान्सले आपूर्ति हुन्छ । ‘जर्सीका सम्बन्धमा भन्नुपर्दा समुन्द्रमुनिबाट उलपब्ध भइरहेको विद्युतबारे तपाईँहरुलाई स्मरण गराउन चाहन्छु’, गिरार्दिनले विद्य्युत आपूर्ति बन्द गर्ने चेतावनी दिँदै भनेको थिइन, ‘हामीले गर्नुपर्ने यो कार्य नराम्रो लागेपछि आवश्यकता परे हामीले गर्ने छौं ।’

बेलायत र युरोपेली युनियनबीचको व्यापार सम्झौता अनुसार जर्सीको सरकारले आफ्नो जल क्षेत्रमा माछा मार्ने अनुमतिपत्रका लागि डुङ्गाहरुले विगतका प्रमाणहरु पेश गर्नुपर्ने भनेपछि पछिल्लो विवाद उत्पन्न भएको समाचारमा बताइएको छ ।

बेलायती विदेशमन्त्री डोमिनिक राब र व्यापार मन्त्री ग्रेग हान्सले फ्रान्सेली समकक्षसँग समेत बुधबार टापुमा देखिएको पछिल्लो विवादबारे कुराकानी गरेका थिए ।

जर्सीका विदेशमन्त्रीले समेत फ्रान्सको धम्कीप्रति आपत्ति जनाएका छन् । गत शुक्रबार माछा मार्ने नयाँ अनुमति मागेका ४१ वटा फ्रान्सेली डुङ्गामध्ये १७ वटाले मात्रै युरोपेली युनियन र बेलायतबीचको नयाँ नियमबमोजिमका प्रमाण पेश गरेको विदेशमन्त्री इयान गोर्स्टको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय