scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अनि मेरो टाउकोमा ढुङ्गा बज्रियो …

प्रेम बोहोरा

म डोल्पाबाट उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएँ । झण्डै १३ वर्ष अगाडि जब म काठमाडौंबाट डोल्पा फर्किएँ, तब मैले डोल्पालाई काठमाडौंसँग तुलना गर्न थालेँ । शिक्षा, स्वास्थ्य, यातायात लगायतका सुविधाहरुले केही सोच्न बाध्यम बनायो ।

शिक्षा र स्वास्थ्यको सामान्य सुविधा डोल्पामा थियो तर यातायातको त नामोनिशाना नै थिएन । शहरका सबै सुविधाहरु देखेर हामी कति विकटमा रहेछौं भन्ने राम्ररी अनुभूति भयो । यी र यस्तै परिवेशमा मैले किताब अभियान सुरु गरेँ । किनकि पहिला शिक्षाको उज्यालोबाट गाउँबस्ती र त्यहाँ बस्ने मानिसहरु बञ्चित हुनुहुँदैन भन्ने कुरा मनमा गहिरोसँग बिझ्यो ।

सुरुमा केही पुस्तकहरु संकलन गर्ने र गाउँका स्कूलसम्म पुर्‍याउने काम सुरु गर्‍यौं । यस्तै कामहरुबाट १०-१२ वर्ष बित्यो । यो अभ्यासले मलाई सामाजिक कामहरुसँग जोडिन थप प्रेरणा दियो अथवा भनौं सामाजिक काम मेरो जीवनशैली बन्न थाल्यो ।

जब म शहरबाट आफ्नो जन्मभूमितिर पुग्थेँ, मभित्र एकप्रकारको विद्रोह जन्मिन थाल्यो । राज्यका अवसरहरुको वितरण किन न्यायोचित छैनन् ? प्रश्नहरुले चिमोटिरहे । लाग्यो- यहाँ त असमानहरुबीच समान प्रतिस्पर्धा भइरहेको रहेछ । यो कसरी न्यायोचित हुनसक्छ ?

प्रश्न जन्माएर मात्र उत्तर नभेटिने रहेछ । मभित्र एउटा प्रतिवद्धता जन्मन थाल्यो । मेरो समाज र परिवेश बदल्ने काममा म आफू पनि होमिनुपर्छ । मैले मेरो जीवन यही बाटोमा समर्पण गर्ने प्रतिवद्धता जनाएँ मनमनै ।

यहीक्रममा जन्मियो साक्षरता अभियान । सुरुमा साक्षरता अभियान सुरु गर्नेलाई जिल्ला शिक्षा कार्यालयले अनुमति दिए । जिशिअको तर्क हुन्थ्यो- हाम्रो जिल्ला साक्षर भइसक्यो । निरक्षरता नै छैन । किन चलाउनु पर्‍यो साक्षरता अभियान ?

जब म गाउँ पुग्थेँ, मेरा बस्तीहरु नियाल्थेँ, मेरो आसपास नै हजारौं नागरिकहरु निरक्षर थिए, अनि कसरी जिल्ला साक्षर हुन्छ ? सिंगो जिल्लाभरी कति होलान् निरक्षर नागरिकहरु ।

जिल्ला शिक्षा कार्यालयको अनुमति बेगर नै हामीले साक्षर अभियान सुरु गर्‍यौं । शिक्षा नेपाल भन्ने संस्था जन्माएर हामीले यो काम गर्न थाल्यौं ।

राति राति साक्षरता कक्षा चलाउँदा हामीलाई बत्ती चाहिने भयो । बत्ती थिएन । हामी प्राकृतिक अँध्यारोसँग अभ्यस्त थियौं । शिक्षाको उज्यालो जगाउने कामलाई यसले बिथोल्न थाल्यो ।

यही प्रसंगमा सामुदायिक विद्युतीकरणको लागि गाउँबाट पैसा उठाइएको प्रसंग सम्झिएँ । विद्युतीकरणबारे बुझ्दा सोलार प्रणालीबाट विद्युतीकरणको लागि दुई लाख लाग्ने रहेछ र पिको हाइड्रोपावर त पाँच लाख आसपासमै बन्ने रहेछ ।

हामीले रकम उठाएर, चन्दा संकलन गरेर सानो परियोजना सम्पन्न गर्‍यौं तर बत्ती बाल्न दिइएन । कुरा के भयो भने हामीले बिजुली बाल्दा वर्षौंदेखि पैसा संकलन गरेका मानिसहरुलाई अप्ठेरो पर्ने भयो । उनीहरुको त परियोजना नै अगाडि बढेको थिएन । हामीले परियोजना सम्पन्न गरेर पनि दुई महिना बत्ती बाल्न पाएनौं ।

यसरी समाजलाई यथास्थितिमा राख्न चाहने केही शक्ति जहाँ पनि हुँदा रहेछन् । उनीहरुले हामीजस्ता मानिसलाई आँखाको तारो बनाउँदा रहेछन् ।

बिस्तारै मलाई के लाग्यो भने सामाजिक सेवाबाट मात्र हाम्रो समाज बदल्न सकिँदैन । विशाल लक्ष्य पूरा गर्नु हतियार पनि बलियै उठाउनुपर्छ । मैले राजनीतिमा होमिने निर्णय गरेँ । डा. बाबुराम भट्टराईले नयाँ शक्ति सुरु गर्दा म पनि आकर्षित भएँ ।

अन्ततः म जसपाको डोल्पा संयोजकसम्म भएँ । राजनीतिमा लागेपछि सामाजिक काम गर्न सजिलो रहेनछ । अनेकथरी आरोपहरु झेल्नुपर्ने । निष्पक्षता नहुने । दलीयकरणको संस्कृति मान्छेको घरघर, भान्सा-ओछ्यानसम्म पुगेको समाज हो यो ।

मैले बिस्तारै सामाजिक गतिविधि कम गर्दै गएँ र राजनीतिमा ध्यान दिन थालेँ ।

नारा लगाएर, झण्डा बोकेर गर्ने राजनीतिमा मलाई रुचि छैन । मैले संघीयताको अभ्यासलाई नजिकबाट नियाल्न थालेँ । कहाँ गडबडी भइरहेको छ, थाहा पाउन गाह्रो भएन । अनि म स्थानीयको साथ लिएर गडबडी भएको ठाउँमा प्रश्न उठाउन थालेँ । कहिले मेयरसँग टक्कर पर्छ कहिले वडा अध्यक्षसँग ।

बजेटको आधाभन्दा बढी रकमसम्म गायब गर्ने अभ्यास रहेछ । जब मैले स्थानीयलाई कुरा बुझाउन थालेँ, अनि प्रश्न गर्न थालेँ, प्रश्न गर्नेहरुको स्वर ठूलो हुँदै गयो । यहाँका राजनीतिक संस्थापनहरुले मलाई देख्नै नसक्ने अवस्था सिर्जना भयो ।

म जति प्रश्न गर्छु- जति गाउँमा मानिसहरु प्रश्न गर्छन्, केही मानिसहरुको निद हराम भयो । उनीहरुले मलाई विकासविरोध खलनायकको रुपमा चित्रित गर्न थाले ।

विकास गर्दा वातावरणीय पक्षलाई ध्यान दिनुपर्छ, योजना निर्माणदेखि कार्यान्वयनसम्म लक्षित वर्गको अर्थपूर्ण सहभागितामा हुनुपर्छ, हरेक योजनाहरु पारदर्शी हुनुपर्छ, नागरिकले प्रश्न गर्न पाउँछन् किनकि उनीहरुसँग सूचनाको हक छ ।

यी र यस्ता कुराहरु गर्न मैलै कहिल्यै छाडिन । केही मानिसहरु मसँग रुष्ट भइरहेका रहेछन् । यहीक्रममा एउटा जलविद्युत निर्माण परियोजनाबारे कुरा उठ्न थाल्यो ।

वर्षौदेखि जलविद्युत निर्माण परियोजना समितिमा बसी ठूलो आर्थिक अनियमितता गरेका कर्णबहादुर रोकायसँग विवाद बढ्यो । उनी एमालेबाट निर्वाचित वडाअध्यक्ष पनि हुन् । उनले आफ्ना आसेपासेलाई मात्र रातारात उपभोक्ता समितिमा राखेका रहेछन् । उनले जलविद्युतको समितिमा पनि उनको नजिकैको भाइलाई नै राखे ।

करीब ६५ लाखको योजना । रोलागाड लघु जलविद्युतको मर्मत तथा सम्भारका लागि आएको रकम उपभोक्ता समितिमार्फत् कार्यन्वयन गर्ने सम्बन्धमा बैठक बोलाइयो । उपभोक्ता समितिमार्फत गरिने परियोजना ठेक्कामा दिन नदिने र गाउँलेले नै काम गर्ने निर्णय भयो । सोही अनुसार काम भए, गाउँलेको दायित्वयमा आएको यसअघिकै करीब ३० लाख ऋण थियो त्यो पनि पूर्ति गर्न सकिन्थ्यो । कर्णबहादुर रोकाय नै विद्युतको समितिमा हुँदादेखिको विद्युत निर्माणमा लागेको केही ऋण थियो जुन मासिक ब्याजमा बढ्दै जाँदा ३० लाख पुगिसकेको थियो ।

गाउँलेले घरबाटै उठाएर ऋण तिर्न भन्दा काम गरेपछि प्रथमतः ऋण तिर्ने र बाँकी पैसा बाड्ने सहमति पनि भयो । यसले गर्दा गाउँलेलाई वार्षिक बढ्दै जाने भारबाट मुक्ति मिल्थ्यो । यो कार्यान्वयन हुनेमा विश्वस्त थियौं । किनकि वडाअध्यक्ष रोकायले समेत सहमति जनाएका थिए ।

विरोधस्वरुप परियोजनामा काम गर्न पुगेका स्थानीयहरु

तर त्यसैको भोलिपल्ट वडाअध्यक्षकै घरमा उपभोक्ता समितिको अध्यक्ष र कोषाध्यक्षले ६५ लाखको योजनामा ४० लाखमा ठेक्का दिइसकेछन् । त्यसको विरोधमा गाउँलेहरू निर्माणस्थलमा गई एकदिन आफैं काममा गरे । तर पनि ठेक्का नै दिनुपर्नेमा समितिले अडान लिइराख्यो भने वडाअध्यक्षले साथ दिइरहे । किन वडाअध्यक्षको आडमा रातारात गाउँको निर्णय उल्टाए र किन आधा रकममा ठेक्कामा दिए ? वर्षौंदेखि विद्युतका नाममा आएको करोडौं पैसा अनियमितता गर्नेका लागि यति पैसा खासै ठूलो लागेन होला । निरिह गाउँलेको कुरा किन सुन्नु पर्‍यो ? भन्ने सोँचेका होलान्, सायद ।

खानेपानी, सिँचाई र ढलनिकास कार्यालयबाट आएको ४२ लाख र लापा परियोजनाबाट आएको २३ लाख गरी ६५ लाखको योजनाबाट न ऋण तिरिने देखियो न त गाउँलेले काम नै गर्न पाउने भए ।

गाउँलेहरूको आवाज थियो, निकासा रोक्का गर्नेतिर प्रक्रिया अगाडि बढाउने । यसबीचमा दुवै कार्यालयलाई निकासा रोक्का गर्न लगाउने प्रक्रियामा जान बाध्य नपार्न समितिलाई भनिसकेपछि जलविद्युत समितिका पदाधिकारीहरूले गाउँ भेला बोलाए ।

बैठक सुरु भयो । सहभागीमध्ये केहीबाहेक सबैले गाउँले आफैं काम गर्ने जिकिर गर्न थाले । तर समितिले गाउँलेलाई काम गराउन सकिँदैन भने । त्यसपछि मैले भनेँ, ‘गाउँलेलाई काम गर्न दिन सकिंदैन भने अर्को विकल्पमा जाउँ । समितिले ठेक्कामै दिने भए गाउँलेको दायित्वमा आउने ऋण पुर्णरुपमा समितिले आफैं पूर्ति गर्ने र अब भविष्यमा घरघरमा गएर गाउँलेलाई तिर्न बाध्य नपारौं ।’

यस्तै कुरा भन्दैथिएँ, निर्माण समितिको अध्यक्षले हात छोडिहाले । लगत्तै उनका भाइहरूले टाउकोमा ढुंगा प्रहार गर्न थाले । एकैछिनमा यी सबै भयो । तीनभाइ र समितिका सचिवसहितलाई गाउँले युवाहरूले पक्रिरहेका थिए । यति नगरे सायद, मलाई मार्नेथिए होला । नमार्ने पनि किन ? वर्षौदेखि चुपचाप गाउँलेलाई भड्काउने काम जो गरिरहेको थिएँ ! अन्याय गर्नुहुन्न पनि भनिरहेको थिएँ जुन उनीहरूका लागि सह्य भएन ।

मलाई टाउको घुमाए जस्तो भइरहेको थियो । गालामा केही बगेको जस्तो लाग्यो । हातले छामेँ, हेरेँ त रगत बगिरहेको रहेछ ।

नजिकै रहेको प्रहरी चौकीबाट वास्ता नै भएन । मलाई ज्यान लिने गरी हमला भएको केही समयपछि बल्ल प्रहरी आइपुग्यो । हामी दुवै पक्ष चौकीमा पुग्यौं ।

प्रहरी सघाउनै नसक्ने अवस्थामा वाल्ल न ट्वाल्ल देखिन्थे । सुरक्षाको कुनै महसुस भएन । वडाअध्यक्ष र ठेकेदारका मान्छे त्यहीँ रहेछन् । उनीहरुले मविरुद्ध मुख छाडिरहे ।

प्रहरीसँग उजुरी दर्ता गर्न एउटा कलम माग्दा पनि दिन मानेनन् ।

टाउकोमा चोट भएकोले म सिटी स्क्यान गर्न काठमाडौं आएँ । अहिलेसम्म उजुरी दर्ता पनि भएको छैन । वडाअध्यक्षको नाम झिके मात्र उजुरी दर्ता हुन्छ भन्ने प्रहरीको भनाई छ । म यो कुरामा सहमत छैन । उनी ठेकेदारसँग मिलेर मेरो ज्यान लिनेगरी कुटाउन गुण्डा परिचालन गर्ने, अनि उनको नाम कसरी झिक्न मिल्छ ?

म गाउँका केही युवाहरु जेल परुन् भन्ने पनि चाहन्न । मात्र उनीहरुले आफूले गल्ती गरेको कुरा महसुस गरुन् । महसुसीकरण धेरै ठूलो कुरा हो । भोलि यस्ता गल्तीहरु नदोहोरिऊन् ।

तर नेपालमा पीडितको पक्षमा न प्रशासन रहेछ न कानून । जसको लौरी उसको भैंसी भनेजस्तो अवस्था रहेछ ।

मैले यसवर्ष कोग्ले नामक पुस्तक प्रकाशन गरेँ । यहाँ मेरा संघर्ष र जीवन दृष्टिकोण राखेको छु । मेरो संघर्षको कथाहरु राखेको छु । मेरो टाउको फुटून्, मलाई शरीर नै ढलोस्, तर विकसित डोल्पा बनाउने मेरो अभियान रोकिँदैन । यो अभियान एउटा विचार हो, एउटा प्रतिवद्धता हो । व्यक्ति ढल्न सक्छ तर सामाजिक रुपान्तरणको अभियान रोकिँदैन । बरु अर्को कसैले यो झण्डा उठाउँछ ।

देश बनाउने हो भने ठूला कुरा गरेर हुँदैन । साना साना कामबाट सुरु गर्नुपर्छ । बस्ती बस्तीमा पुग्नुपर्छ । भ्रष्टाचारले गाउँदेखि नै जरा बनाएको छ । राजनीति र अपराध मिसमास भएको छ । पानी धमिलिएको छ । हामी चुप बसेर देश बन्दैन ।

काठमाडौं आएर सिटी स्क्यान गरेँ । मष्तिष्कमा चोट पुगेको रहेनछ । घाइते शरीर भए पनि मन थप बलियो भएको छ । सुन्दर र विकसित डोल्पा मेरो सपना हो । मेरो मात्र होइन, बहुसंख्यक डोल्पालीको सपना हो । आधुनिक विश्वमा हामी अठारौं शताब्दिको जीवन जिउन अभिशप्त भइरहन सक्दैनौं ।

म पुनः फर्कनेछु मेरो जिल्ला । जगाउनेछु बस्तीहरु । सपना कोरल्ने संकल्प कमजोर बनाउन दिन्नँ ।

(काठमाडौंमा उपचाररत बोहरासँग गरिएको कुराकानीमा आधारित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय